स्थानीयका लागि ध्रुबे र गोबिन्दे उस्तै



कृष्णउदास खनाल,वीरगन्ज ।

भगवान गणेशको रुपमा  हात्तीलालाई लिइने भएपनि हात्तीले पर्सा सहितका मध्य तराईका जिल्लामा मच्चाएको आतंकले भने स्थानीयहरु आजित भएका छन् ।

तराईका पर्सा सहित बारा,मकवानपुर,चितवन,सर्लाही,रौतहट हुँदै झापा सम्मका जिल्लाका नागरिकहरु जंगल हात्तीको आतंकबाट प्रताडित बनेका छन् ।

पर्साको ठोरी,निर्मलबस्ती र सुवर्णपुर सहितका बाराको कोल्भी नगरपालिकाको धेरै स्थानमा हात्तीको आतंक छ ।
हात्तीको आक्रमणमा परी पर्सामा मात्रै हालसम्म चारजनाको ज्यान गइसकेको जिल्ला प्रहरी कार्यालय पर्साको अभिलेखमा उल्लेख छ भने बारामा त झन् ८ जनाको ज्यान गएको बताइन्छ ।

चितवन राष्ट्रिय निकुञ्ज र पर्सा वन्यजन्तु आरक्षबाट बढी हात्तीहरु निस्कने गर्दछन् । हात्ती बिशेषज्ञ बावुराम गोपालीका अनुसार जंगली हात्ती मुख्यगरी चर्नका लागि जंगल क्षेत्रबाट मानवीय बस्तीमा आउने गर्दछ । त्यसो त कयौं बर्ष अगाडिसम्म तराईका हात्ती हिँड्ने जिल्लाहरुमा मानवीय बस्ती थिएन ।

जंगली हात्ती एक ठाउँमा पनि बस्दैन । फरक -फरक ठाउँमा बस्ने भएकाले र हात्ती हिडिरहने भएकाले ऊ हिँडने बाटोमा पर्ने स्थानहरुमा उसले क्षति पुर्याउने गरेको बिश्लेषण गोपालीको छ ।

हात्ती हिड्ने बाटोमा नै मानव बस्ती बसाल्ने र खेत बिग्रन थालिएपछि यसले मानिसमाथि आक्रमण गर्न थालेको हो ।

हात्तीलाई जिस्काउन नहुने तर्क पनि उनको छ । हात्तीलाई जिस्काउदा हात्तीले झनै क्षति गर्ने गर्दछ । बिशेषगरी हात्ती आगोबाट डराउने हुँदा आगोको सहायतामा हात्तीलाई गाउलेले धपाउने गर्दछन् ।

हात्ती नियमति हिँड्ने ठाउमा मानिसले घर बनाउनुको साटो खेती गर्नु उचित देखिन्छ । खेती गरेको खण्डमा हात्तीले खाएर नष्ट गर्ने भएपनि मानवीय क्षति भने कम हुने गर्दछ ।

सर्वसाधारणले पनि हात्तीबाट बच्न बिशेष सर्तकता अपनाउ आवश्यक छ । घर बनाउदा फुसको भन्दा काठैको भएपनि बलियो बनाउनु पर्दछ र घरको भूइतलामा भन्दा माथिल्लो भागमा सुत्नु पर्दछ ।

हात्ती आउने संभावना रहेको खण्डमा वा त्यस्तो अवस्था थाहा भएमा गाउँले समुहिक रुपमा बस्नुपर्दछ । हात्ती डराउने बस्तुहरुको आवाज दिइरहनु पर्दछ । नजिकको प्रहरी वा सुरक्षा निकायलाई यस बारेमा जानकारी गराइ रहनु पर्दछ ।

एक पटक आएको ठाउमा पुनः हात्ती आउने संभावना रहने हुँदा एक पटक हात्ती आएको खण्डमा फेरि हात्ती आउने संभावना रहने भएकाले उच्च सर्तक रहनु पर्नेमा बिशेषज्ञहरुले जोड दिएका छन् ।

हात्ती आतंकबाट निकै प्रताडित बनेका पर्साको ठोरीका स्थानीयवासी रामप्रसाद ढुंगानाले ठोरीका जनता बर्खा होस् या हिउद चैयनका साथ जिउन नसकेको बताए ।

ध्रुबे र गोबिन्दे नाउमा हात्ती नदेखिएको भएपनि ध्रुबे र गोबिन्द जस्ता उत्श्रृखल हात्तीको समूह भने गाउमा अझै छिर्ने गरेको उनी बताउछन् ।

हात्ती नियन्त्रणका लागि मात्रै नभइ पीडितका लागि पनि सरकारले केही नगरेकोमा भने उनले आक्रोश पोखेका छन् । केही बर्ष अगाडि पर्सा सहितका तराईका जिल्लाहरुमा ध्रुबे र गोबिन्दे नाउमा हात्तीले उत्तपात मच्चाएका थिए ।

प्रतिक्रिया दिनुहोस्