श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न दबाब



हेटौंडा, (नेस) । श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न नेपाल पत्रकार महासंघ र सरोकारवाला संस्थाहरुले पटकपटक गरेको आग्रहलाई बेवास्ता गरेपछि नेपाल पत्रकार महासंघ मकवानपुरले त्यसविरुद्ध दबाब सिर्जना गर्ने भएको छ ।

अधिकांश पत्रकारले ऐनमा तोकेको न्यूनतम पारिश्रमिक नपाएको, साप्ताहिक बिदा नपाएको र तोकेको समयभन्दा बढी समय काम गर्नुपर्ने लगायत गुनासो बढ्न थालेपछि महासंघ कडारुपमा उत्रने भएको हो ।

महासंघको शनिबार बसेको नियमित मासिक बैठकले मिडियामा कार्यरत् श्रमजीवी पत्रकारको हकहितका लागि श्रमजीवी पत्रकार ऐनले तोकेबमोजिम न्यूनतम पारिश्रमिक, नियुक्तिपत्र र बिदा दिन दबाब दिने निर्णय गरेको छ ।
महासंघ मकवानपुर अध्यक्ष हरि हुमागार्इंको सभाध्यक्षतामा बसेको बैठकले मकवानपुरे सञ्चारगृहमा कार्यरत् पत्रकारलाई श्रमजीवी ऐनबमोजिम न्यूनतम तलबसुविधा र नियुक्तिपत्र नलिई कार्य नगर्न आग्रह गर्ने तथा त्यसको कार्यान्वयन गर्न सञ्चारगृह सञ्चालकलाई पत्रद्वारा दबाब दिने निर्णय गरेको हो ।

महासंघले सातामा एक दिन बिदाको व्यवस्था मिलाउन र बिदाको दिनमा काम गर्नुपरेमा त्यसको लागि उचित पारिश्रमिक व्यवस्था गर्नुपर्ने व्यवस्था गर्न दबाब दिने निर्णय गरेको छ । निर्णय कार्यान्वयन नगरे कडा संघर्षमा उत्रन महासंघ तयार रहेको चेतावनी दिइएको छ ।

स्थानीय तह चुनावमा जनप्रतिनिधि चुनिसकिएको अवस्थामा महासंघले पत्रकारको क्षमता अभिवृद्धि गर्ने लगायतका कार्य गर्न स्थानीय तहमा बजेट माग गर्ने पनि निर्णय गरेको छ ।
महासंघ मकवानपुर कार्यसमिति सदस्य र सदस्य सम्मिलित २ दिने आन्तरिक पर्यटन अवलोकन भ्रमण जाने निर्णय भएको छ । जिल्ला समन्वय समिति (तत्कालिन जिविस) बाट पत्रकार महासंघ मकवानपुरलाई आन्तरिक पर्यटन प्रवद्र्धन शीर्षकमा १ लाख २५ हजार रकम सहयोग गर्ने सम्झौतासमेत भइसकेकाले मकवानपुरको उत्तरी क्षेत्र भ्रमणका लागि असार १३ गते भ्रमणका लागि टोली भ्रमणमा जाने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्