गुप्ता लोकतान्त्रिक फोरममा प्रवेश



कपिलवस्तु, (नेस)।
संघीय समाजवादी फोरम नेपालका पूर्वकपिलवस्तु जिल्ला अध्यक्ष सतिषचन्द्र गुप्ता नेपाल लोकतान्त्रिक फोरममा प्रवेश गर्नुभएको छ।

लामो समय पार्टीको अध्यक्ष भएर राजनीति गरेका गुप्तको पार्टी परित्यागले अहिले संघीय समाजवादी फोरम कपिलवस्तुलाई ठूलो धक्का लागेको छ।

जिल्लाको शिवराज नगरपालिका–२, बालापुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा गुप्ता नेपाल लोकतान्त्रिक फोरममा प्रवेश गर्नुभएको हो। ११ वर्षसम्म संघीय समाजबादी फोरम, नेपालको जिल्ला अध्यक्ष भई काम गर्नुभएका गुप्तालाई संघीय समाजवादी फोरमले मेयर पदको टिकटमा समेत उपेक्षा गरेको भन्दै संघीय समाजवादी फोरम नेपाल परित्याग गरेको उहाँले बताउनुभयो।

उहाँ मधेस आन्दोलनका बेला मधेसी मोर्चाको जिल्ला संयोजकसमेत रहनुभएको थियो। अहिले संघीय समाजबादी फोरम नेपालको प्रदेश नम्बर ५ का सदस्यसमेत हुनुहुन्थ्यो। संघीय समाजवादी फोरमको सम्पूर्ण पद परित्याग गरी लोकतान्त्रिक फोरममा प्रवेश गरेको उहाँले जानकारी दिनुभयो।

यता गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समिति कपिलवस्तुका अध्यक्ष जानकीप्रसाद यादव माओवादी केन्द्र परित्याग गरी नेपाल लोकतान्त्रिक फोरममा प्रवेश गर्नुभएको छ।

यादव लामो समयदेखि माओवादी केन्द्रका सदस्य रही राजनीतिकमा सक्रिय हुनुहुन्थ्यो। सतिषचन्द्र गुप्त शिवराज नगरपालिका र जानकीप्रसाद यादव विजयनगर गाउँपालिकाको मेयर पदको टिकट पाउने बुझिएको छ।

यस्तै संघीय समाजबादी फोरमका पूर्वजिल्ला सदस्य किशोर चौधरीसमेत लोकतान्त्रिक फोरममा प्रवेश गर्नुभएको छ।

उहाँहरूसहित सडवाका राजु चौधरी, पिपरीका मुन्नीलाल गडरिया, गौराभारीका चन्द्रप्रकाश चौधरी, बकौलीका रामप्रसाद रैदास, गुगौली देउपुराका लक्ष्मणप्रसाद यादव, जोलाहीका तुल्सीराम थारुसहित २ सय बढी नेता तथा कार्यकर्ताहरू लोकतान्त्रिक फोरममा प्रवेश गरेको लोकतान्त्रिक फोरम शिवराज नपा वडा २ का अध्यक्ष रामबहादुर चौधरीले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्