रासायनिक हमलाका लागि रुस जिम्मेवारः टिलरसन क्षेप्यास्त्र आक्रमणपछि पनि अमेरिकी दबाब कायम



रोम, (एजेन्सी)
अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले सिरियामा विद्रोही ठेगानमा भएको रासायनिक हमलाका लागि रुस जिम्मेवार ठहर्याएका छन्।

उनले रुस सिरियामा रासायनिक भण्डार समाप्त पार्नमा सहमत भएको तर रुस त्यस्तो गर्न असफल भएकाले हालैको रासायनिक हमलाका रूपमा अगाडि प्रकट भएको बताए।

समूह ७ सदस्य देशका विदेश मन्त्रीहरु सोमबार इटालीमा भेला भइरहेका छन्। उक्त बैठकमा रुसी सरकारलाई सिरियाली राष्ट्रपति बसर अल असदबाट दूरी बनाइराख्न कसरी दबाब राख्न सकिन्छ भन्ने विषयमा छलफल हुने जनाइएको छ।

बैठकमा लिबिया, इरान र युक्रेनप्रति अमेरिकाले गरिरहेको व्यवहार र ती देशमा भइरहेको द्वन्द्वका बारेमा पनि छलफल हुने बताइएको छ। जी सेभेनको बैठकका लागि अमेरिका, बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटली र जापानका विदेश मन्त्रीहरु इटली पुगेका छन्। इटलीको लुका शहरमा बैठक उक्त बैठक हुने छ।

उक्त बैठकपछि टिलरसन मंगबार मस्को पुगेर रुसी विदेशमन्त्री सेर्गेइ लाभरोवसँग भेटवार्ता गर्नेछ। सिरियाका सहयोगी देश रुसले सन् २०१३ मा सिरियाको रासायनिक हतियार भण्डार नष्ट गर्नका लागि सम्झौता गराएको टिलरसनले बताए। तर त्यस्तो नहुँदा निर्दोष बालबालिकाको ज्यान गएको उनले थपे। सिरियामा भएको संदिग्ध रासायनिक हमलामा ८९ जनाको ज्यान गएको थियो।

थप प्रतिबन्ध
सिरियाको एउटा हवाई अड्डामा क्षेप्यास्त्र हमलापछि अमेरिकाले उसमाथि थप दबाब बनाइराख्न कदम शुरू गरेको छ। ट्रम्प प्रशासनले सिरियामा थुप्रै प्रतिबन्ध पनि लगाएको छ। यसैबीच पेन्टानगनले सिरियामा भएको पछिल्लो रासायनिक हमलामा रुसको हात छ वा छैन भन्ने विषयमा जाँच शुरू गरेको छ।

अमेरिकाले अप्रिल ७ मा भूमध्य सागरबाट सिरियाको अल सयारात हवाई अड्डालाई निसाना बनाउँदै ५९ टमहक क्रुज क्षेप्यास्त्र प्रहार गरेको थियो।सिरियामाथि भएको उक्त कारबाहीलाई लिएर धेरैजसो मुलुकले अमेरिकाको समर्थन गरेको छ। अमेरिकाको उक्त आक्रमणमा ९ जनाको मृत्यु भएको थियो। यद्यपि रुसले शनिबार नै उसका तर्फबाट अमेरिकासँगको सम्बन्ध अन्त्य भएको प्रस्ट पारेको थियो।
रुस र इरानको कडा चेतावनी
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दिएको पछिल्लो प्रतिक्रियामा यदि फेरि आक्रमण भएमा रुसको सामना गर्नुपर्ने चेतावनी दिएका छन्। रुसी प्रधानमन्त्री दिमित्री भेदभेदेवले प्रस्टरूपमा रुसको अमेरिकासँगको सम्बन्ध करिब करिब अन्त्य भएको बताएका थिए।

अमेरिकी आक्रमणको कडा निन्दा गरिरहेका इरान र रुसले अमेरिकाले रेडलाइन क्रस गरेको बताए। सिरियाका ती दुई सहयोगी देशले जारी गरेको संयुक्त विज्ञप्तिमा अमेरिकालाई उक्त युद्धग्रस्त राष्ट्रमा थप हमला नगर्न चेतावनी दिएको छ।

अमेरिकाले सिरियामा आक्रमण गरेर रेड लाइन क्रस गरेको र अब अमेरिकालगायत कुनै पनि देशबाट सिरियामाथि आक्रमण भएमा उनीहरुबाट त्यसको जवाफ पाउने विज्ञप्तिमा उल्लेख गरिएको छ।

