ठुला तीन दलले राजपा चुनावमा जान नसक्ने गरी ढोका वन्द गरे– महतो



शिवहरीप्रसाद भट्टराई राजविराज । राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले देउवार सरकार र ठुला तीन दलले राजपा चुनावमा जान नसक्ने गरी ढोका वन्द गरेको आरोप लगाएका छन् ।

शनिवार सप्तरीको राजविराज नगरपालिका स्थित मलेठ चौकमा आयोजित वृहत पार्टी प्रवेश तथा जनसभालाई सम्वोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

राजपा चुनावमा भाग लिन तयार रहेपनि देउवा सरकार र कांग्रेस, एमाले, माओवादी लगायतका पार्टीले चुनावमा जान नदिएको वताए । वर्षौदेखि मधेशको अधिकारका लागि लडिरहेको पार्टीका सामान्य माग समेत पुरा नगरी चुनावको वातावरण तयार नहुने भन्दै उनले सरकार राजपाको माग सम्वोधन गर्न तयार नभएकाले चुनावमा जानुको अर्थ नहुने वताए ।

संविधान संशोधन, जनसंख्याका आधारमा स्थानीय तहको निर्धारण, मधेश आन्दोलनमा मारिएकाहरुलाई शहिद घोषणा, आश्रित परिवारलाई उचित क्षतीपुर्ति, झुठा मुद्दा फिर्ता लगायतका न्यूनतम सर्त पनि पुरा नगरी चुनावमा जान नसकिने भन्दै उनले संविधान कार्यान्वयनका लागि भईरहेको चुनावमा सहभागि भएर त्यसलाई वैधानिकता प्रदान गर्न नहुने पनि वताए ।

मधेशको माग संवोधन नभई चुनावमा जानु भनेको आफनै मृत्यु पत्रमा हस्ताक्षर गरे सरह हुने उनको भनाई थियो ।

यसैगरी, अध्यक्ष मण्डलका अर्का सदस्य सरतसिंह भण्डारीले चुनावको नौटंकी गरेर सरकारले मधेशको मुद्दालाई पाखा लगाउन खोजेको आरोप लगाए । उनले मधेशका मसिहा भन्नेहरुले नै मधेशको मुद्दा विर्सेका कारण अधिकार प्राप्तिको लडाई लम्विएको तर्क गरे । उपेन्द्र यादव र उनको पार्टी प्रति लक्षित गर्दै भण्डारीले मलेठ घटनाका शहिदहरुको रगटको टाटो सुक्न नपाउँदै केहि मधेशी नेता एमालेको भाषा वोल्न थालेको आरोप लगाए ।

अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले जवसम्म मधेशमा कांग्रेस, एमाले र माओवादी नामका पार्टी मधेशमा अस्तित्वमा रहन्छन तवसम्म मधेशको मुक्ति सम्भव नरहेको वताउँदै मधेशलाई ति तिनै पार्टी मुक्त वनाउनु पर्ने वताए । उनले मधेशी जनताका लागि कांग्रेस, एमाले र माओवादी लगायतका पार्टी भन्दा पनि ति पार्टी भित्र रहेका मेधशी जनताले समस्या गरिरहेको वताए ।

 

नेता यादवले मधेशका जिल्लामा वस्ने भएपछि मधेशीले पाउने सुविधानै पाउने भन्दै सम्पुर्ण पहाडि समुदायलाई पनि कांग्रेस, एमाले र माओवादी छोडेर राजपाको आन्दोलनमा गोलवन्द हुन आग्रह गरे । उनले भने–‘उपस्थिती र जनसंख्याको आधारमा प्रतिनिधित्व र अधिकारको सुनिस्चितता चाहिने हो भने अन्य पार्टी छोडेर राजपामा आउनोस ।’

अर्को प्रसंगमा वोल्दै नेता यादवले राप्रपा र एमाले संघियता र धर्मनिरपेक्षताको विरोधी पार्टी भएको भन्दै दुवै पार्टी संविधान सिद्याउने षडयन्त्रमा लागेको आरोप लगाए ।

अर्का नेता अनिल झाले चुनाव केन्द्रित भएर राजपाका केहि नेता तथा कार्यकर्ता अन्य पार्टीमा लागेको प्रसंग कोट्याउँदै २÷४ जनाले चुनावमा स्वतन्त्र उम्मेदवारी दिदैमा र पार्टी छोडदैमा राजपा कमजोर नहुने दावी गरे । उनले मधेशको मुद्दा कमजोर भए मात्रै पार्टी कमजोर हुने वताउँदै राजपालाई ब्यक्ति प्रधान भन्दा पनि मुद्दा प्रधान वनाएर अघि वढ्नु पर्ने जिकिर गरे ।

यसैगरी राजकिशोर यादवले मधेशमा सेना प्रहरीको वलमा राजपालाई वाहिर राखेर जवरजस्ती चुनाव गराउने खोजे चुनाव भएकै मितिदेखि गोरखाली सत्ताको अन्त्य र मधेश सत्ताको सुरुवात हुने चेतावनी दिए । अहिले भईरहेको चुनाव षडयन्त्र पुर्वक वनाईएको संविधान कार्यान्वयनको कडिका रुपमा रहेको वताउँदै उनले गोरखाली राज्य सत्ताको चिरस्थायित्वका लागि वनाईएको विभेदकारी संविधानलाई वैधानिक्ता दिनका लागि राजपा चुनावमा नजाने उदघोष गरे ।

 

सरकारको योजना अनुरुप स्थानीय तह, प्रदेश र केन्द्रको चुनाव सम्पन्न भए संवैधानिक रुपमै मधेशी जनता दोश्रो दर्जाको नागरीक वन्ने र गोरखाली राज्य सत्ताको विस्तारीत रुपमा रुपमा रहेको नेपाल सरकारको सम्पुर्ण षडयन्त्र पुरा हुने भन्दै उनले मधेशको माग सम्वोधन नभएसम्म चुनावमा सहभागी हुने सम्भावना नरहेको दावी गरे ।

राजपा सप्तरीको अध्यक्ष मण्डलका संयोजक सुनिलकुमार झाको अध्यक्षतामा आयोजित कार्यक्रममा एमाले, कांग्रेस, एमाओवादी लगायतका विभिन्न पार्टी परित्याग गरी सयौं कार्यकर्ता राजपामा प्रवेश गरेका थिए । राजपा अध्यक्ष मण्डलका सदस्यहरुले उनीहरुलाई अविरमाला लगाएर पार्टीमा प्रवेश गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्