चर्चमा बम आक्तमणकारीको पहिचान



कायरो, (एजेन्सी)
इजिप्टको एलेक्जान्ड्रियास्थित सेन्ट मार्कस चर्चमा केही दिनअघि बम विस्फोट गराउनेको व्यक्तिको पहिचान भएको गृह मन्त्रालयले बिहीबार जनाएको छ।

गत आइतबार गराइएको सो विस्फोटनमा एघार जना इसाई र छ जना मुस्लिम प्रहरी अधिकृतसहित कम्तीमा सत्र जना व्यक्ति मारिएका थिए।

गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा सुएज शहरका मोहम्मद हसन मुवारक नामक व्यक्तिले विस्फोट गराएको जनाइएको छ।

सन् १९८७ को २८ सेप्टेम्बरमा माथिल्लो इजिप्टको क्वेना शहरमा जन्मिएका मुवारक एउटा पेट्रोलियम कम्पनीमा काम गर्ने गरेको बताइएको छ। आइतबार इजिप्टका दुई ठाउँमा बम विस्फोटन गराइएको थियो।

एलेक्जान्ड्रियाबाहेक टान्टामा पनि विस्फोट भएको थियो। दुवै विस्फोटमा परी मृत्यु हुनेको संख्या ४५ पुगेको छ भने अन्य १ सय २० जनाभन्दा बढी घाइते भएका थिए।

‘पाम सन्डे’ नामक पर्व मनाइरहेका बेला राजधानी कायरोनजिकै रहेका दुईवटा चर्चमा बम विस्फोट गराइएको थियो।

इस्लामिक स्टेट (आईएस)का लडाकूहरूले सामाजिक सञ्जालबाट वत्तःव्य सार्वजनिक गर्दै आफ्ना दुई जना आत्मघाती हमलाकारीले बम विस्फोटन गराएको दाबी गरेको थियो।

ठूलो मानवीय क्षति हुने गरी भएको उत्तः विस्फोटनपछि राष्ट्रपति अब्दुल फताह अल सीसीले इजिप्टमा तीन महिनाका लागि संकटकालको घोषणा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्