राजपाको विरोधले मधेश आतंकित



लक्ष्मी कुमार साह, महोत्तरी ।
सरकारले प्रदेश नं. २ को स्थानिय निकायको चुनाव सार्ने निर्णय र प्रदेश नं. १, ५ र ७ को चुनाव असार १४ गते नै हुने निर्णयको तराई मधेशका विभिन्न जिल्ला लगायत महोत्तरीमा राष्ट्रिय जनता पार्टी नेपालले चर्को विरोध गरेको हो ।

संविधान संसोधन, स्थानिय तहको संख्या थप नगरी सरकारले गरेको यस निर्णयप्रति राजपाले आपत्ति जनाएको हो ।

सरकारले मधेशको माग पूरा नै नगरी प्रदेश नं. २ को चुनाव असोज २ मा सारेको र प्रदेश नं. १, ५ र ७ को चुनाव असार १४ गते नै हुने भनेपछि एकपटक फेरि तराई मधेशका विभिन्न जिल्ला लगायत महोत्तरीमा राजपा नेपालले सो निर्णयको विरोध गरेका छन् ।

राजपाका नेता गजेन्द्र गुप्ताले मधेश र मधेशीको माग पूरा नभएसम्म राजपा चुनावमा नजाने बताउनुहुदै सरकारले जर्वजस्ती निर्वाचन गराए मुलुकमा नया द्धन्द्ध सुरु हुनसक्ने बताए । उनले मधेशलाई विभाजन गर्ने उद्देश्यले सरकारले निर्णय गरेको भन्दै चुनाव गराउन परे मधेशको सम्पूर्ण जिल्लामा एकै पटक गराउनुपर्ने बताए तर चुनाव गराउनुपूर्व मधेशको माँगहरु पुरा हुनुपर्ने कुरामा जोड दिए ।

जलेश्वर नगरपालिका र गौशाला नगरपालिका लगायत १२ गाउँपालिकाका मुख्य बजार र सडकमा राजपाका नेता तथा कार्यकर्ताहरूले शुक्रबार बिहानैदेखि ठाउँठाउँमा टायर बालेर सरकारको निर्णयविरुद्ध नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका छन् । बन्दको प्रभाव भने वर्दिवास नगरपालिकामा देखिएको छैन ।

राजपाको बन्दले बजार, पसल, शैक्षिक संस्था, वितिय संस्थाहरु लगायत सरकारी निकायहरुमा पूर्ण रुपले प्रभाव परेको छ । आमहडतालका कारण यस जिल्लामा लामो तथा छोटो दूरीका कुनै पनि सवारी साधन चल्न सकेका छैनन् । सवारी साधन नचलेपछि यात्रुहरुलाई समस्या परेका छन् । बन्दको कारण विद्यार्थीको पढाई प्रभावित हुन पुगेपनि कक्षा ११ को परिक्षार्थीहरुलाई कुनै पनि किसिमको अवरोध गरिएको छैन ।

राजपाले हडतालको आह्वान गरेपछि जलेश्वरको सुरक्षा व्यवस्था कडा पारिएको छ । कुनै अप्रिय घटना हुन नदिन ठूलो संख्याकर्मी नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी राजकुमार लम्सालले बताए ।

प्रतिक्रिया दिनुहोस्