लन्डन आक्रमण, आक्रमणमा संलग्न दुईको पहिचान सार्वजनिक



लन्डन, (एजेन्सी)
बेलायतको प्रहरीले लन्डनमा गत शनिबार भएको कट्टरपन्थी हमलामा संलग्न दुई जनाको नाम जारी गरेको छ। उनीहरूमध्ये एक जना २७ वर्षीय खुर्रम बट हुन्। विवाहित खुर्रम दुई बच्चाका पिता हुन् भने उनी पूर्वी लन्डनमा थुप्रै वर्षदेखि बस्दै आएका थिए।

अर्का व्यक्ति रसिद ३० वर्षको भएको जनाइएको छ। यसैबीच आक्रमणको घटामा पक्राउ गरिएका सबै १२ जनालाई बिना आरोप छोडेको जनाइएको छ। पक्राउ पर्ने ७ महिला र ५ पुरुष थिए।

खुर्रम बटको जन्म पाकिस्तानमा भएको र उनी बेलायती नागरिक भएको बताइएको छ। रसिदको सम्बन्ध मोरक्को–लिबियासँग रहेको बताइएको छ। उनीहरूका सहयोगीहरूको पहिचान गर्न जाँच पडताल जारी रहेको प्रहरीले जानकारी दिए।

आक्रमणका क्रममा ती दुवै र अर्काे एक व्यक्तिलाई प्रहरीले गोली प्रहार गरेका थिए। उक्त आक्रमणमा ७ जनाको मृत्यु भएको थियो र अन्य ४८ घाइते भएका थिए।

यसअघि बेलायतका प्रधानमन्त्री टेरिजा मेले लन्डन आक्रमणको कडा शब्दमा निन्दा गर्दै यो अति नै हो भन्ने बेला आएको बताएकी थिइन्। शनिबार स्थानीय समय राति करिब १० बजे एउटा तीव्र गतिमा आएको भ्यानले लन्डन ब्रिजमा पैदल यात्रुहरू किचेर गएको थियो।

भ्यानबाट तीन जना बाहिर निस्केको र नजिकको बरो मार्केटमा उनीहरूले नागरिकहरूमाथि छुरा आक्रमण गरेका थिए।

उक्त घटनालगत्तै प्रधानमन्त्रीले आतंकवाद विरोधी रणनीतिको समीक्षा हुने बताएकी थिइन्। विगत तीन महिनाामा लन्डनमा भएको यो तेस्रो हमला हो।

साहसी प्रहरीको प्रशंसा

आक्रमणकारीसँग भिड्ने क्रममा ती प्रहरी चक्कु प्रहारबाट गम्भीर घाइते भए र उनको स्थिति गम्भीर रहेको जनाइएको छ।

रग्बी खेल्ने ती बहादुर प्रहरी छुट्टीमा बसिरहेका थिए। तर लन्डन ब्रिजमा आक्रमण भएको देखेपछि उनी त्यसलाई रोक्न होमिए। प्रहरी कमिस्नर क्रेसिडा डिकले समयमै आक्रमणकारीको सामना गर्ने प्रहरीको बहादुरीको प्रशंसा गरेका छन्।

ट्रान्सपोर्ट प्रहरीका एक अर्को प्रहरीले आक्रमणकारी देखेकोलगत्तै डन्डाले आक्रमण गर्न गएका थिए। उनी डन्डाको भरमा ती आक्रमणकारीसँग जुधेका थिए।

लन्डन हमलामा दुई समलिंगी नर्सहरूको साहसको पनि प्रशंसा भइरहेको छ। उनीहरूले आफ्नो ज्यानको माया नगरी आक्रमणमा घाइते भएका महिलाको ज्यान बचाएका थिए। लन्डनमा आइतबार ती सबै घटनाहरू सामाजिक सन्जालमा छाएका छन्।

प्रतिक्रिया दिनुहोस्