चलचित्र संघको पदभार हस्तान्तरण



वितरक र प्रदर्शकहरुको छाता संगठन नेपाल चलचित्र संघको कार्यसमिति हस्तान्तरण गरिएको छ। गत माघमा हेटौंडामा सम्पन्न संघको ४४औं साधारणसभामा अध्यक्षसहित सदस्य पदमा सर्वसम्मतरूपमा निर्वाचित पदाधिकारीले बिहीबार शपथ लिँदै पदभार ग्रहण गरेका हुन्।

संघका नवनिर्वाचित अध्यक्ष प्रदीपकुमार उदयसहित सदस्यहरुले शपथ लिँदै राजधानीको विशालनगरस्थित कार्यालयमा पदभार ग्रहण गरेका हुन्। समारोहमा संघका निवर्तमान अध्यक्ष नकिम उद्दिनले नवनिर्वाचित अध्यक्ष उदयलाई शपथ ग्रहण गराएपछि प्रदीपले नवनिर्वाचित सदस्यहरुलाई शपथ खुवाएका थिए। संघको विधानबमोजिम नवनिर्वाचित अध्यक्ष उदयले सदस्यमा निर्वाचित भएकाहरुलाई पद विभाजन गरेका छन्। शपथपछि उनले फिल्म क्षेत्रलाई विश्वासिलो र राम्रो बनाउन आफू प्रयासरत रहने प्रतिबद्धता पनि व्यक्त गरे। ‘फिल्म क्षेत्र राम्रो हुनका लागि यसमा आबद्ध संघ–संस्थाहरु पनि प्रतिबद्ध हुनुपर्छ। हामी मिलेर काम गर्न सक्यौं भने मात्र फिल्म क्षेत्र सबल र सक्षम बन्छ’ –उनले भने। समारोहमा फिल्म क्षेत्रसँग सम्बन्धित संघ–संस्थाका पदाधिकारीहरुले नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिएका थिए।

शपथग्रहणपछि संघको बिहीबार बसेको बैठकले प्रथम उपाध्यक्षमा वीरेन्द्रनारायण श्रेष्ठ, द्वितीय उपाध्यक्षमा मधुसूदन प्रधान, तृतीय उपाध्यक्षमा नरेन्द्र महर्जन, महासचिवमा अर्जुन श्रेष्ठ, उप–महासचिवमा मिजास पोखरेल र कोषाध्यक्षमा गोपालकाजी कायस्थलाई चयन गरेको छ। बैठकले कार्यसमिति सदस्य पदमा अष्टनारायण पिक्चर्स बालाजुका सञ्चालक त्रिरत्न मानन्धरलाई मनोनयन गरेको छ।

त्यस्तै आगामी आर्थिक वर्षमा नेपाल सरकारले ल्याउने बजेटमा समग्र फिल्म क्षेत्रलाई सम्बोधन हुने गरी मन्त्रीसमक्ष पेस गर्नका लागि तृतीय उपाध्यक्ष नरेन्द्र महर्जनको संयोजकत्वमा ३ सदस्यीय सुझाव समितिसमेत गठन गरेको छ।
बैठकले केन्द्रीय चलचित्र जाँच समितिबाट फिल्महरु सरल र सहज तरिकाले जाँच गर्ने गराउने कामलाई प्रभावकारी बनाउन द्वितीय उपाध्यक्ष मधुसूदन प्रधानको संयोजकत्वमा तीन सदस्यीय सुझाव समिति गठन गर्ने निर्णय गरेको संघका महासचिव अर्जुन श्रेष्ठले जानकारी गराएका छन्।

बैठकले मदनमान वज्राचार्यलाई उपत्यका सभापति, कपिलप्रसाद द्वालाई पश्चिमाञ्चल सभापति, नारायणप्रसाद आचार्यलाई न्यायीक समिति सभापति, त्रिरत्न मानन्धरलाई प्रदर्शन सभापति, विक्रम पराजुलीलाई वितरण सभापति र चैतन्य बराललाई पूर्वाञ्चल सभापतिको जिम्मेवारी सुम्पिएको संघद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्