स्थानीय तहको निर्वाचन देशभर एकै चरणमा गर्नुपर्छ ः बिजुक्छे



नेपाल समाचारपत्र
भक्तपुर
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले स्थानीय तहको निर्वाचन देशभर एकै चरणमा गर्नुपर्ने बताउनुभएको छ। नेपाल प्राध्यापक समाजको प्रथम राष्ट्रिय भेलालाई शनिबार भक्तपुरको ठिमीमा सम्बोधन गर्दै अध्यक्ष बिजुक्छेले निर्वाचन दुई चरणमा गर्ने कुरा निर्वाचन नगराउने षडयन्त्र भएको बताउनुभयो।

उहाँले देशभर एकैपटक आगामी बैशाख ३१ गते स्थानीय तहको निर्वाचन हुने घोषणा गरिने तयारी भइसकेको बताउँदै दुई चरणमा निर्वाचन गर्ने कुरा आत्मसमर्पणवादी सोचको परिणाम भएको उल्लेख गर्नुभयो। संविधान निर्माणलगायत नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरी विदेशीले नेपालको शान्ति एवं विकासमा अवरोध गर्दै आएको बताउँदै उहाँले मधेश केन्द्रित दलको इसारामा निर्वाचनको मिति सार्न नहुने बताउनुभयो। मधेश केन्द्रित दलको माग बमोजिम सरकारले काम गर्दै गए देशमा अस्थिरता जारी रहने उहाँको भनाइ थियो।

स्थानीय निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार चयनका लागि पार्टीको स्थानीयस्तरलाई नै अधिकार दिइएको बताउँदै अध्यक्ष बिजुक्छेले जिल्ला समितिको सिफारिसअनुसार पार्टी केन्द्रीय सचिवालयले उम्मेदवारको अन्तिम नामावली छनोट गर्ने बताउनुभयो।अध्यक्ष बिजुक्छेले संविधान संशोधनको क्रममा ठूला दलहरूले प्रजातान्त्रिक मूल्य र मान्यताविरोधी थ्रेसहोल्डको व्यवस्था गरेको बताउनुभयो। उहाँले बलियो प्रतिपक्षको अभावमा कुनै पनि देशमा प्रजातान्त्रिक व्यवस्थाको विकास हुन नसक्ने प्रष्ट पार्दै नेपकिपाले थे्रसहोल्डलाई नमान्ने बताउनुभयो।

उहाँले भन्नुभयो( समानुपातिक निर्वाचनमा तीन प्रतिशत मत र प्रत्यक्ष निर्वाचनमा एक स्थान जितेकोलाई राष्ट्रिय दलको मान्यता दिने प्रावधान अप्रजातान्त्रिक छ, यसलाई नेमकिपाले सिद्वान्त र व्यवहार दुबै ढंगले मान्दैन,यो काँचो धागो मात्र हो।

नेपाली कांग्रेस, एमाले र माओवादी (केन्द्र)ले यही चैत ९ गते पारित गरेको राजनीतिक दलसम्बन्धी विधेयकमा ल्याइएको थे्रसहोल्डको प्रावधान अप्रजातान्त्रिक भएको उहाँंले बताउनुभयो। पछिल्लो समयमा ठूला दलका नेताका कारण नेपालको राजनीतिक क्षेत्र विकृत बन्दै गएको बताउँदै संसदलाई प्राज्ञिक थलोको रुपमा बिकास गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा सांसद प्रेम सुवालले हालसम्मका सबै सरकार विदेशीको इसारामा चलेको बताउँदै कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाको नाम फरक भए पनि कार्यशैली एउटै भएको बताउनुभयो। सो अवसरमा प्राध्यापकद्वय माणिकलाल श्रेष्ठ र पृथुचरण बैद्य ,पत्रकार समाजका अध्यक्ष लक्ष्मण जोशीलगायतले आदर्श समाज निर्माणमा प्राध्यापकको भूमिका महवपूर्ण रहेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्