म्याग्दीमा स्थानीय तहको निर्वाचनको तयारी तीब्र



प्रताप बानियाँ, म्याग्दी । आगामी वैशाख ३१ गते हुन गैरहेको स्थानीय तहको निर्वाचनको तयारीलाई म्याग्दी जिल्लामा तीब्र पारिएको छ । स्वयंसेवक परिचालन, मतदाता शिक्षा कार्यक्रम सञ्चालन, मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनालगायत स्थानीय तहको निर्वाचनका लागि आवश्यक सबै तयारीलाई तिब्रता दिइएको हो ।

हालसम्म मतदाता विवरण अद्यावधिक, मतदानस्थल तथा मतदान केन्द्र निर्धारण, म्यादी प्रहरी भर्ना, नियुक्ति र तालिम, निर्वाचनमा खटाइने कर्मचारीको विवरण सङ्कलन र अद्यावधिक गरिएको जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ । म्याग्दीमा स्थानीय तहको निर्वाचनका लागि जम्मा ७२ ओटा मतदानस्थल र १०२ वटा मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले जानकारी दिनुभयो ।

निर्वाचन आयोगमार्फत प्राप्त सूचना र पछिल्लो जानकारीका विषयमा समेत जिल्लास्थित राजनीतिक दल, सरकारी अधिकारीलगायतसँग वैठक बसिएको उहाँले बताउनुभयो । उहाँका अनुसार यही वैशाख १६ गते उम्मेदवारहरुले आफ्नो उम्मेदवारी दर्ता गर्ने, सोही दिन उम्मेदवारको सूची प्रकाशन गरिने र १७ गते दावी विरोध दर्ता गर्ने चुनाबी कार्यतालिका रहेको छ ।

यसैगरी १८ गते मनोनयपत्रमाथी जाँचबुझ, सोही दिन उम्मेदवारको नामावली प्रकाशन र नामावली फिर्ता लिन पाउने, १९ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन र चुनाब चिह्न प्रदान एवं ३१ गते मतदानको कार्यक्रम तय भएको निर्वाचन अधिकारी पौडेलको भनाई छ ।
म्याग्दी जिल्लामा २०६८ सालको जनगणनाअनुसार १ लाख १३ हजार ६ सय ४१ कुल जनसङ्ख्या रहेको छ भने तीमध्ये १३ हजार विदेशमा रहेको तथ्याङ्क छ । स्थानीय तहको निर्वाचनका लागि कुल मतदाता ७१ हजार ४ सय ६३ जना रहेको निर्वाचन अधिकारी पौडेलले बताउनुभयो । तीमध्ये ३७ हजार ६ सय ७२ जना महिला र ३३ हजार ७ सय ९० पुरुष तथा १ जना तेस्रोलिङ्गी मतदाता रहेको उहाँको भनाई छ । २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा कुल ५६ हजार ५ सय ५३ मतदाता थिएभने ४१ हजार १ सय ९६ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्