अमेरिकामा ब्राजिलियन मासु आयातमाथि रोक



वासिङ्गटन, (एजेन्सी)
संयुक्त राज्य अमेरिकाले ब्राजिलियन मासु आयतमाथि रोक लगाउने निर्णय गरेको छ। अमेरिकी बजारका लागि सो मासुको स्वस्थता र सुरक्षाको मापदण्ड नपुगेका कारण यो कदम चालिएको शुक्रबार सरकारी अधिकारीहरूले बताएका छन्। गत मार्चमा अन्य थुप्रै राष्ट्रहरूले पनि ब्राजिलको मासु उत्पादनमाथि प्रतिबन्ध लगाएका थिए।

साथै कानुनविद्हरूले स्वास्थ्य निरीक्षकहरूले घुस लिएर न्यून गुणस्तरका मासु खान लायक भनी अनुमोदन गर्न लागिपरेको आरोप लगाएका थिए। त्यतिबेला अमेरिकाले ब्राजिलियन मासुमा प्रतिबन्ध नलगाए पनि त्यसको सम्पूर्ण सिपमेन्टमा विशेष निगरानी राख्न निर्देशन दिएको थियो।

अहिले आएर अमेरिकाले उक्त मासु सुरक्षा र गुणस्तर परीक्षणमा असफल भएको जनाएको छ। अमेरिकी खाद्यान्न सुरक्षा तथा अनुगमन सेवा (एफएसआईएस) ले विगत तीन महिनादेखि ब्राजिलको ताजा गाईको मासु उत्पादनको ११ प्रतिशत अमेरिका भिœयाउन अस्वीकार गरेको अमेरिकी कृषि विभागद्वारा जारी गरिएको एक विज्ञप्तिमा जनाइएको छ।

सरसफाइ, जनस्वास्थ्य चासो र जनावरहरूको स्वास्थ्यकै विषयलाई लिएर सो अवधिभित्र अमेरिकाले १९ लाख पाउन्ड ब्राजिलियन मासुको आयातमाथि रोक लगाइसकेको बताइएको छ। ब्राजिल विश्वकै सबैभन्दा ठूलो रातो मासु तथा कुखुराको मासु उत्पादक राष्ट्र मानिन्छ।

यसले वार्षिक १२ अर्ब अमेरिकी डलर बराबरको मासु निर्यात गर्दै आइरहेको छ। यसले विशेष गरी चीन, अमेरिका र युरोपेली संघमा मासु निर्यात गर्ने गरेको छ। अमेरिकी सरकारको यस पछिल्लो निर्णयले ब्राजिलको मासु उद्योगमा नकारात्मक प्रभाव पर्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्