भारत खुसी



काठमाडौं, (नेस)
नेपालमा आगामी हप्ता हुन लागेको स्थानीय तहको निर्वाचनप्रति भारतले खुसी व्यक्त गरेको छ।

परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतसँग शुक्रबार नयाँ दिल्लीमा भएको द्विपक्षीय भेटमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपालमा हुन लागेको निर्वाचनप्रति खुसी व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

उहाँले मन्त्री डा. महतसँग एउटा ठूलो लोकतन्त्रका हैसियतले आफ्नो छिमेकी मुलुक नेपालमा स्थानीय तहको निर्वाचनमार्फत हुन लागेको महत्वपूर्ण प्रजातान्त्रिक अभ्यासले भारतलाई अत्यन्त खुसी लागेको बताउनुभयो।

उहाँले नेपालको निर्वाचनको पूर्ण सफलताको कामना गर्दै निर्वाचनका लागि भारतले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। विदेशमन्त्री स्वराजले पछिल्लो समयमा दुई देशबीच उच्चस्तरीय भ्रमण तथा भेटघाट भएका र यसबाट आपसी सम्बन्ध सुदृढीकरणमा थप सघाउ पुगेको धारणा राख्नुभएको थियो।

सो अवसरमा मन्त्री डा. महतले नेपालको निर्वाचनका लागि भारतले पुर्याएको सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभएको थियो। डा. महत आज स्वदेश फर्किनुहुने बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्