गोरखामा कसले पाउला मेयरको टिकट ?



सन्तोष अधिकारी, गोरखा

सरकारले आगामी वैशाख ३१ गते स्थानीय निर्वाचनको मिति तोकेसँगै जिल्लाका सबै राजनीतिक दलहरू आफ्नो पक्षमा जनमत ल्याउन निर्वाचन केन्द्रित कार्यक्रममा व्यस्त छन्। सबै राजनीतिक दलहरू जिल्लाको दुई नगर र नौ गाउँपालिकाका विभिन्न क्षेत्रमा कार्यक्रम गर्न व्यस्त भएका हुन्।

करिब २० वर्षपछि हुन लागेको स्थानीय निकायको निर्वाचनले नगर तथा गाउँपालिकाको नेतृत्व सम्हाल्छु भन्नेहरू पनि उत्तिकै छन्। गोरखामा निर्वाचनका लागि १६ दल जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका छन्। दलको संख्या धेरै भए पनि प्रतिस्पर्धामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र रहनेछन्। यिनीहरूको मतपरिणाममा प्रभाव पार्ने नयाँ शक्ति र राप्रपा नेपाल पनि उत्तिकै छन्।

गोरखा नगरपालिका
जिल्लाको सदरमुकामसमेत रहेको गोरखा नगरपालिकामा चुनावी सरगर्मी बढेको छ। सबै दलहरू चुनावी प्रचारमा लागेका छन्। नेपाली कांग्रेसले गोरखा नगरपालिकाको हरेक वडामा कार्यक्रम गर्ने कार्ययोजनाअनुसार कार्यक्रमहरूलाई तीव्रता दिएको छ। कांग्रेसबाट गोरखा नगरपालिकाको मेयरको उम्मेदवारमा राजनराज पन्त र धिरन थापाको नाम चर्चा छ। पन्त निवर्तमान नगर सभापति हुन् भने थापा सोही क्षेत्रको क्षेत्रीय सभापति हुन्। गोरखा नगरपालिको उम्मेदवार टुंग्याउने विषयमा कांग्रेसमा सहमति हुन नसक्ने स्थिति छ।

एमालेले पनि अहिलेसम्म कसलाई मेयरको उम्मेदवारको टिकट दिने भनेर निर्णय लिन सकेको छैन। एमालेमा पनि चार जनाको चर्चा छ। एमालेका वैकल्पिक केन्द्रीय सदस्य रामशरण बस्नेत, २०५४ सालको निर्वाचनमा गोरखा नगरपालिकाको मेयर भइसकेका विश्वेश्वर कट्टेल, हालका जिल्ला उपाध्यक्ष यादव बस्नेत र महिला नेतृ सम्झना देवकोटाको चर्चा छ।

नेकपा माओवादी केन्द्रमा पनि गोरखा नगरपालिकाको मेयरको विषयमा विवाद देखिएको छ। अहिले माओवादी केन्द्रबाट जिल्ला अध्यक्ष लेखबहादुर थापा, गोरखा नगर इन्चार्ज कृष्णबहादुर राना, पूर्वसभासद् परशुराम रम्तेल, महिला नेतृहरू कमला नहर्कीको नाम अगाडि आएको छ।

राप्रपा नेपालले पनि अझै गोरखा नगरपालिमा मेयरको उम्मेदवार कसलाई बनाउने भनेर टुंगो लगाउन सकेको छैन। राप्रपामा पूर्वमेयर तथा जिल्ला अध्यक्ष रुद्रराज पाण्डे, नगर अध्यक्ष सरोज कुँवरको नाम चर्चामा आएको छ। राप्रपाले पूर्वमेयरलाई उम्मेदवार बनाउने सम्भावना रहेको राप्रपा स्रोतले बतायो।

त्यस्तै नयाँ शक्ति नेपालले पनि गोरखा नगरपालिकाको मेयरको टुंगो अझै लगाउन सकेको छैन। नयाँ शक्तिमा पूर्व सभासद् ज्ञानेन्द्र कुमाल, नारायण खत्री र दिनेश तमुको नाम अहिले चर्चामा रहेको छ।

पालुङटार नगरपालिका
पालुङटार नगरपालिकामा नेपाली कांग्रेसबाट हालका नगरसभापति दीपक कँडेल, नारायण गुरुङको नाम चर्चामा रहेको छ। त्यस्तै नेकपा एमालेबाट जुद्धविलाश भण्डारी, ओम बराकोटीलगायतको नाम अगाडि आइरहेको छ। एमालेबाट अन्य धेरैको नाम आए पनि भण्डारी र बराकोटी बीच एक जना टुंगो लाग्ने एमाले स्रोतले बतायो।

माओवादी केन्द्रमा पालुंटार नगरपालिकामा अहिलेसम्म यही मान्छे मेयरको पदमा लड्छु भनेर कसैले नभनेको बताइएको छ। अहिले संगठन चलाइरहेका खोपबहादुर कँडेल, गुणराज देवकोटा, रामचन्द्र सेडार्इं, ऋषि धौरालीमध्येबाट कोही मेयरको उम्मेदवार हुने माओवादी स्रोतले बताएको छ।

राप्रपामा भने तीन जना आकांक्षी छन्। उमानिधि पाण्डे, सुशील पन्त, राजन देवकोटा पालुंटार नगरपालिकाको मेयरको उम्मेदवारको टिकट लिन लाइनमा छन्। नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईको गृहनगर पालुंटारमा उनको पार्टीबाट मेयरको उम्मेदवारको आंकाक्षी भने तीन जना देखिएका छन्। हरिशरण आचार्य, उमाकान्त देवकोटा र दिलिप देवकोटाको नाम नयाँ शक्तिबाट चर्चामा रहेको छ।

प्रतिक्रिया दिनुहोस्