सिरियाली हवाइ अड्डामा अमेरिकी आक्रमण



५९ टमहक क्रुज क्षेप्यास्त्र प्रहार, रुसद्वारा अमेरिकासँगको हटलाइन सम्पर्क बन्द
वासिङ्टन, (एजेन्सी)

अमेरिकाले सिरियाको एउटा हवाइ अड्डालाई निसाना बनाई गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तिमा ६ जनाको मृत्यु भएको जनाइएको छ। सिरियाको विद्रोही नियन्त्रित इदलिबमा हालै गरेको रसायनिक आक्रमणपछि अमेरिकाले उक्त कदम उठाएको हो।

पेन्टागनका एक अधिकारीले सिरियाको उक्त हवाइ अड्डामा ५९ टमहम क्रुज क्षेप्यास्त्र प्रहार गरिएको जानकारी दिएकोछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त आक्रमणपछि टेलिभिजन सम्बोधनमा सिरियाका राष्ट्रपति बल अल असद एक तानाशाह भएको र उनले निर्दोष नागरिकहरूमाथि रसायनिक हतियार प्रयोग गरेको बताए

उनले भने– ‘म विश्वका सबै सभ्य देशलाई आह्वान गर्छु, सिरियामा चलिरहेको रक्तपातपूर्ण संघर्ष र आतंकवादको अन्त्य गर्न अमेरिकालाई सहयोग गरुन्। यसअघि ट्रम्पले सिरियाको नेतृत्वलाई केही गर्नुपर्ने चेतावनी दिएका थिए। ह्वाइट हाउसका प्रवक्ताले अमेरिकी हमला विगत दिनमा सिरियामा विद्रोही नियन्त्रित इलाकामा भएको रसायनिक हमलासँग सम्बद्ध भएको प्रष्ट पारेका छन्।

पेन्टागनले अमेरिकी आक्रमणका बारेमा रुसलाई अग्रीम सूचना दिएको जनाएको छ। रुसले सिरियाली गृहयुद्धमा असदको सेनालाई मद्दत गर्दै आइरहेको छ।

मंगलबार सिरियाले इदलिबको खान सैखौनमा नर्भ ग्यासको प्रयोग भएको थियो। उक्त आक्रमणमा २७ जना बालबालिका र १७ महिलासहित ८४ जनाको मृत्यु भएको थियो। संचार माध्यमहरूले प्रसारण गरेको भिडियो फुटेजमा खान सैखौनका सडकमा बालबालिका तथा वयस्कहरू मृत अवस्थामा लडिरकेको र केही भने स्वास लिन छटपटाइरहेको देखिन्थ्यो। उक्त घटनालाई लिएर अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले भविष्यको सिरियामा वर्तमान राष्ट्रपति बसर अल असदको कुनै भूमिका हुनुनहुने बताएका थिए।

सिरियाविरुद्ध सम्भावित अभियानलाई लिएर पछिल्ला केही समय ह्वाइट हाउस र पेन्टागनबीच विस्तृत छलफल भएको थियो। उक्त छलफलपछि अमेरिकी क्षेप्यास्त्रले सायरत हवाइ अड्डालाई निसाना बनाएका थिए। सिरियाका विद्रोही विरुद्ध हालै भएको रसायनिक आक्रमण गर्नमा उक्त हवाइ अड्डाको प्रयोग भएको अमेरिकी ठहर छ।

विद्रोहीद्वारा स्वागत
अमेरिकाले शुक्रबार गरेको क्षेप्यास्त्र आक्रमणको सिरियाका विद्रोहीले स्वागत गरेका छन्। अहिले भएको यो आक्रमण नै पर्याप्त नभएको बताउँदै थप आक्रमण गर्न विद्रोहीले अमेरिकालाई आह्वान गरेका छन्।

