ओस्टापेन्कोले फ्रेन्च ओपनमा इतिहास रचिन्



पेरिस, (एजेन्सी)
वरियताविहीन खेलाडी एलेना ओस्टापेन्कोले फ्रेन्चओपनमा पहिलो सहभागितामै महिला सिंगल्स उपाधि जितेर इतिहास रचेकी छन्।

शनिबार पेरिसको रोलान्ड ग्यारोसमा भएको फाइनल खेलमा लात्भियाकी ओस्टापेन्कोले प्रतियोगिताकै दाबेदारी सिमोना हालेपलाई तीन सेटमा पराजित गरेकी हुन्। २० वर्षीया खेलाडीले पहिलो सेट गुमाएर पनि खेलमा फर्कंदै पहिलो सहभागितामै ग्रान्डस्लाम उपाधि हात पारेकी छिन्। उनले सो फाइनल खेल ४–६, ६–४, ६–३ ले जितिन्।

ओस्टापेन्को ग्रान्डस्लाम प्रतियोगिता जित्ने पहिलो लात्भियन खेलाडी बनेकी छिन्। त्यस्तै वरियताविहीन खेलाडीले उपाधि जित्नेमा पनि उनी पहिलो महिला खेलाडी हुन्। यसै गरी उनी प्र्रmेन्चओपनमा पहिलोपटक सहभागितामै उपाधि जित्नेमा गुस्ताभो कुर्टेनपछि पहिलो खेलाडी हुन्।

उता रोमानियन खेलाडी हालेपले पहिलो सेट जितेर सानदार शुरुआत गरेकी थिइन्। सन् २०१४ मा फाइनल पुगेर मारिया सारापोभासँग हारेकी हालेपले पहिलो ग्रान्डस्लाम जित्ने छनक देखाएकी थिइन्। तर, लगातार दुई सेटमा उनीमाथि ओस्टापेन्कोले जितेपछि उनको विश्व नम्बर एक बन्ने मौका पनि गुमेको छ। उनी विश्ववरियतामा चौथो नम्बरमा छिन् भने ओस्टापेन्को ४७औं स्थानमा रहेकी छिन्।

प्रतिक्रिया दिनुहोस्