उत्तरकोरियाद्वारा सुपुर्दगी गरिएका अमेरिकी छात्रको मृत्यु राष्ट्रपति ट्रम्प आक्रोसित



 

वासिङ्टन, (एजेन्सी)
पन्ध्र महिनाभन्दा बढी उत्तर कोरियामा बन्दी बनाइएका अमेरिकी विद्यार्थी २२ वर्षीय ओट्टो वार्मवियरको मृत्युपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तरलाई ‘निर्दयी शासक’को संज्ञा दिएका छन्।

एक वर्षदेखि अचेत अवस्थामा (कोमा) मा रहेको भन्दै मानवीयताको नाम दिँदै उत्तर कोरियाले गत साता उनलाई अमेरिकासमक्ष सुपुर्दगी गरेको थियो। उनका अभिभावकले उनलाई अमानवीय ढंगले निर्मम यातना दिइएको दाबी गरेका छन्। होटेलबाट एउटा प्रोपोगान्डा प्रतीक चोर्ने प्रयास गरेको आरोपमा उनलाई उत्तर कोरियाली प्रहरीले पक्राउ गरेको थियो।

यातना दिएदेखि बेहोस भएका उनको होस खुल्न सकेको थिएन। ट्रम्पले भनेका छन्– ‘वार्मवियरमाथि एकदम नराम्रा घटनाहरु भए। जे होस् अन्ततः हामीले उनलाई घरमा पायौं। हालत निकै नाजुक भए पनि उनका अभिभावक उनलाई देखेर निकै खुसी भएका थिए।

यस घटनाले अमेरिकी सरकारलाई आइन्दा फेरि कानुन र आधारभूत मानव अधिकार नमान्ने प्योङयाङबाट आफ्ना कुनै पनि निर्दोष जनता शिकार नहोस् भन्ने उद्देश्यले ठोस कदम चाल्ने शिक्षा प्राप्त भएको छ। अमेरिकाले पुनः एकपटक उत्तर कोरियाको निर्मम शासकको भत्सर्ना गर्दै पीडित पक्षप्रति गहिरो समवेदना व्यक्त गर्दछ।’

दक्षिण कोरियाका राष्ट्रपति मुन जायले वार्मवियरको मृत्युमा उत्तर कोरियाको पूर्ण जिम्मेवारी रहेको स्पष्ट भएको हिजो सीबीएस न्युजलाई बताएका छन्। वार्मवियरका मातापिता फ्रेड र सिन्डीले तिनका पुत्रको सोमबार स्थानीय समयअनुसार अपराह्न २ बजेर २० मिनेट जाँदा उनको उपचार भइरहेको सिन्सिन्नाटी अस्पतालमा निधन भएको बताएका छन्।

तिनीहरुले भनेका छन्– ‘हाम्रा छोरा १३ जुनमा सिन्सिन्नाटी आइपुग्दा हेर्न र बोल्न सक्ने स्थितिमा थिएनन्। उनी निकै पीडामा परेको र रिसाएका जस्तो देखिन्थे। हामीले उनको आवाज कहिल्यै सुन्न पाएनौं।’ उनले बस घरसम्म पुग्ने यात्रा तय गरे। कमसेकम आफू घर फर्केको चेतना मात्र उनलाई भएको होस् भन्ने हामी चाहन्छौं। उनलाई उत्तर कोरिया पुर्याउने चीनस्थित कम्पनी यङ पायानियर टुर्सले आइन्दा अमेरिकाबाट कुनै पनि पर्यटकलाई उत्तर कोरिया नलग्ने घोषणा गरेको छ।

प्रतिक्रिया दिनुहोस्