“कांग्रेसलाई अन्तरघातको डर”



धन बस्नेत, पोखरा

स्थानीय निर्वाचनबाट पनि पहिलो पार्टी बन्ने दाबी गर्दै आएको नेपाली कांग्रेसलाई आफ्नैबाट अन्तरघात हुने डर रहेको छ। गत संविधानसभाको निर्वाचनमा कांग्रेस जित्ने आधार प्रशस्त हँुदाहुँदै पनि अन्तरघातकै कारण कतिपय क्षेत्रमा पराजित भएको थियो।

वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा अन्तरघात हुने सम्भावनालाई न्यूनीकरण गर्न गाउँ क्षेत्र र जिल्ला तहसम्मलाई उम्मेदवार छनोटको जिम्मेवारी दिइएको छ। तर, केन्द्रदेखि गाउँ तहसम्म नै गुटउपगुटमा कायम रहेकाले उम्मेदवार छनोटमा जताततै गुटगत रस्साकस्सी भइरहेको छ। कांग्रेसभित्र मुख्य गरी सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्ष गुटगत रूपमा लागेका छन्।

साथै ठाउँठाउँमा अन्य शीर्ष नेताहरूको छुट्टै उपगुट पनि छ। काठमाडौंमा नेता प्रकाशमान सिंहको पक्ष बढी हाबी हुनु उपगुटको एउटा उदाहरण हो।

कांग्रेसभित्र अन्तरघात गर्नेलाई कारबाही गर्ने निकाय केन्द्रीय अनुशासन समिति पनि विवादित बनेको छ। पार्टीभित्र प्रोटोकलको कुरा नमिलेको भन्दै केन्द्रीय अनुशासन समितिका संयोजक गोपालमान श्रेष्ठले पार्टीको निर्णय स्वीकार गर्नुभएको छैन। पार्टीको आचारसंहिता पालना गराउन र अनुशासन कायम राख्न विधानअनुसार गठन गरिएको यो समितिले पार्टी अनुशासन उल्लंघन गर्ने सदस्य र पदाधिकारीहरूलाई ६ महिनासम्म निलम्बन तथा तीन वर्षसम्म निष्कासन गर्ने अधिकार रहन्छ।

‘उम्मेदवार छनोटमा मेरो तेरो भनेर विवाद गर्न थाल्यौं भने जितिने चुनाव पनि हारिन्छ’, केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडु भन्नुहुन्छ–गुटगत राजनीति छोडेर सक्षम, मतदाताभित्र लोकप्रिय व्यक्तिलाई उम्मेदवार बनाउनुपर्छ।’ यो स्थानीय तहमा स्थानीय स्तरमै उम्मेदवार छनोटको जिम्मेवारी दिएकाले विवादरहित उम्मेदवार चयन हुने र अन्तरघातको सम्भावना नहुने भन्दै उहाँ थप्नुहुन्छ–स्थानीय तहको निर्वाचनले अन्य दुई तहको निर्वाचनलाई प्रभाव पार्ने भएकाले कांग्रेस एकढिक्का भएर अघि बढ्नुपर्छ।’ स्थानीय उम्मेदवार छनोट गर्दा नेताको नाता र दाताभन्दा जनप्रिय छनोट गर्नुपर्ने उहाँको भनाइ थियो।

आम कार्यकर्तालाई स्थानीय निर्वाचनमा एकढिक्का भएर अघि बढेको सन्देश दिन सभापति देउवाले नेता रामचन्द्र पौडेललाई चुनावी अभियानको संयोजक र उहाँ निकट महेश आचार्यलाई घोषणापत्र तयारी समितिको संयोजकको जिम्मेवारी दिएका छन्। चुनावी प्रचारप्रसारलाई तीव्रता दिन आयोजित प्रदेश स्तरीय आमसभामा संबोधन गर्न पनि शीर्ष नेताहरू सबै एकताबद्ध भएर जाने र एकढिक्का भएको सन्देश दिने रणनीति तय गरेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।

स्थानीय तहको निर्वाचन अब एक महिना बाँकी छ। महिना दिन बाँकी रहँदा पोखरा लेखनाथ महानगरपालिकाको मेयर बन्ने चाहना धेरैले राखेका छन्। धेरैले चाहना राख्दा नेपाली कांग्रेसलाई योग्य उम्मेदवार छान्न कठिन बनेको छ। यद्यपि केन्द्रीय नेताहरूले भने पोखरामा बुधबार जिल्ला तहबाटै अधिकतम सहमति गरेर मेयर÷उपमेयरको नाम सिफारिस गर्न सुझाव दिएका छन्।
‘तपाईंको ठाउँ तपार्इंकै नेताले बनाउने हो। हामीलाई केही जानकारी हँुदैन। को योग्य छ, को छैन्। त्यसैले अधिकमत सहमति गरी नाम सिफारिस गरेर पठाउनोस्।’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश नं ४ कांग्रेस आमसभालाई सम्बोधन गर्दै भने–योग्य उम्मेदवार पठाउनुभएन भने हार हुन्छ। मैले पाइनँ भनेर सहयोग गर्दिन भन्ने मानसिकता त्यागेर छलफल गरेर मात्रै नाम सिफारिस हुनुपर्छ। उम्मेदवारले पनि सबैलाई साथमा लिएर हिँड्नुपर्छ।’ नेपाली कांग्रेसभित्र यति बेला एक दर्जनभन्दा बढीले मेयरको उम्मेदवार बन्ने चाहना राखेका छन्। व्यक्तिगत लबिङमा जुटिरहेका छन्।

