दोस्रो चरणका लागि आयोग तात्यो, आज निर्वाचन कार्यालय खोलिँदै



सुनील महर्जन, काठमाडौं
दोस्रो चरणको निर्वाचनका लागि ४ सय १८ तहमा आज सोमबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने भएको छ।

जेठ ३१ गते प्रदेश नं १, २, ५ र ७ को ४१ जिल्लामा निर्वाचन हुनेछ। त्यसका लागि जेठ ६ गते ४३ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएकोमा अहिले ४ सय १८ स्थापना गर्ने सम्पूर्ण तयारी पूरा भइसकेको निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

‘निर्वाचन कार्यालय स्थापना भएपछि चुनावका लागि जनशक्ति व्यवस्थापन कार्य शुरू हुने पनि सचिव मैनालीले जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘मतदान अधिकृत, सहायक मतदान अधिकृत नियुक्ति गर्ने, तालिम दिन र मतदातालाई शिक्षा दिने कार्यले तीव्रता पाउनेछ।’

आउँदो २७ गतेदेखि प्रत्येक मतदान केन्द्रबाटै मतदाता परिचय वितरण थाल्ने र २८ गतेदेखि मतदान केन्द्रको व्यवस्थापन कार्य मिलाउने कार्ययोजना रहेको पनि आयोगले जनाएको छ। दोस्रो चरणको निर्वाचनका लागि करिब ९० हजार कर्मचारी खटिने छन्।

पहिलो चरणको निर्वाचनमा मतपत्र धेरै बदर भएको गुनासो आएकाले दोस्रो पटक मतदाता शिक्षा प्रभावकारी बनाउनुका साथै भोजपुरी, मैथली, अवधिलगायत विभिन्न राष्ट्र भाषामा पनि मतदाता शिक्षा दिने आयोगको तयारी रहेको छ।

सकेसम्म कम त्रुटि हुने गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने तयारी भएको आयोगले जनाएको छ। मतदाता परिचय–पत्र लिन आउने बेला पनि मतदाता शिक्षा दिने योजना बनाएको सचिव मैनालीले जानकारी दिनुभयो।

आयोगका अनुसार निर्वाचनका लागि मतपत्र, मतपेटिका, मतदाता शिक्षा सामग्री, मतदान गरिसेकेपछि लगाउने मसीलगायत सम्पूर्ण निर्वाचन सामग्री सम्बन्धित जिल्लाको मुख्य निर्वाचन अधिकृतमा पुर्याइसकेको छ। मतदान अधिकृत र सहायक मतदान अधिकृत मतदान केन्द्र जाने बेला सो सामग्री सम्बन्धित मतदान केन्द्रमा पुर्याइनेछ। ‘आयोगबाट सम्पूर्ण तयारी भइसकेको छ। अब आज भोलिदेखि फिल्डस्तरमा तयारी हुने छ’ –सचिव मैनालीले भन्नुभयो।

दोस्रो चरणको निर्वाचनका लागि यही जेठ १९ देखि २२ गतेसम्म उम्मेदवार मनोनयन दर्ता गराउने, दाबी विरोध, उम्मेदवारको अन्तिम नामावली प्रकाशन र स्वतन्त्र उम्मेदवारलाई चुनाव चिह्न दिने निर्वाचन कार्यतालिका रहेको छ।

पहिलो चरणको निर्वाचनको तुलनामा दोस्रो चरणको निर्वाचनमा जिल्ला, मतदान केन्द्र र मतदाताहरू धेरै रहेका छन्। दोस्रो चरणमा निर्वाचन हुने स्थानीय तहमा १२ उपमहानगरपालिका, १ सय ५६ नगरपालिका र २ सय ९३ वटा गाउँपालिका छन्। मतदान केन्द्र ११ हजार ९ सय ३१ रहनेछन्। निर्वाचन आयोगका अनुसार मतदाता संख्या ९० लाख ९७ हजार ५ सय ५७ रहेका छन्।

पहिलो चरणको स्थानीय तह निर्वाचनको तुलनामा दोस्रो चरणमा निर्वाचन हुने जिल्लाहरूमा बढी सुरक्षा चुनौती रहेको निष्कर्ष गृह मन्त्रालयको रहेको छ। दोस्रो चरणमा निर्वाचन हुने मधेसका जिल्लाहरू भारतसँग खुला सिमाना भएका कारण सुरक्षाका दृष्टिले चुनौतीपूर्ण रहेको र आपराधिक गतिविधि बढ्न सक्ने सम्भावनासमेतलाई आकलन गरी आवश्यक सुरक्षा नीति बनाइएको छ।

प्रतिक्रिया दिनुहोस्