“सुरक्षित र झिलिमिली शहर मेरो संकल्प”



हरिकृष्ण व्यञ्जनकार
ललितपुर महानगरका
एमालेका मेयर उम्मेदवार

सम्पदाको संरक्षणलाई प्राथमिकता दिँदै अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनासहितको एकीकृत विकास सूचना केन्द्रसहितको उच्च प्रविधियुक्त सभाहलको निर्माण हुनेछ।
नेकपा एमालेका जिल्ला अध्यक्षसमेत रहेका हरिकृष्ण व्यञ्जनकार ललितपुर महानगरबाट सो पार्टीका मेयरका उम्मेदवार बनेका छन्। पार्टीको नगर सचिवका रूपमा समेत काम गरिसकेका उनी पार्टीका पुराना कार्यकर्ताका रूपमा चिनिन्छन्। उनै व्यञ्जनकारसँग नजिकिएको स्थानीय निर्वाचनको तयारी र भावी योजनाबारे नेपाल समाचारपत्रले गरेको कुराकानीको सारसंक्षेपः

तपाईंले निर्वाचन जित्ने आधार के हुन् ?

विशेषतः संविधान कार्यान्वयनका लागि जनपरिचालन अभियानमार्फत् पार्टीले संविधान कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचनलाई प्रस्थानबिन्दु मानेर सञ्चालन गरेको अभियानदेखि नै हामीले स्थानीय तहमा सम्भावित उम्मेदवारहरूको विषयमा पनि एक खालको पूर्वाभ्यास गरिरहेका थियौं। लामो समयदेखि निरन्तररूपमा पार्टीमा क्रियाशील, जनताबीच स्थापित भएर विभिन्न विकासमूलक र सामाजिक काममा म सक्रिय रहँदै आएको छु। भोलीका दिनमा विकासको भिजन र नेतृत्व दिनसक्ने क्षमता भएको महसुस गरेको छु।

ललितपर महानगर क्षेत्रको बासिन्दाको हैसियतले यहाँको विकासको आधारलाई बढी महत्त्वका साथ लिएकाले मैले निर्वाचन जित्नेमा शंका छैन। खानेपानी र फोहोर मैला व्यवस्थापन, हरियाली प्रवर्धन जस्ता विषयलाई मैले प्राथमिकता दिएको छु।

जित्ने आधार चाहिँ के हो ?

हाम्रो पार्टी मूलरूपमा संगठनमा आधारित पार्टी हो। राष्ट्रियरूपमा नेकपा एमालेको नीति र एजेन्डाका कारण राष्ट्रियता, जनजीविका र विकासको डोरो देखिएको छ। यो कुरालाई आम मतदाता र जनतालाई थाहा छ, उहाँहरूले एमालेलाई विश्वास गर्नुुहुनेछ। त्यसबाहेक यस क्षेत्रका समस्यासँग राम्रोसँग परिचित भएको र आफ्नो भिजन र नेतृत्वले समस्या समाधान गरी सम्भावनाको खोजी गर्ने काममा मैले आफ्नो कार्यक्रम ल्याएको छु। जनताले पहिलो कुरा पार्टीको नीतिलाई हेर्छन् त्यो एमालेको सबैभन्दा राम्रो छ त्यसपछि उम्मेदवारका कार्यक्रम र त्यसको सम्भावनालाई हेर्छन्। त्यस कारण मेरो विजय निश्चित छ।

तपाईंका भावी योजना के छन् ?

