भूकम्पपीडित किसानलाई आधुनिक कृषि औजार



खोटाङ, १ असार । जिल्लाका भूकम्पपीडित किसानलाई कृषि विकास कार्यालय खोटाङले आधुनिक कृषि औजार÷उपकरण वितरण सुरु गरेको छ ।

कृषि व्यवसायको आधुनिकीकरणका लागि भूकम्पपीडित कृषकलाई जमिन जोत्ने हाते ट्याक्टर, धान र गहुँ झार्ने थ्रेसर मेसिन, मकै छोड्याउने कर्न सेलर, जिरो इनर्जीको पानी माथिल्लो भागमा फाल्ने पापा पम्प, थोपा सिँचाइ गर्ने ड्रिम इरिगेसन सेट, बीउ तथा अन्न भण्डारण गर्ने हर्मेटिक ब्याग लगायतका कृषि औजार÷उपकरण वितरण सुरु गरेको हो ।

रातो कार्ड पाएका भूकम्पपीडितलाई राष्ट्रिय पुनःनिर्माण कोषको रु एक करोड ४९ लाखको कृषि उपकरण जेठ दोस्रो सातादेखि वितरण सुरु गरिएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद घिमिरेले बताउनुभयो ।

“हर्मेटिक ब्याग शत्प्रतिशत अनुदानमा तथा अन्य उपकरण ९० प्रतिशत अनुदानमा वितरण भइरहेको छ”, उहाँले भन्नुभयो, “अधिकांश उपकरणमा दश प्रतिशत मात्र बेहोर्नुपर्ने भएपछि कार्यालयमा उपकरण लिन आउने किसानको भीड लागेको छ ।”

भूकम्पपीडित र भूकम्पपीडितको बाहुल्यता भएको क्षेत्रलाई प्राथमिकतामा राखेर कृषि उपकरण भइरहेको वरिष्ठ कृषि विकास अधिकृत घिमिरेले बताउनुभयो ।

प्रतिगोटा रु ८८ हजार पर्ने १७ वटा हाते ट्याक्टरमध्ये हालसम्म सातवटा हाते ट्याक्टर किसानले लगिसकेका छन् । प्रतिगोटा रु एक लाख पर्ने २१ वटा थ्रेसर मेसिनमध्ये हालसम्म चारवटा मेसिन किसानले बुझिसकेका छन् । प्रतिगोटा रु १५ हजार पर्ने ४५ वटा कर्नसेलरमध्ये नौवटा वितरण भइसकेको कार्यालयले जनाएको छ ।

भूकम्पपीडित किसानलाई कृषिमार्फत प्रतिगोता रु ३० हजार पर्ने ४५ वटा ड्रिम इरिगेसन सेट, प्रतिगोटा रु २८८ पर्ने नौ हजार हर्मेटिक ब्याग, प्रतिगोटा रु पाँच लाख पर्ने ६ सेट पापा पम्प वितरण गर्ने तयारी भइरहेको छ । ठूलो परिमाणको भएका कारण हर्मेटिक ब्यागको भने टेन्डर आह्वान गरिएको घिमिरेले जानकारी दिनुभयो ।

यस्तै, प्रतिगोटा रु ५५ हजारको ६० वटा प्लास्टिक पोखरी निर्माणका लागि सम्झौता भइरहेको छ । पापा पम्पसेटको पनि वितरणका लागि किसानसँग सम्झौता भइरहेको छ ।

कृषि उपकरण असारभित्र वितरण गरिसक्ने कृषि कार्यालयलले जनाएको छ । सबैभन्दा बढी हाते ट्याक्टरका लागि किसानको आवेदन परेको थियो । जमिन जोत्न, मकै छर्न, जेनेरेटरका रुपमा उपयोग गर्न, पानी पम्प गर्ने लगायतमा उपयोग हुने भएकाले हाते ट्रयाक्टरको माग बढेको घिमिरेले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्