निश्कर्ष विना सकियो पाँच दलको बैठक, बिहान १० बजे फेरि बस्ने



नेपाल समाचारपत्र, काठमाडौं । सिंहदरबार बसेको राजपासहित पाँच दलको बैठक विना निश्कर्ष सकिएको छ। निर्वाचन बहिष्कार गरेर माग पूरा नभए असार १४ को निर्वाचन बिथोल्न भन्दै आन्दोलनमा गएको राजपालाई चुनावमा सहभागी गराउने विषयमा छलफल गर्न सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बैठक बसेको थियो।

बैठकमा सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र नेपाल लोकतान्त्रिक फोरम, प्रमुख प्रतिपक्षी नेकपा एमालेका शीर्ष नेताहरु सहभागी थिए। राजपाबाट महन्थ ठाकुर, महेन्द्र राय यादव लगायतका नेता सहभागी थिए।

बैठकमा राजपा नेताहरुले असार १४ को चुनावमा आफूहरु आउन नसक्ने बताए थिए। उनीहरुले आफूहरु चुनावमा आउनका लागि संविधान संशोधन र तराई मधेसमा स्थानीय तह थप्नु पर्ने माग गरेका थिए।

 

 

सत्ता पक्षले उक्त बैठकमा मधेस आन्दोलनका मुद्धा फिर्ता लिने प्रक्रिया अगाडि बढाउने कुरामा पनि राजपा नेताहरुलाई आश्वस्त पारेका थिए। चुनाव चिन्ह लगायत निर्वाचन आयोगमा पूरा पक्रियामा पनि निर्वाचन आयोग लचक हुने आश्वासन दिएका थिए।
तर राजपाले सहमति गर्न नमानेपछि बैठक बिना निष्कर्ष टुंगिएको हो।

आजको बैठकले निष्कर्ष निकाल्न नसकेपछि बिहान फेरि बैठक बस्ने गरी आजको बैठक टुंगिएको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस्