हेटौंडामा संगीत र नाट्य महोत्सव



हेटौंडा, (नेस)। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा देशभरका करिब २ सय कलाकारको सहभागितामा सोमबारदेखि हेटौंडामा राष्ट्रिय संगीत तथा नृत्य महोत्सव शुरु भएको छ।

प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठको सभाध्यक्षतामा सम्पन्न महोत्सवको शुभारम्भ गर्दै हेटौंडा उप–महानगरका मेयर हरिबहादुर महतले सम्पूर्ण भाषा र कला संरक्षणमा उप–महानगरले जोड दिने बताए।

आज बुधबारसम्म चल्ने महोत्सवमा मेचीदेखि सुदूरपश्चिमसम्मका कलाकारको प्रस्तुति रहनेछ। महोत्सवमा सोमबार २२ भाषा तथा जातजातिका गीत तथा नृत्य प्रस्तुत गरिएको थियो। महोत्सवमा धिमाल, थारू, मगर, राई, नेवार, चेपाङ, कलिया, गर्रा, चम्पा, देउडा, सिया र मैथलीलगायत भाषाका गीत तथा नृत्य प्रस्तुत हुने कार्यक्रम संयोजक प्राज्ञ सभा सदस्य आशाकाजी श्रेष्ठले बताए।

महोत्सवमा मंगलबार शास्त्रीय संगीत तथा संगीतसम्बन्धी अन्तरक्रिया र शास्त्रीय सांगीतको प्रस्तुति प्रस्तुत गरिएको थियो। आज अन्तिम दिन मकवानपुरे कलाकारको प्रस्तुति रहने बताइएको छ। कार्यक्रम शुरु हुनुअघि हेटौंडाको सीमाचोकबाट र्याली शुरु गरी नगर परिक्रमा गरेर पल्पसा हलमा सभामा परिणत भएको थियो।

प्रतिक्रिया दिनुहोस्