अधिकार केन्द्रमा, गुनासो र समस्या गाउँमा



मोतीराम तिमल्सिना, काभ्रे ।
भुकम्पको पुनर्निमाणमा सरकारी निकायहरु बीचको समन्वय अभाव र एकद्धार नीति नहुँदा उल्लेखित परिणाम प्राप्त हुन नसकेको सरोकारवाला निकायहरुले निश्कर्ष निकालेका छन् । जवाफदेहिता कम, अधिकार केन्द्रमा, गुनासो र समस्या गाउँमा भएकाले पुर्नर्निमाणको कार्य हुन नसकेको हो ।
पुर्व सांसद मञ्च(संसदको परामर्शदातृ अंग) को आयोजनामा भुकम्प प्रभावित जिल्लामा भईरहेको पुर्ननिर्माणको स्थलगत अध्ययन अवलोकन विषयक कार्यक्रममा बोल्दै सांसद रामहरी सुवेदीले स्थानीय तहमा जनप्रतिनिधि आईसकेकाले प्राधिकरणले आफुले राखेको अधिकार स्थानीय तहमै पठाउनु पर्ने बताए । ‘ऐन, नियम, कानुन जे जे परिवर्तन गर्न सकिन्छ त्यो सबै गर्नु पर्छ तर अधिकार स्थानीय तहमा नदिँदा सम्म पीडितहरुले सरकारको उपस्थिती पाउँदैनन’–सुवेदीले भने ।
प्रमुख जिल्ला अधिकारी शिव सिंखडाले सरकारी कार्यालयहरुको समन्वय नहुँदा पुर्नर्निमाणको काम सुस्त भएको बताए । स्थानीय तहमै अधिकार दिएर सरकारी कार्यालय बीचको समन्वय भए मात्र निर्माणको कार्यले गति लिन सक्ने उनले बताए । ‘सबै कार्यालयहरु स्वायत्त भएकाले कामको अनुगमन पनि हुन सकेन, जबसम्म एकद्धार प्रणालीबाट निर्माणको कार्यलाई अगाडी बढाउन सकिदैन तबसम्म यसले गति लिन सक्दैन’–शिव सिंखडाले भने ।
कर्मचारीको अभाव, नयाँ सरंचनाको सिमाकंन, सरकारी कार्यालयहरु बीचको समन्वय अभाव, नक्सापासमा समस्या, कानुनी जटिलताका कारण गुठी, ऐलानी जग्गा भएकाहरुलाई थप समस्या भएको उनले बताए । एउटै घरमा चार वटा परिवार बसिरहेको भुकम्प पछि एउटा मात्रै परिवारले अनुदान पाए पछि झनै समस्या देखिएको स्थानीयहरुले बताए । पहिलो किस्ता ५० हजार लिएका अधिकांश ब्यक्तिहरुले घर निर्माण गरेका छैनन भने निर्माण गरेकाहरुले पनि भुकम्प प्रतिरोधात्मक निर्माणका लागि ध्यान दिन सकेका छैनन । भुकम्प प्राधिकरणका इन्जिनियरहरुले अधिकांश घरहरु मापदण्ड विपरित भएको बताएका छन् । जिल्लामा झण्डै ७० हजार लाभग्राहीको सूचीमा परेका मध्ये २२ सयले मात्रै दोश्रो किस्ता बापतको रकम प्राप्त गरेका छन् ।
स्थानीय विकास अधिकारी कोमलप्रसाद धमलाले भुकम्प पीडितहरुको रकम बैकमा थुप्रिएको बताए । ७ महिना देखि पीडितहरुको रकम बैकमा थुप्रिएको उनले बताए । कोहि सूचीमा परेर पनि रकम लगेका छैनन, कोहि रकम लिने अवस्थामा छैनन उनले भने । बैकहरु केहि महिना भए पनि राज्यको करोडौ रकम निब्र्याजी चलाएर धनी भएका छन् । कार्यक्रममा पुव सांसद मञ्चका अध्यक्ष झनकनाथ वाग्ले, महासचिव शकंर शर्मा, सचिव नरबहादुर हमाल, जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रमुखहरु,सरोकारवाला निकायका प्रमुखहरु सहभागि थिए ।

प्रतिक्रिया दिनुहोस्