हामीले यो निर्वाचनमार्फत् राजनीतिक परिवर्तनपछि प्राप्त भएका उपलब्धिहरूलाई संस्थागत गरेर लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नुपर्छ। त्यसका लागि जनतालाई विकासमार्फत् समृद्ध र सुखी बनाउन जरुरी छ। हामीले नागरिकलाई समृद्ध बनाउनका लागि पूर्वाधारको विकासमा ध्यान दिनेछौं। महानगरपालिका क्षेत्रभित्रका साँघुरा सडकलाई फराकिलो बनाउने, असरल्ल तार र पोलहरूलाई व्यवस्थित गर्दै अन्डरग्राउन्ड वायर सिस्टम विकास गर्ने, सबै सडकहरूमा शौर्य सडकबत्तीको व्यवस्था गरेर झिलिमिली बनाउने, सुरक्षाका लागि सीसीटीभी र सेक्युरिटी साइरनको व्यवस्था गर्नेलगायतका योजना बनाएका छौं। नागरिकलाई आफूले तिरेको करको सदुपयोग भएको अनुभूति दिलाउने गरी पारदर्शी र झन्झटमुक्त प्रशासनिक सेवाको व्यवस्थापन गर्नेछौं। करको सदुपयोग र बाह्य लगानी तथा अनुदान भित्त्याउने काम गर्नेछौं। कला संस्कृति, धार्मिक तथा पुरातात्त्विक महत्त्वका वस्तुलाई पर्यटकीय आकर्षणको रूपमा विकास गर्नेछौं।

नगरभित्रका महत्त्वपूर्ण बहाल, विहार, पोखरी, ढुंगेधाराहरूलाई संरक्षण र विकास गरेर पर्यटकीय महत्त्वका क्षेत्रका रूपमा विकास गर्नेछौं। महानगरभित्रको पाटन दरबार स्क्वाएरदेखि हरिसिद्धि, धापाखेल हुँदै खोकना बुंगमतीसम्मको सम्पूर्ण क्षेत्रलाई समेटेर पर्यटन क्लस्टरको रूपमा विकास गरेर विदेशी पर्यटकले कम्तीमा महानगर क्षेत्रभित्र ३ दिन बस्ने अवस्थाको सिर्जना गछौं, जुन महानगरको विकासको निकै ठूलो स्रोत हो। यसका लागि पाँचतारे होटल स्थापना गर्ने वातावरणदेखि महानगरभित्रका सांस्कृतिक महत्त्व झल्कने स्थापना कलात्मक घरहरूलाई सम्पदा घर (हेरिटेज होम) सञ्चालनलाई प्रोत्साहन गर्नेछौं।

अबको ५ वर्षमा महानगरलाई चिनाउने तयारी छ ?

६ महिनाभित्र ललितपुर महानगरलाई विभिन्न उपायमार्फत् धुँवा, हिलो र धूलोमुक्त बनाइनेछ। मेलम्चीलगायतका अन्य विकल्पहरूको व्यवस्थापनसँगै खानेपानीको पर्याप्त आपूर्तिसहित १ वर्षभित्र अन्य पूर्वाधारको व्यवस्थापन गरिनेछ। सम्पदाको संरक्षणलाई प्राथमिकता दिँदै अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनासहितको एकीकृत विकास सूचना केन्द्रसहितको उच्च प्रविधियुक्त सभाहलको निर्माण हुनेछ। नमुना यातायातको रूपमा कुपण्डोलदेखि गोदावरीसम्म ट्राम सञ्चालन गरिनेछ। विद्युतीय परिवहनलाई विशेष प्राथमिकता दिइनेछ। हरेक वार्डमा बालबालिका र ज्येष्ठ नागरिकहरूलाई मनोरञ्जनका लागि पार्क र मनोरञ्जनस्थलहरूको निर्माण गर्नेछौं। महानगरभित्रका सम्पूर्ण पोखरीहरू नौकाविहारका लागि उपयुक्त खालको बनाउनेछौं।

महानगरभित्र पर्ने खोलानालाको सफाइ गरी किनारामा पार्क निर्माण गरेर सुन्दर महानगर बनाउनेछौं। नगरभित्र विशेष व्यापारिक क्षेत्र निर्माण गरी घण्टाका आधारमा काम गर्ने अवस्था निर्माण गर्नेछौं। युवालाई सीप र स्रोतका आधारमा स्वरोजगार बनाउने कार्यक्रम ल्याउँछौं। एमालेको सेटलाई विजयी गराउने ललितपुरबासीलाई अबको ५ वर्षमा पर्यटकको आगमनले खचाखच भएको २४ घण्टा चहलपहल हुने १८ घण्टा ट्राम चल्ने झिलिमिलीयुक्त सुरक्षित ललितपुर महानगर मेरो संकल्प हो।

प्रतिक्रिया दिनुहोस्