कांग्रेसलाई अन्तर्घातको डर



काठमाडौं, (नेस)
पहिलो चरणको निर्वाचनमा अनपेक्षित हार बेहोरेको नेपाली कांग्रेसलाई दोस्रो चरणको निर्वाचनमा हार बेहोर्नुपर्ने हो कि भन्ने डरले गाँजेको छ।

पहिलो चरणमा ३४ जिल्लाको २ सय ८३ तह मध्ये कांग्रेसले १ सय ४ तहमा मात्र प्रमुख पदमा विजयी हासिल गरेको थियो। दोस्रो चरणमा हुने ३५ जिल्लाको ३ सय ३४ तहमा हुने निर्वाचनबाट पहिलो पार्टी हुने दाबी गरिरहेको कांग्रेसले अन्तर्घात हुने डरका कारण निगरानी बढाएको छ।

दोस्रो चरणको निर्वाचनमा पार्टी नेता तथा कार्यकर्ताबाटै अन्तर्घात हुने अनुमान गर्दै पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने तथा बागी उम्मेदवारको समर्थन र प्रस्तावक संसद् वा स्थानीय तहको निर्वाचनमा पार्टीले प्रस्तुत गरेको आधिकारिक उम्मेदवारको विरुद्ध बागी उम्मेदवार भई चुनाव लडेमा बागी उम्मेदवारको प्रस्तावक समर्थक भएमा पार्टी सदस्यता नरहने व्यवस्था गरेको छ।

अघिल्लो निर्वाचनमा कांग्रेसले अनपेक्षित हार बेहोर्नुपरेको कारण अन्तर्घात मात्र भने होइन। कांग्रेस नेतृत्वले पछिल्लोपटक गरेको निर्णयहरूको असर पनि स्थानीय तहको निर्वाचनमा परेको बताइएको छ। आईजीपी नियुक्तिमा पार्टी नेतृत्वले दबाब दिएको र हस्तक्षेप गरेको, तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग प्रस्ताव दर्ता गर्न नेतृत्वदायी भूमिका खेलेकोलगायतका गतिविधिले पनि मतदाताहरूले कांग्रेसप्रति नकारात्मक धारणा बनाएको बताइएको थियो।

स्थानीय तहको निर्वाचनले नै अन्य दुई तहको निर्वाचनलाई प्रभाव पार्ने भन्दै पार्टी सभापतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले जसरी पनि स्थानीय तहको निर्वाचनबाट कांग्रेस पहिलो पार्टी बन्नुपर्ने भन्दै नेता कार्याकर्ताहरूलाई सोहीअनुसार परिचालन हुन निर्देशन दिनुभएको छ।

 

कांग्रेसका शीर्ष नेताहरू सोहीअनुसार परिचालित पनि भएका छन्। अन्तर्घातकै कारण पहिलो चरणमा अनपेक्षित पराजित भएपछि कांग्रेसले दोस्रो चरणमा अन्तर्घातीलाई निगरानीसमेत गरेको छ।

कांग्रेस केन्द्रीय कार्यालयले विज्ञप्ती नै जारी गरी आधिकारिक उम्मेदवारहरूलाई असहयोग हुने क्रियाकलापमा संलग्न रहेको प्रमाणित भएमा त्यस्ता व्यक्तिहरूको नामावली पार्टीका विभिन्न तहका कार्यसमितिहरूले जिल्ला कार्यसमितिमार्फत् नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा तत्काल पठाउन आग्रह गरेको छ।

प्रधानमन्त्री देउवा नेतृत्वको सरकारले प्रदेश नम्बर २ को निर्वाचन सार्ने प्रस्ताव गरेपछि पनि आम मतदातमा कांग्रेस प्रतिनकारात्मक धारणा पैदा भएको छ। मुलुकको नेतृत्व सम्हाले संगै कांग्रेस सभापति देउवाललाई स्थानीय निर्वाचन तथा त्यसपछि हुने दुई चरणको निर्वाचनमा पार्टीलाई पहिलो पार्टीका रुपमा स्थापित गर्ने चुनौतिसंगै पार्टीभित्रको आन्तरिक संगठनलाई थप मजबुत बनाउने जिम्मेवारी पनि छ।

कांग्रेसका एक केन्द्रीय सदस्यले नेपाल समाचारपत्रसंग भने– ‘पार्टीभित्रको संगठानात्मक संरचना खस्कदै गएको छ। आन्तरिक संगठनलाई मजबुत बनाउन सभापति देउवालाई अर्को ठूलो चुनौति भएको भन्दै ती सदस्यले पार्टीभित्र मौलाउँदै गएको गुट–उपगुटका कारण स्थानीय निर्वाचनमा कांग्रेसले अनपेक्षित हार व्यहोर्नुपर्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्