मध्यमाञ्चलका २६ हजार विद्यार्थी विद्यालय बाहिर



नेपाल समाचारपत्र, हेटौंडा । सामुदयिक विद्यालयमा गुणस्तरीय शिक्षाका लागि भएका प्रयास र भावी कार्यक्रम सम्बन्धमा हेटौंडामा अन्तत्र्रिmया भएको छ ।

क्षेत्रीय शिक्षा निर्देशनालय मध्यमाञ्चल हेटौंडा र जिल्ला शिक्षा कार्यालय मकवानपुरको संयुक्त आयोजनामा कार्यक्रम भएको हो । मध्यमाञ्चलका दश जिल्लाका उत्कृष्ट सामुदायिक विद्यालय, सम्बन्धित जिल्लाका शिक्षा कार्यालयले गरेका कामका विषयमा प्रस्तुतिकरण गरिएको थियो ।

सामुदायिक विद्यालयलाई रोजगारीको विषय बनाउन, विद्यालय र जिल्लामा गुणस्तरीय शिक्षा उपलब्ध गराउन गरिएका अभ्यास आदानप्रदान, अनुकरणीय अभ्यास पहिचान, गुणस्तरीय शिक्षाका लागि गर्नुपर्ने क्षेत्र पहिचान गर्ने उद्धेश्यसाथ कार्यक्रम गरिएको हो ।

कार्यक्रममा सामुदायिक विद्यालय भए पनि उत्कृष्ट भएर अध्यापन गराएका कारण जिल्ला र क्षेत्रमा उत्कृष्ट विद्यालयले प्रस्तुतिकरण गरेका थिए । मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशक दिनेशकुमार श्रेष्ठले विद्यालय नमूना बनाउन प्रधानाध्यापक, शिक्षक र अभिभावकको भूमिका हुनुपर्ने बताउनुभयो ।

मध्यमाञ्चलमा १४ हजार आधारभूत विद्यालय रहेको उहाँले बताउनुभयो । अझपनि एकदेखि पाँच कक्षासम्मका करिब २६ हजार विद्यार्थी विद्यालय बाहिर रहेकाले उनीहरुलाई विद्यालयमा सहभागी गराउनुपर्ने उहाँले बताउभयो ।

मकवानपुरका जिल्ला शिक्षा अधिकारी वीरेन्द्रजंग थापाले बिद्यालयमा टिकाउने, सिकाउने र बिकाउने शिक्षा अहिलेको आवश्यक्ता रहेको बताउनुभयो । शिक्षा मन्त्रालयका सहसचिब डा. हरि लम्साल, उपसचिव आनन्द पौडेल, शिक्षाविद् डा. विद्यानाथ कोइराला, क्षेत्रीय शिक्षा उपनिर्देशक कृष्ण घिमिरेलगायतले शिक्षाका आयामबारे मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा मकवानपुर, चितवन, बारा, पर्सा, रौतहट, धनुषा, ललितपुर, सिन्धुलीलगायत जिल्लाका उत्कृष्ट सामुदायिक विद्यालयका शिक्षक, प्रधानाध्यापक, सम्बन्धित जिल्लाका जिल्ला शिक्षा अधिकारी र विद्यालय निरीक्षकहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्