अमेरिका र रुसबीचको सम्बन्ध कुन स्तरको छ, यो अर्को हप्ता तय हुनेछ। अमेरिकी विदेशमन्त्री रेक्स टिलरसन रुसको भ्रमणमा जाने तयारीमा छन्। सरकार बनेपछि रुसको भ्रमण गर्ने ट्रम्पको क्याबिनेटका उनी पहिलो सदस्य हुनेछ।

टिलरसनले आफ्नो आसन्न रुस भ्रमणको बेला विकसित पछिल्लो घटनाक्रमलाई लिएर भने– ‘रुससँग हामीमाथि जवाफी कारबाही गर्ने कुनै तुक छ भन्ने मलाई लाग्दैन। उसले असद सरकारलाई साथ दिइरहेको छ। यो अर्थमा उसले सिरियाली नागरिकमाथि हमला गर्नमा सिरियालाई साथ दिइरहेको छ।’

यद्यपि रुसले ती आरोपलाई अस्वीकार गरेको छ। एक टेलिभिजन अन्तर्वार्ता ‘फेस द नेसन’मा टिलरसनले अमेरिकाको हमलामा रुसलाई निसाना नबनाइएको बताए। उनले भने– ‘क्षेत्रमा हाम्रो उद्देश्यमा कुनै परिवर्तन भएको छैन। आईएसआईएसलाई नहराएसम्म हामी लड्छौं।’

यसैबीच बेलायती विदेशमन्त्री बोरिस जोन्सनले आफ्नो रुस यात्रा रद्द गरेका छन्। बदलिँदो घटनाक्रमलाई ध्यानमा राखी आफूले रुस भ्रमण रद्द गरेको जानकारी दिए। उनले भने– ‘टिलरसन रुसलाई स्पष्ट भाषामा सन्देश दिन सक्षम हुनेछ।’ राष्ट्रसंघमा रुसका सहायकदूत भ्लादिमिर सेफ्रोनकोवले भने– ‘हामी अमेरिकी हमलाको कडा निन्दा गर्छौं। क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्थायीत्व कायम राख्नका लागि यसको गम्भीर नतिजा ल्याउनेछ।’

सेफ्रान्कोवले सिरियामा एक सरकारलाई निकालेर फ्याँक्ने प्रयासमा लागेका अमेरिकासहित बेलायत र फ्रान्सको पनि आलोचना गरेको छ। उनले भने– ‘तपाईंहरु रुसविरुद्ध अनप्रोफेसनल आरोप लगाउन बन्द गर्नुपर्छ। यसलाई कुनै पनि हालतमा कूटनीतिक भन्न सकिँदैन। अरबमा लड्ने प्रयास नगर्न म चेतावनी पनि दिन चाहन्छु। यसबाट कसैलाई केही पनि हासिल हुने छैन। अरब मुलुकले तपाईंहरुको पाखन्डलाई चिनेको छ। अमेरिकाले आफ्नो कारबाही तत्काल बन्द गर्नु नै राम्रो हुनेछ।’

यसैबीच राष्ट्रसंघमा अमेरिकी राजदूत निक्की हेले भने– ‘अमेरिकाले हमला नियमअनुसार नै गरेको छ। हामी थप हमलाका लागि पनि तयार छौं। हाम्रो सेनाले त्यो हवाई अड्डालाई ध्वस्त पारेको हो जहाँबाट रासायनिक आक्रमण सञ्चालन गरिएको थियो। हामीले धेरै सोचेर यो कदम उठाएका थियौं। भविष्यमा पनि हमलाका लागि हाम्रो तयारी पूरा छ, तर के अपेक्षा गरिएको छ भने, यसको आवश्यक हुनेछैन।’

‘असदलाई मानवतालाई नोक्सान पुरर्याउनका लागि त्यतिकै छोड्न सक्दैन। अब यो बोल्ने मात्र समय होइन, धेरै भइसक्यो। अब एक्सन लिनुपर्छ।’ –उनले थपे। अमेरिकी क्षेप्यास्त्र हमलालाई लिएर विश्व विभाजित रहेको छ। बेलायत अस्ट्रेलिया, जर्मनी, टर्की, जोर्डन, सउदी अरेबिया, इटाली, जापान, नेदरल्यान्ड, न्युजिल्यान्ड, इजरायल, स्पेनले अमेरिकी कारबाहीको समर्थन गरेको छ। उनीहरु सबै असदका विरोधी हुन्।

प्रतिक्रिया दिनुहोस्