आलु, गोलभेंडा र प्याजको खपत उच्च



नेपाल समाचारपत्र

काठमाडौं
काठमाडांै उपत्यकामा वार्षिक रुपमा खपत हुने तरकारीमध्ये आलु, गोलभेंडा र प्याज मात्रै ५० प्रतिशतभन्दा बढी खपत रहको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तयार पारेको २०७३ को तथ्यांक प्रतिवेदनअनुसार उपत्यकामा तीन वस्तुको खपत उच्च देखिएको हो।

समितिको तथ्यांकअनुसार गतवर्ष खपत भएको कुल फलफूल तथा तरकारीमा रातो आलु २३ दशमलब ९३ प्रतिशत र सेतो आलु २ दशमलब ८ प्रतिशत गरी कुल २६ दशमलब १ प्रतिशत आलु खपत हुने गरेको छ। समितिको तथ्यांकअनुसार रातो आलु वार्षिक औसत ३२ रुपियाँर सेतो आलु २७ रुपियाँप्रतिकिलोका दरले रातो आलु करिब १ अर्ब ९६ करोड २१ लाख ८६ हजार रुपियाँर सेतो आलु १५ करोड ५० लाख रुपियाँभन्दा बढी खपत हुने गरेको छ।
त्यस्तै गोलभेंडाको खपत र विदेशबाट आयातको अवस्था आलुपछि दोस्रो नम्बरमा रहेको छ। वार्षिक तरकारी तथा फलफुल खपतको ११ दशमलब ८३ प्रतिशत गोलभेंडाले ओगटेको छ। ५ हजार २ सय १० मेट्रिक टन ठूलो गोलभेंडा र २५ हजार १ सय ३ मेट्रिक टन सानो गोलभेंडा गरी कुल ३० हजार ३ सय १३ मेट्रिक टन गोलभेंडा वार्षिक रुपमा खपत हुन्छ। खपत भएको उक्त परिमाण बराबर गोलभेंडाको मूल्य १ अर्ब ३ करोड ६४ लाख २० हजार रुपियाँबराबर रहेको छ।
भारतबाट आयात हुने ३ हजार १ सय ९० मेट्रिक टन ठूलो गोलभेंडा र ६ हजार ४ सय ७० मेट्रिक टन सानो गोलभेंडाले उपत्यकामा खपत हुने कुल परिमाणको ३२ प्रतिशत ओगटेको छ। गत वर्ष थाइल्यान्डबाट समेत सानो गोलभेंडा आयात भएकोछ। ११ लाख ८० हजारभन्दा बढी मूल्यको साढे २९ मेट्रिक टन थाइल्यान्डबाट आयात भएको हो।
उपत्यकामा सुकेको प्याजको वार्षिक खपत तेस्रो नम्बरमा रहेकोछ। कुल तरकारी र फलफूलजन्य वस्तुको खपतमा प्याजको खपत ११ दशमलब ६५ प्रतिशत रहेकोछ। २९ हजार ८ सय ७० मेट्रिकटन वार्षिक खपत हुने प्याजको मूल्य आँकडा ७४ करोड ६६ लाख ७५ हजार रुपियाँभन्दा बढी रहेको छ।
उपत्यका भित्रिने फलफूल तथा तरकारीमा भारतबाट मात्र वार्षिक ४३ दशमलब ८३ प्रतिशत आयात हुने गरेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ। कालिमाटी बजार विकास समितिले दैनिक २ करोड रुपियाँबराबरको फलफूल तथा तरकारीको व्यापार गर्ने गरेको छ। केन्द्रीय तथ्यांक विभाग तथा कृषि विकास मन्त्रालयका अनुसार नेपालमा कुल खेतीयोग्य जमिनको ७ दशमलब ४ प्रतिशत जमिनमा तरकारी लगाईन्छ।
जसले कुल ग्रार्हस्थ उत्पादनमा करिब ९ प्रतिशत प्रतिनिधित्व गर्छ।
आन्तरिक रुपमा उत्पादन हुने फलफूल तथा तरकारीको उत्पादकत्वमा घटेकोले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका निर्देशक तेजेन्द्र पौडेलले बताउनुभयो। नेपालको दीर्घकालीन कृषि योजनामा ६७ प्रतिशत तरकारी आन्तरिक उत्पादनमार्फत् परिपूर्ति गर्ने भनिए पनि। केही वर्ष अघिसम्म ८० प्रतिशत तरकारी भारतीय बजारबाट आउने गरेकोमा अहिले नेपालमै उत्पादन भएका तरकारीको हिस्सा ६५ प्रतिशत पुगेको समितिको प्रगति विवरणमा उल्लेख गरिएको छ।
बढ्यो तरकारीको मुल्य

भारतबाट आयात हुने तरकारीमा मूल्य बढेसँगै त्यसको असर उपत्यकामा पनि देखिएको छ। उपत्यकाको फलफूल तथा तरकारीको ४५ प्रतिशत माग धान्दै आइरहेको आयातित वस्तुमा मूल्य बढपछि त्यसको असर उपत्यकामा देखिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका निर्देशन तेजेन्द्र पौडेलले बताउनुभयो।
निर्देशक पौडेलका अनुसार आन्तरिक उत्पादकत्वमा कमी, माग अनुसार भारतबाट कम आपूर्ति र भारतीय बजारमा नै तरकारीको मुल्य बढेकाले मूल्यवृद्धिको समस्या देखिएको हो। गत माघ र फागुनमा दैनिक ८ सय मेट्रिक टन तरकारी कालिमाटी भित्रिने गरेकोमा चैत र वैशाखमा ६ सय मेट्रिक टनभन्दा कममात्रै तरकारी आयात हुने गरेको बजार विकास समितिको तथ्यांकले देखाएको छ।

प्रतिक्रिया दिनुहोस्