राजपालाई भारतीय राजदूतको आग्रह, ‘चुनावमा जाऊ’



काठमाडौं, (नेस)। निर्वाचन बिथोल्ने गरी आन्दोलनको घोषणा गरेको राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) लाई निर्वाचनमा सहभागी हुन भारतीय पक्षले आग्रह गरेको छ।

राजपाका नेताहरूलाई भारतीय नेताहरूले व्यक्तिगत रूपमा पनि निर्वाचनमा सहभागी हुन आग्रह गरेका छन् भने मंगलबार भारतीय राजदूत मन्जिभ सिंह पुरीले पनि आग्रह गर्नुभएको छ।

स्रोतका अनुसार राजपाका नेताहरूसँग व्यक्ति टेलिफोन संवादमा पनि भारतीय नेताहरूले चुनावमा सहभागी हुन आग्रह गर्दै आएका छन्। राजपाका एक नेताले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘नेपाली कांग्रेसका नेताहरूले भारतीय पक्षलाई गुहार गरेका छन्। उहाँहरूले हामीलाई निर्वाचनमा सहभागी भइदिन भारतीय पक्षसँग आग्रह गर्नुभएको छ। कांग्रेस सभापतिले भारतीय पक्षसँगको कुराकानीमा हामीलाई सरकारमा सहभागी गराइदिन आग्रहसमेत गर्नुभएको छ।’

यता मंगलबार बिहान लैनचौरस्थित भारतीय दूताबासमा राजपाका नेताहरू तथा भारतीय राजदूत पुरीबीच भएको छलफलमा निर्वाचनमा सहभागी हुन आग्रह गरिएको हो। छलफलमा राजपाका नेताहरूले आफूहरूको मागअनुसार संविधान संशोधन र स्थानीय निकायको संख्या वृद्धि नभएको बताउनुभएको थियो। राजपाका नेताहरूले अहिले कै अवस्थामा निर्वाचनमा सहभागी हुन नसक्ने प्रतिक्रिया दिनुभएको थियो।
छलफलमा राजदूत पुरीले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको अब बन्ने भनिएको सरकार मोर्चाको माग पूरा गर्न तत्परजस्तो देखिएकोसमेत बताउनुभएको थियो।

भारतले मधेसको माग पूरा होस् भन्ने चाहेको बताउँदै पुरीले लोकतन्त्रको महत्त्वपूर्ण पाटो निर्वाचनमा सहभागी हुन आग्रह गर्नुभएको थियो। राजपाका नेताहरूले संविधान संशोधन नभएसम्म आफूहरू निर्वाचनमा जान नसक्ने अडान राख्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्