भरुवा बन्दुक बनाउँदै गर्दा दुई पक्राउ



लमजुङ (बेँसीसहर), २५ वैशाख । भरुवा बन्दुक बनाउने दुई जनालाई लमजुङ बँेसीसहर–९, बिम्दाबाट आज प्रहरीले पक्राउ गरेको छ ।

पक्राउपर्नेमा बेँसीसहरका २८ वर्षीय मनोज विक र २५ वर्षीय प्रदीप विक छन् । मध्यरातको समयमा भरुवा बन्दुक बनाउँदै गरेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक समीरचन्द्र खरेलले बताउनुभयो ।

निर्वाचन केन्द्रित सुरक्षा योजनाअनुसार गस्तीमा गएको प्रहरी टोलीले उनीहरुको साथबाट एउटा तयारी भरुवा बन्दुक र अर्को बनाउँदै गरेको भरुवा बन्दुक बरामद गरेको उहाँले बताउनुभयो ।

उनीहरुसँग तयारी बन्दुकको अनुमतिपत्र नभएको र कानुन विपरीत हतियार बनाइरहेको भेटिएकाले दुवै जनालाई हात हतियार खरखजनाअन्तर्गत मुद्दा चलाइने प्रहरी नायव उपरीक्षक खरेलले जानकारी दिनुभयो ।

स्थानीय चुनाव लक्षित गर्दै यसअघि जिल्ला सुरक्षा समितिले इजाजत भएका हतियार प्रशासनमा बुझाउन आग्रह गरेको थियो । प्रशासनले दिएको समयसीमा भित्र जिल्लामा ६३ जनाले हतियार बुझाएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्