सरकारको आश्चर्यजनक मौनता



इतिहासकै सबैभन्दा ठूलो कारोबारमा झन्डै आधा खर्ब कर छलेको काण्डले अहिले देशका प्रधानमन्त्री, अर्थमन्त्रीदेखि लब्ध–प्रतिष्ठित व्यापारीसमेत तानिएको अवस्था छ । निजी क्षेत्रबाट सञ्चालित मुलुकको सबैभन्दा ठूलो टेलिफोन कम्पनी एनसेलको शेयर खरिद–बिक्रीमा अर्बाैं रुपियाँ कर छली भएको कुरालाई देशका प्रधानमन्त्रीदेखि संसद्सम्मले सार्वजनिकरुपमा स्वीकार गरिसकेका छन् । मुलुकको ढुकुटीमा आउने अर्बाैं राजस्वमा कसैले चलखेल गर्न नपाओस् भनी नेपाली सञ्चारमाध्यमहरुले पनि कर छल्ने संस्था र व्यक्तिको पहिचान गरी प्रमाणसहित लगातार समाचारहरु सम्प्रेषण गरिरहेका छन् । तैपनि सरकार नपुंसकजस्तै चुपचाप लागेर बसेको छ, दोषीलाई कारबाही गर्ने हिम्मत गर्दैन ।

तर कसैको भने केही हजार रुपियाँ कर दाखिला गर्न बाँकी देखिए पनि राजस्व विभागले उसका सबै बैंक खाता रोक्का गरेको देखिन्छ । केही महिनाअघिको कुरा हो, ब्रिटिस गोर्खाका एकजना भूतपूर्व सैनिक राजस्व विभागको कार्यशैलीप्रति असन्तुष्टी व्यक्त गर्दै गुनासो गर्न नेपाल समाचारपत्रको कार्यालयमा आएका थिए । करिब १८ वर्षअघि आफू संलग्न एक प्राइभेट कम्पनीले केही मूल्य अभिवृद्धि कर नतिरेको कारण देखाई यति धेरै वर्षपछि राजस्व विभागले आफ्ना सबै बैंक खाता रोक्का गरिदिएको गुनासो उनले गरेका थिए । परिवारसहित न्यूजिल्यान्डमा बस्दै आएको र श्रीमतीको मृत्युपछि व्यवहार मिलाउन नेपालमा आउँदा मात्र आफ्नो बैंक खाता रोक्का भएको उनले चाल पाएछन् । धेरै वर्षअघिदेखि नै आफू संलग्न कम्पनी सञ्चालनमा नरहेकाले कर भुक्तानी नहुनुको कारण बुभ्mन कम्पनीका अन्य सञ्चालकहरु खोज्न समय लाग्ने हुँदा तत्कालको व्यवहार मिलाउन केही दिनका लागि भए पनि रोक्का खाता खोलिदिन उनले राजस्व विभागका अधिकारीहरुसँग हारगुहार गरेछन् । तर सुनुवाइ नभएपछि पत्रिकाको कार्यालयमा आउन बाध्य भएको उनले बताएका थिए । यो घटनाक्रम र एनसेलको कर छली काण्डलाई हेर्दा, सरकारको दृष्टि साना–ठूला सबै करदातामा समान नभएको पुष्टि हुन्छ ।

अहिले चर्चामा रहेको एनसेलको कर छलीसम्बन्धी काण्डमा विगतमा ठूलो समाजसेवीको रुपमा ख्याति कमाएका व्यापारी डा. उपेन्द्र महत्तोको नाम पनि लगातार अगााडि आइरहेको छ । उनीमाथि यस कर प्रकरणमा ६ अर्ब रुपियाँ कर छलेको संगीन आरोप लागेको छ । एकजना निष्कलंक मानिएका व्यक्तिमाथि यति ठूलो संगीन आरोप लाग्दासमेत न आरोपित व्यक्ति सफाइका लागि अघि सर्छ, न त सरकार नै यति ठूलो काण्डको अनुसन्धान गर्न चासो राख्छ ? उल्टो आरोपित व्यक्ति खुलेआम मुलुकका प्रधानमन्त्रीदेखि अर्थमन्त्रीसम्म कुममा कुम मिलाएर हिँडिरहेको र सरकार भने मौन रहेको देखेपछि आमजनताले भन्न थालेका छन्– ‘हाम्रा पुर्खाले सानालाई ऐन, ठूलालाई चैन भनी त्यसै उखान बनाएका रहेनछन् । त्यसैले सरकारले तत्काल अनुसन्धान गरी एनसेलको कर छली प्रकरणको वास्तविकता जनसमक्ष ल्याउनै पर्छ । र, साना–ठूला सबै करदातालाई समान व्यवहार गर्नै पर्छ ।

प्रतिक्रिया दिनुहोस्