पनौतीलाई ब्यवस्थित र सांस्कृतिक शहर बनाईने



मोतीराम तिमल्सिना,पनौती ।

चालु वर्ष भित्रै आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट सहितको परिषद् सम्पन्न गर्नु पर्ने भएपछि स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले सरोकारवालासँगको छलफललाई तिब्र बनाएका छन् । सरोकारवाला निकायहरुले आयोजना गरेका कार्यक्रमहरुमा जनप्रतिनिधिले नगर र गाउँपालिका भित्र गर्न सकिने तत्कालका कार्यक्रमहरुहरुलाई सूची गराउन अनुरोध पनि गरेका छन् ।

पनौती उद्योग बाणिज्य संघले आयोजना गरेको जनप्रतिनिधी सम्मान कार्यक्रममा उद्योग बाणिज्य संघले सिङ्गो पनौती नगरको विकासका लागि गुरु योजना बनाई अगाडी बढ्न सुझाव दिईएको थियो । सहभागिहरुले पनौतीलाई सांस्कृतिक शहरको रुपमा विकास गर्न नगर भित्रका थुप्रै संरचनाहरुको निर्माणमा जोड दिएका थिए ।

पुरातत्व विभागले मापदण्ड विपरित बनेका घरहरुलाई तत्काल दायरामा ल्याउन नगरपालिकालाई अनुरोध गरेको थियो । नगरपालिकाले विश्व सम्पदा सूचीमा नगरपालिकालाई समावेश गराउन मापदण्ड विपरित बनेका ५२ घरहरु तत्काल भत्काउनु पर्ने बताउँदै आएको थियो ।

पनौतीको बसपार्क ब्यवस्थापनका लागि आसपासका सार्वजनिक जग्गाहरुको खोजी गरिरहेको, पुण्यमाता खोलाको करिडोरबाट दुई लेनको बाटो निर्माणका लागि तयारी गरेको जुन सडकबाट टिपर संचालन गर्ने योजना तयार गरेको, देशकै जलविद्युत्तमा साझेदारीता चाहेको, विश्व सम्पदा सूचीमा समावेश गर्ने पहल शुरु भएको, श्रोत र सम्पदाको संरक्षणका लागि आवश्यक रणनीति तयार गरिरहेको पनौती नगरपािलका प्रमुख भिम न्यौपानेले बताएका छन् ।

पनौती उद्योग बाणिज्य संघको आयोजनामा आयोजित जनप्रतिनिधि, उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य दिलसुन्दर श्रेष्ठ र नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिनालाई सम्मान गरिएको कार्यक्रममा बोल्दै नगर प्रमुख न्यौपानेले नगरमा भएका उद्योगहरुको स्तरोन्नतीका लागि आवश्यक पहल गर्ने बताए ।

कार्यक्रममा विशेष अतिथी नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य दिलसुन्दर श्रेष्ठले बसपार्कको ब्यवस्थापन गर्न, बजारीकरणलाई नयाँ ढंगबाट अगाडी लैजान, कृषिजन्य र मासु उत्पादनमा सम्भाब्यता बढाउन सुझाव दिएका थिए ।

 

उपप्रमुख गिता बञ्जाराले सम्वृद्ध नगरका लागि भएका उद्योगहरुको थप ब्यवसायीकरण गर्दै नयाँ ब्यवसायलाई प्रर्वद्धन गर्न पहल गर्ने बताईन् । उद्योग बाणिज्य संघका अध्यक्ष भोला थापाले पनौती क्षेत्रमा भएका विकास निर्माण, उद्योगको संचालनमा देखिएका समस्याहरु समाधान गर्न, स्वरोजगार बृद्धी गर्न पहल गर्नु पर्ने बताए ।

पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिनाले संचार नीति र उद्योग नीति बनाउन नगरपालिकाले विज्ञहरुको सुझाव लिदै उद्योगहरुको स्थायीत्वका लागि ध्यान दिनु पर्ने बताए । कार्यक्रममा काभ्रे बन पैदावार संघका अध्यक्ष माधवमणी हुमागाईले उद्योग मैत्रीका रुपमा विकास गर्न नगरपालिकाले ध्यान दिनु पर्ने बताए ।

कार्यक्रममा सचिव महेश पौड्याल, कोषाध्यक्ष रञ्जु केसी लगायतले पनौतीमा उद्योगहरुको विस्तारका लागि नगरपालिका र उद्योग बाणिज्य संघ सहकार्यमा अगाडी बढ्नु पर्ने बताएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्