डिम्बाशयमा ९ केजीको टइ्मर



 

मोतीराम तिमल्सिना, काभ्रे
श्रीमान्ले परिवार नियोजन गरेको १२ वर्षपछि एक्कासी सुन्निएको पेट लिएर मजदुरीमा जाँदा गर्भवती भएको भन्दै जिस्क्याएपछि सिन्धुलीकी ४४ वर्षीया कमला बुढाथोकी अचम्ममा परिन्। श्रीमान् अमृत बुढाथोकीसँगै काममा जाने गरेकी कमलालाई धेरैले गर्भवती भएको भन्दै जिक्याएको सुन्निएको पेटमा ९ केजीको ट्युमर रहेछ।

भूकम्पपछि घर भत्किएका कारण बनेपाको नयाँबस्तीमा डेरा लिएर बस्दै आएका कमला र अमृतका १८ र १६ वर्षका दुई छोरा छन्। छोराहरू सिन्धुलीमै छाडेर श्रीमान्–श्रीमती नै काममा जाने गरेको एक वर्ष भएको थियो। गत चैत महिनादेखि एक्कासी पेट बढेर आएको देखेपछि साथीहरूले कमलालाई गर्भवती भएको भन्दै जिस्क्याएका थिए।

त्यही कुरा कमलाले श्रीमान्लाई भने पनि अमृतले पत्याएनन्। ‘आफूले परिवार नियोजन गरेको १२ वर्ष भइसकेको छ कसरी रहन्छ गर्भ ?’ –अमृतले पत्याएनन्। केही दिनपछि उनीहरू सुन्निएको पेट जचाउन नजिकैको क्लिनिकमा गएका थिए। क्लिनिकले मासु पलाएको छ भन्दै औषधि खान दिएपछि सुन्निएको जिउ सुक्दै गयो तर पेट झन् ठूलो हुँदै गयो। तत्काल धुलिखेल अस्पताल उपचारका लागि गएका बुढाथोकी दम्पतीको रोग पत्ता लगाउनै तीन साता लागेको थियो। धुलिखेल अस्पतालले डिम्बाशयमा ट्युमर भएको पत्ता लगाएपछि अप्रेसन गरी निकालेको डा. सुमनराज ताम्राकारले बताए।

स्त्रीहरूलाई विशेष गरी महिनावारी गडबढ, योनीबाट फोहोर पानी बग्ने, ट्युमर र परिवार नियोजनसम्बन्धी समस्या हुने डा. ताम्राकारले बताए। तीमध्ये १०–२० प्रतिशत महिलाहरूलाई पाठेघर र डिम्बाशयमा ट्युमर देखा पर्ने गरेको छ। डिम्बाशयमा हुने गरेको ट्युमर पनि क्यान्सर हुने र नहुने दुई प्रकारका हुने ताम्राकारले बताए। बुढाथोकीको पाठेघरको डिम्बाशयमा भएको ट्युमर क्यान्सर हुने खालको भए पनि क्यान्सर भएको छ कि छैन ? मासु जाँचका लागि क्यान्सर अस्पतालमा पठाइएको छ।

१४–१६ किलोसम्मको ट्युमर पाठेघरको डिम्बाशयमा हुने गरेको डा. ताम्राकारले बताए। धुलिखेल अस्पतालमा आएको दास्रो उपचार बुढाथोकीको भएको उनले बताए।
कमलालाई ट्युमर भएपछि श्वासप्रश्वास फेर्न कठिन भएको थियो। १५ वर्षदेखि चुरोट सेवन गर्दै आएकी कमलालाई पाठेघरको डिम्बाशयमा ट्यमुर हुनुको कारण नखुलेको डा. ताम्राकारले बताए। डाक्टरको सफल अप्रेसनले खुसी भएको अमृत र कमलाले बताए। धुलिखेल अस्पतालले पछिल्लो समय जटिल प्रकारका रोग र बिरामीहरूको सफल उपचार गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्