१७ शिक्षक चुनावी मैदानमा



स्थानीय तहको निर्वाचनमा सिन्धुलीबाट १७ जना शिक्षक शिक्षण पेसा छाडेर चुनावी मैदानमा उत्रिएका छन्। स्थानीय तह प्रमुख उप्रप्रमुखदेखि वडा अध्यक्षसम्म १७ जना शिक्षकले उम्मेदवारी दिएका छन्। जिल्ला शिक्षा कार्यालयका अनुसार १७ जना शिक्षकले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका छन्। उनीहरू सबै स्थानीय तहको निर्वाचनमा भाग लिन राजीनामा दिएको शिक्षा कार्यालय सिन्धुलीका नेत्रप्रसाद गजुरेलले जानकारी दिए।

दुई जना शिक्षकहरू गाउँपालिका प्रमुखको उम्मेदवार बन्न सफल भएका छन्। गोलन्जोर गाउँपालिकाको प्रमुखमा नेकपा एमालेका तर्फबाट टीकाबहादुर देवकोटा र हरिहरपुर गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट कारसाङ तामाङले मनोनयन दर्ता गराएका छन्। कमलामाई नगरपालिककामा नेकपा एमालेको तर्फबाट शिक्षक मञ्जु देवकोटा र नेपाली कांग्रेसबाट सुशीला थिङले उपप्रमुखमा मनोनयन दर्ता गराएका छन्।

त्यस्तै दुधौली नगरपालिकामा नेकपा एमालेका तर्फबाट बालकुमारी अधिकारी दनुवारले उपप्रमुखमा मनोनय दर्ता गराएकी छिन्। सुनकोशी गाउँपालिकामा नेपाली कांग्रेसका तर्फबाट शान्ता कार्की र नेकपा एमालेका तर्फबाट मिथिला प्याकुरेलले उपप्रमुखमा मनोनयन दर्ता गराएका छन्। शिक्षण पेसा छाडेर स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्ने होडमा करिब २५ जना शिक्षक रहेकामा पार्टीबाट टिकट पाएका १७ जनाले मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएका हुन्। अधिकांशले वडा अध्यक्षको टिकट पाएका छन्।

प्रतिक्रिया दिनुहोस्