राष्ट्रियता कमजोर पार्न एमालेलाई घेराबन्दी :ओली



बाँके,(नेस) ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियतालाई कमजोर बनाउन चाहनेहरुले एमालेलाई घेराबन्दी गरेको बताउनु भएको छ ।

नेकपा एमाले, बाँकेले आइतबार नेपालगञ्जमा आयोजना गरेको नेपालगञ्ज उपमहानगरपालिकाका उम्मेदवार घोषणा सभामा बोल्दै अध्यक्ष ओलीले एमालेलाई कमजोर नबनाएसम्म देशलाई लुट्न सकिदैन भन्नेहरु घेराबन्दीमा लागेको बताउनुभयो ।

उहाँले भन्नुभयो, जति घेराबन्दी गरेपनि एमालेले जित्छ, जित्छ ।’ ओलीले अब चुनाव हुने चारै प्रदेशमा एमाले अत्याधिक बहुमतका साथ विजयी हुने दावी गर्नुभयो ।

दोस्रो चरणको निर्वाचनमा पनि एमाले ठूलो नै हुने ओलीले ठोकुवा गर्नुभयो । ‘तराईका जनताले एमालेलाई माया गर्छन् । उनीहरु सधैं लडाई, झगडा, अविश्वास चाहदैनन्, ओलीले भन्नुभयो, एमालेले जितेपछि तराईमा शान्ति, सद्भाव, विकास आउँछ । यो कुरा तराईवासीलाई थाहा छ ।’

ओलीले तराईमा एमाले बडारिन्छ भन्नेहरुलाई मत गनेपछि थाहा हुने जवाफ दिनुभयो । ‘चुनाव नहुँदासम्म एमाले बडारिन्छ, मत गन्दा त एमाले सबैभन्दा ठूलो नै हुन्छ, ओलीले भन्नुभयो । भरतपुरतर्फ संकेत गर्दै ओलीले पराजित हुने भएपछि आत्तिएर, डराएर, छट्पटाएर दुई वटा मत च्यात्नेहरु त्यहाँ जति गरेपनि एमालेले नै जित्ने बताउनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले असार १४ को चुनाव नसर्ने बताउनुभयो । ‘ढुक्क भएर चुनावी अभियानमा लाग्नुस्, असार १४ गतेको चुनाव सर्दैन र स्थानीय तहको संख्या पनि थपघट हुँदैन, ओलीले थप्नुभयो, अब पार्टीका उम्मेदवार पनि परिवर्तन हुँदैनन् ।’

अध्यक्ष ओलीले पार्टीमा एकतावद्ध भएर चुनावी अभियानमा निस्किन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो । ‘म नै अहिले ३÷४ घण्टा सुतेर पार्टीको काम गरिरहेको छु ।

तपाईहरु अझ युवा हुनुहुन्छ, दुई हप्ता खट्नुस्, ओलीले भन्नुभयो, जित्ने बेलामा दायाबाया नगर्नुस् ।’ उहाँले टिकटलाई लिएर केही कार्यकर्ताहरु असन्तुष्ट भएको प्रति संकेत गर्दै ‘अभागीलाई खानेबेलामा रिस उठ्छ’ भन्नुभयो ।

ओलीले नेपालगञ्ज उपमहानगरपालिकाका मेयर र उपमेयरलगायत सबै उम्मेदवारको नाम सार्वजनिक गर्नुभयो ।

नेपालगञ्जको मेयरमा एमालेबाट समसुद्दिन सिद्धिकी र उपमेयरमा शान्ति ढकालले टिकट पाउनु भएको छ । अध्यक्ष ओलीले सिद्धिकीलाई हराउन नक्कली मुस्लिम उम्मेदवार खडा हुन सक्नेतर्फ सचेत रहन निर्देशन दिनुभयो ।

नेपालगञ्जको शान्ति र सद्भावमा सिद्धिकीलगायत मुस्लिम धर्मगुरुले खेलेको भूमिकाको ओलीले खुलेर प्रशंसा गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्