सिरियाली द्वन्द्वको ६ वर्ष लामो अवधिमा भएको पहिलो अमेरिकी आक्रमण हो।

यो एउटा हवाइ आक्रमण मात्रै पर्याप्त छैन, जनतालाई निसाना बनाएर यहाँ २६ ओटा हवाइ आक्रमण भएको छ, आर्मी अफ इस्लाम फ्रयाक्सनका एकजना प्रमुख मोहम्मद अलौसले ट्विटरमा लेखेका छन्। राष्ट्रपति असर अल असदको शासनबाट सिरियाली जनतालाई मुक्त गर्न सम्पूर्ण विश्व लाग्नुपर्ने उनले बताए।

अन्य विद्रोही समूहले पनि अमेरिकी आक्रमणको स्वागत गर्दै सिरियाली शासकविरुद्ध यस्ता आक्रमणलाई अझ ब्यापक बनाउनुपर्ने बताएका छन्। सिरियाली शासकविरुद्ध आक्रोसित हुने क्रममा अमेरिकाले ५९ टमहक क्रुज क्षेप्यास्त्र प्रहार गरेको हो। यसैबीच फ्रान्सका राष्ट्रपति फ्रान्स्वाँ होलान्डले सिरियामा भएको रसायनिक आक्रमणका लागि त्यहाँका राष्ट्रपति असद जिम्मेवार भएको आरोप लगाएको छ।

रुसद्वारा आक्रमणको कडा निन्दा
रुसी सरकारले सिरियाली हवाइ अड्डामा भएको अमेरिकी क्षेप्यास्त्र आक्रमणको निन्दा गर्दै वासिङटनको उक्त कार्यले अमेरिका रुस सम्बन्धमा ठूलो क्षति पुगेको बताएको रुसी समाचार एजेन्सीले जनाएको छ।

यसबीच सिरियामा रहेका अमेरिकीसँगको हटलाइनलाई रुसले बन्द गरेको छ। यसले यी दुई आणविक महाशक्ति राष्टबीच कुनै पनि बेला सैन्य मुठभड हुन सक्ने स्थिति उत्पन्न भएको छ।

अमेरिकी क्षेप्यास्त्र आक्रमणलाई लिएर पहिलो सार्वजनिक प्रतिक्रियामा वासिङ्टनको कदम एउटा सार्वभौम सत्ता सम्पन्न मुलकविरुद्ध आक्रमक रवैया भएको र यसले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको उल्लेख गरेको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता डिमिट्री पेस्काबले उक्त क्षेप्यास्त्र आक्रमणले आईएसआईएललाई परास्त गर्ने अन्तर्राष्ट्रिय गठबन्धन निर्माणमा गम्भिर अवरोध खडा गरेको बताए। उक्त आक्रमण अमेरिकी नेतृत्व गठबन्धनले गत महिना मोसुलमा भएको शृंखलाबद्ध हवाइ आक्रमणमा कयौं नागरिक मारिएकाको घटनाबाट विश्वको ध्यान अन्त मोड्नका लागि भएको रुसको धारण रहेको उनले बताए।

‘पुटिनको विचारमा सिरियामाथि अमेरिकी आक्रमण अन्तर्राष्ट्रिय कानुन र मान्यताका उल्लंघन हुने गरी एउटा सार्वभौमसम्पन्न राज्यविरुद्ध भएको आक्रमण हो’–पेस्कोबले बताए।

त्यसै गरी सिरियाले अमेरिकी आक्रमणको कडा भत्सर्ना गरेको छ। आक्रमणमा परी अहिलेसम्म ६ जना सिरियाली सैनिक मारिएको सिरियाको सरकारी सेनाले दाबी गरेको छ। सिरियाको सरकारी टेलिभिजनले अमेरिकी आक्रमणलाई अमेरिकी उदण्डताको संज्ञा दिएको छ।

रुसी ड्रोनले खिचेको क्षेप्यास्त्र प्रहार भएको हवाइ अड्डाको दृष्य रुसी संचार माध्यमले प्रसारण गरेको छ। आक्रमणमा केही विमान र धावनमार्गमा क्षति पुगेको देखिएको छ।

प्रतिक्रिया दिनुहोस्