भक्तपुरलाई नमुना बनाइने नयाँ पदाधिकारीले थाले काम



पुष्कर बुढाथोकी⁄भक्तपुर

भक्तपुर नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख, उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्यहरूले आइतबार सपथग्रहण गरी कार्यभार सम्हाल्नुभएको छ। नगरपालिकाले आयोजना गरेको सपथ ग्रहण कार्यक्रममा मुख्य निर्वाचन अधिकृत भोजराज शर्माले नवनिर्वाचित नगरप्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीलाई सपथ ग्रहण गराउनुभएको थियो। कार्यक्रममा सांसद प्रेम सुवालले आफैंले कानुन बनाउने, आफैंले पालना गर्ने गरी कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको भूमिका स्थानीय तहले गर्न पाउने अधिकार भएकाले यसलाई पूरा गर्ने जिम्मेवादी नवनिर्वाचित पदाधिकारीमा आएको बताउनुभयो। सो अवसरमा मुख्य निर्वाचन अधिकृत भोजराज शर्माले स्थानीय तहको निर्वाचनले लामो समयदेखि रोकिएको विकास कार्य द्रूत गतिमा अगाडि बढ्ने बताउनुभयो।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले स्थानीय तहको निर्वाचन सकिएलगत्तै आफ्नो नगर तथा गाउँको विकास गर्ने अनेकौं अवसरहरू आएकाले त्यसलाई सफल बनाउन नवनिर्वाचित पदाधिकारीले ध्यान दिनुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा नवनिर्वाचित नगरप्रमुख सुनिल प्रजापतिले स्थानीय तह प्रजातन्त्रको जग भएको बताउँदै संविधानले दिएको अधिकार प्रयोग गर्ने क्रममा धेरै चुनौतीहरू आउने बताउनुभयो। भक्तपुरलाई देशकै नमुनाको नगर बनाउने घोषणा गर्दै उहाँले संरक्षण हुन बाँकी ऐतिहासिक एवं पुरातात्विक सम्पदा र संरचनाको संरक्षण गर्ने, ख्वप विश्व विद्यालयको स्थापना गर्ने, भक्तपुरलाई ज्ञानको केन्द्रका रूपमा विकास गर्नेलगायत धेरै कुराबाट भक्तपुरलाई मुलुकको नमुनाको नगर बनाउने बताउनुभयो।

सपथ ग्रहणलगत्तै नगरपालिकाको भवनमा गएर नगरप्रमुख, उपप्रमुख र १० वटा वडाका वडा अध्यक्षहरूसमेत बसेर नगरपालिकाको पहिलो बैठकसमेत सम्पन्न गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्