प्रदर्शनकारीका बीचमा मुस्कुराएकी युवतीको तस्वीर भाइरल



लन्डन, (एजेन्सी)
कट्टरपन्थी समूह इंग्लिस डिफेन्स लिग (ईडीएल)का सदस्यहरुको माझमा मुस्कुराउँदै निर्भिक उभिएकी एक बेलायती मुस्लिम युवतीको तस्वीर भाइरल भएको छ।

साफिया खानले आफ्नो उक्त तस्वीर बर्मिङ्गममा ती प्रदर्शनकारीहरुले घेरिएका एक युवतीलाई सहयोग गर्न उनीहरुको बीचमा पुग्दा खिचेको बीबीसीलाई बताइन्। शनिबार भएको उक्त प्रदर्शनका क्रममा प्रेस एसोसिएसनका फोटोग्राफरले लिएको उक्त तस्वीर सामाजिक सन्जालमा हजारौं पटक सेयर भइसकेको छ।

आफूले एक युवती २५ जनाजति प्रदर्शनकारीले घेरिएको देखेपछि उनीहरुको बीचमा जानबाट आफूलाई रोक्न नसकेको साफियाले बताइन्। उनले भनिन्– ‘मलाई आफ्नो सहरमा कोही पनि यसरी घेरिएको मन पर्दैन।’

साफियाले आफू कुनै प्रदर्शनको हिस्सा नभएको र तस्वीरलाई हजारौंले रिट्विट गरेकोमा चकित भएको बताइन्। शुरूमा उनलाई प्रदर्शनसँग कुनै मतलब नभएको तर त्यही बेला एकजना अर्को महिला ईडीएल प्रदर्शनकारीसँग इस्लाम विरोधी भन्दै चिच्याएको उनले बताइन्।

उनले भनिन्– ‘ईडीएलका करिब २५ प्रदर्शनकारीले ती महिलालाई चारै तर्फबाट घेरे। त्यसपछि म अगाडि बढें, मैले आफू ती महिलाको समर्थक भएको बताएँ र उनीहरुको विरोध गरें।’ त्यसपछि प्रदर्शनकारीहरु पनि साफिया खानको वरपर जम्मा भए। जुनबेला प्रदर्शनकारीहरु उग्र भइरहेका थिए, साफिया खल्तीमा हात हालेर मुस्कुराइरहेकी थिइन्।
प्रेस एसोसिएसनका फोटो पत्रकारले उक्त सिनलाई क्यामरामा कैद गरे। खानले आफूलाई एकरति पनि डर नलागेको बताइन्। साफियाको उक्त तस्वीरलाई पियर्स मोर्गनले सप्ताहकै उत्कृष्ट तस्वीर भएको बताउँदै ट्विट गरे। बर्मिङ्गमका सांसद जेस फिलिप्सले पनि उक्त तस्वीरलाई सामाजिक सन्जालमा साझा गरे। उक्त घटनालाई लिएर ईडीएलका तर्फबाट कुनै प्रतिक्रिया दिइएको छैन।

प्रतिक्रिया दिनुहोस्