सभापति देउवाले मधेसवादी र पहाडीवादको नारा दिई देशलाई टुक्र्याउने षड्यन्त्र भइरहेको भन्दै सबै जनजाति आदिवासी, पहाडी मधसीबीच मेलमिलापको खाँचो औंल्याए।राष्ट्रिय एकताका लागि सबै जातजातिबीच मेलमिलापको आवश्यकता छ’, उनले भने–बहुदलीय प्रजातन्त्रको आधार नै चुनाव हो। त्यसैले सबै जातजातिबीच मेलमिलाप गर्दै कांग्रेसलाई जिताउन जरुरी छ।’ उनले कांग्रेसले जितेको अवस्थामा वृद्धभत्ता दुईगुना वृद्धि गर्ने प्रतिबद्धता समेत गरे।

वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसलाई कांग्रेसले नै हराउने त्रास रहेको उल्लेख गर्दै जो पायो त्यही उम्मेदवार हुन नहुने स्पष्ट पारे।जो पायो त्यही उम्मेदवार हुन्छु भनेर हँुदैन। जित्नेलाई दिनुपर्छ। त्यो काम जिल्लामा छलफल गरेर पठाउनुपर्छ’, उनले भने–नत्र कांगे्रसलाई कांग्रेसले नै हराउँछ। अरूसँग डर छैन।’
उनले मधेसी मोर्चाले चुनावलाई स्वीकार नगरे संघीयता र गणतन्त्र खतरामा पर्ने भन्दै चुनावमा सहभागी हुने आग्रह गरे।देशलाई निकास दिनुपर्ने बेला हो। सबैले मिलेर निकास दिनुपर्छ’, उनले भने–निकास दिन सकिएन भने यो पुस्ता अयोग्य ठहर्छ।’ केही साता अघि मात्रै नेकपा एमालेका अध्यक्ष केपी ओलीले दिएको अभिव्यक्तिको खरो विरोध गर्दै नेता पौडेलले थपे–बाह्रसिंगे झाडीलाई छिचोलेर आइपुगेको छ।’
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कांग्रेसभित्रको अन्तरघातले चुनावमा असर पुयाउन सक्ने संकेत गरे।चुनावमा अन्तरघातको समस्या देखिएको छ’, उनले भने–अन्तरघात गर्नेलाई पार्टी निष्कासनसहितको कारबाही गर्नुपर्छ।’ चुनावमा कांग्रेस जीवनमरणको अवस्थामा रहेको उल्लेख गर्दै अन्तरघातबाट मुक्त हुनेतर्फ संवेदनशील भएर सोच्नुपर्ने उनको भनाइ थियो। अर्का नेता गोपालमान श्रेष्ठले जनतामा चुनावी जागरण हुनु स्वाभाविक भएको उल्लेख गर्दै चुनावलाई अब कुनै शक्तिले रोक्न नसक्ने स्पष्ट पारे। सभामा गृह तथा उपप्रधामन्त्री विमलेन्द्र निधि, नेता कृष्णप्रसाद सिटौला, नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतलगायतले सम्बोधन गरेका थिए। विभिन्न ठाउँमा यालीसहित निस्किएको जुलुस चिप्लेढुंगामा पुगेर चुनावी सभामा परिणत भएको थियो।

कांग्रेसको गत वर्ष सम्पन्न १३औं महाधिवेशनबाट नेतृत्वमा पुग्ने नेताहरूले यसअघि आन्तरिक रूपमा भरहेको ६०÷४० को भागवण्डा र गुटबन्दीको अन्त्य गर्ने भने पनि अझै भागवण्डा र गुटबन्दीको अन्त्य नभएको भन्दै कांग्रेस नेता रामहरि खतिवडाले गुटबन्दीका कारण यो स्थानीय निर्वाचनमा कांग्रेस पराजित भए कहिल्यै माथि उठ्न नसक्ने बताउनुभएको छ।

स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोट गर्दा तेरो र मेरो मान्छेभन्दा पनि राम्रो र हाम्रो मान्छे छान्नुपर्ने उहाँको भनाइ छ। कांग्रेसभित्र पार्टीलाई परिवार सम्झनेभन्दा पनि परिवारलाई पार्टी सम्झने नेताहरू धेरै भएको भन्दै नेता खतिवडाले स्थानीय निर्वाचनका लागि आकांक्षी उम्मेदवार धेरै भए पनि टिकट नपाउनेले टिकट पाउनेलाई आफूभन्दा सक्षम र जनप्रिय भएकाले ठीकै छ भन्ने महसुस हुने गरी उम्मेदवार छनोट गरे अन्तरघात न्यूनीकरण हुने बताउनुभएको छ।

प्रतिक्रिया दिनुहोस्