उपत्यकाकै गाउँमा जे देखियो



सुरेश तामाङ

करिब २ दशकपछि वैशाख ३१ मा भएको स्थानीय निर्वाचनको पहिलो चरणमा ललितपुरको दक्षिणी भेगमा मतदाताहरुले उल्लासमय सहभागिता जनाउँदै दल र स्वतन्त्र प्रतिनिधिलाई मत दिए।

दक्षिण ललितपुरमा गोदावरी नगरपालिका, कोन्ज्योसोम गाउँपालिका, बाग्मती गाउँपालिका र महांकाल गाउँपालिकाका लागि यहाँका जनताले आफ्ना प्रतिनिधि छान्न गोप्य मतदान गरेका हुन्।

कुल ४७ हजार ४६ जना मतदाता रहेको गोदावरी नगरपालिकामा ३९ हजार २ सय २८ जनाले मतदान गरे। कुल ६ हजार ९ सय ६ जना मतदाता रहेको कोन्ज्योसोम गाउँपालिकामा ५ हजार ५ सय ८ जना मतदाताले मतदान गरे।

त्यस्तै ९ हजार ५ सय ६९ जना कुल मतदाता रहेको बाग्मती गाउँपालिकामा ७ हजार ५ सय १९ जना मतदाताले मतदान गरेका थिए। ७ हजार ४१ जना कुल मतदाता रहेको महाँकाल गाउँपालिकामा ५ हजार ७ सय ५७ जना मतदाताले मतदान गरेका थिए।

दक्षिणी भेगका नगरपालिकाका धेरै वडामा मत गणना भई अन्तिम परिणाम आइसकेको छ भने केहीमा गणना भइरहेको छ।

धेरै समयपछि हुन लागेको स्थानीय तहको निर्वाचनअघि देशमा भईरहेको राजनीतिक गतिविधिले गर्दा धेरै मतदाता निर्वाचन होला कि नहोला भन्ने अन्योलमै थिए।

यहाँका मतदातालाई पनि त्यही किसिमको अन्योलले छोडेको थिएन। जसोतसो चुनाव भए पनि चुनावका बेला भने आफ्नो गोप्य मत राख्न मतदाताहरुले अप्ठेरो भएको अनुभव सुनाए।

धेरै पार्टीलाई प्रतिनिधित्व गर्ने मतपत्रमा राखिएको चुनाव चिन्हले यो पटकको मतपत्र अघिपछिको भन्दा धेरै ठूलो थियो। त्यसमा मतदातालाई मतदान गर्न स्वभाविक रुपमा अप्ठेरो पर्यो।
चुनावका बेला मतदान केन्द्रमा मतदाताले मतदान गर्दा धेरै समय अलमलमा परेको, मतपत्र पट्याउन अलमल गरीगरी बिगार्दै मतपेटीकामा राखेको देखियो। गोदावरी नगरपालिकाको वडा ५ लेले र ६ टीकाभैरव, कोन्ज्योसोम गाउँपालिकाको वडा ५ भारदेउ र बाग्मती गाउँपालिकाको वडा ३ भट्टेडाँडाका मतदान केन्द्रमा पुग्दा प्रायःजसो मतदाताको हालत यस्तै थियो।

कुनै मतदाताले त मतपत्रमा औँठा छापसमेत गरे। यस्तो समस्या प्रायःजसो सामान्य लेखपढ गर्न जानेका जस्तो देखिने मतदाताहरुमा बढी देखियो। निर्वाचन आयोगले आफ्ना कर्मचारीहरुलाई तालिम दिई मतदातालाई मत राख्न मतदाता प्रशिक्षकहरु खटाइएको भने पनि मतदानका बेला मतदाताहरुमा यस्तो किसिमको समस्या देखियो।

मतदातामा देखिएको यस्ता समस्यामा निर्वाचन आयोगले गरेको प्रचारप्रसार, मतदान शिक्षा दिने प्रशिक्षकहरुको काम र कर्तव्य प्रभावकारी नभएको देखियो। मतदान केन्द्रमा देखिएका यस्ता खालका दृश्यहरुले धेरै मतपत्रहरु बदर हुने धेरैको आँकलन थियो।

तर, आँकलन गरिएजस्तो बदर मत भने देखिएन। जति मतदातालाई मतपत्रमा चिन्ह छान्न हम्मेहम्मे भयो त्योभन्दा बढी हम्मेहम्मे मतपत्र गन्न आयोगका कर्मचारीलाई पर्यो। मतगणना भएको ३ दिन बितिसक्यो अहिलेसम्म प्रायःजसो स्थानीय तहको मतगणना सकिएको छैन।

मतगणना गर्न जनशक्ति कम हुनु, मतदाताले धेरै मत चिन्हमा छाप राख्नु, मत गन्दै गर्दा उम्मेदवार र प्रतिनिधिहरुबीच विवाद हुनु र फेरि मत गणना गर्नुलगायतका समस्याले गर्दा मत गणना कछुवाको गतिमा गइरहेको छ। हुन त आयोगले छिटोभन्दा छिटो मतगणना गर्न विशेष टोली खटाउने भनेको छ। ५ दिन अघिदेखि १ मिनेट सुत्न नपाएका कर्मचारीहरु पनि छन्। रातदिन खटेका कर्मचारीलाई आराम गर्न पालो दिने व्यवस्था गर्दै विशेष तालिम दिएर मात्रै विशेष टोली मत गणनाका लागि खटाउनु उचित देखिन्छ।

प्रतिक्रिया दिनुहोस्