ब्राजिल विश्वकपमा छनोट



लन्डन, (एजेन्सी)
सन् २०१८ मा रसियामा आयोजना हुने फिफा विश्वकप फुटबलमा छनोट हुनेमा ब्राजिल पहिलो राष्ट्र बनेको छ।

बुधबार बिहान भएको खेलमा पाराग्वेलाई ३–० ले हराएसँगै ब्राजिलले चार खेल खेल्न बाँकी राखेर नै विश्वकपमा स्थान सुनिश्चित गरेको हो। विश्वकपको इतिहासमा लगातार संस्करणमा सहभागी हुने ब्राजिल अहिलेसम्म एक्लो टोली हो। ब्राजिलको जितमा फिलिप कोउटिन्हो, नेयमार र मार्सेलोले एक–एक गोलको योगदान गरेका थिए। टोली दक्षिणी अमेरिकी समूहमा सहभागी १० टोलीमध्ये १४औं चरणको खेलसम्म ३३ अंकसहित शीर्ष स्थानमा रहेको छ।

यस्तै २४ अंकसहित समूहको दोस्रो स्थानमा कोलम्बियामा रहेको छ। तेस्रो स्थानको उरुग्वेको २३ तथा चौथो स्थानको चिलीको पनि २३ अंक नै रहेको छ। चार टोली विश्वकपमा स्वतः छानिँदा पाँचौं टोलीले भने प्लेअफ खेल्नुपर्ने प्रावधान छ।

अर्जेन्टिनालाई समस्या
बार्सिलोनाका दिग्गज नेयमारको राष्ट्र बाजिल विश्वकपमा छनोट भइरहँदा बार्सिलोनाकै अर्का दिग्गज लियोनल मेसीको राष्ट्र अर्जेन्टिना समस्यामा परेको छ। मेसीलाई फिफाले चार अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्धित लगाएसँगै अर्जेन्टिनाले हार बेहोरेको थियो। विश्वकप फुटबल छनोटमा बोलिभियाद्वारा अर्जेन्टिना २–० ले हारेको थियो। बोलिभियाको राजधानी लापाजमा बुधबार बिहान भएको खेलमा हुँवा कार्लोस आर्के र मार्सेलो मोरेनोले एक–एक गोलको योगदान गरे।

दक्षिण अमेरिकी समूहकै अर्को खेलमा कोलम्बियाले इक्वेडरलाई २–० ले हराउँदा चिलीले पनि भेनेजुएलालाई ३–१ ले पराजित गर्यो। यस्तै पेरुले लुइस स्वारेजको उरुग्वेलाई २–१ ले पाखा लगायो। खराब स्थितिबाट गुज्रिरहेको अर्जेन्टिना २२ अंकसहित अंक तालिकाको पाँचौं स्थानमा रहेर विश्वकपमा छनोट हुन संघर्षरत छ।

मेसीमाथि प्रतिबन्ध
फुटबलको अन्तराष्ट्रिय संस्था फिफाले मेसीमाथि चार अन्तर्राष्ट्रिय खेल खेल्न प्रतिबन्ध लगाएको छ। यसबाहेक उनीमाथि १० हजार स्वीस फ्रइंक जरिवानासमेत तोकेको छ।

चिलीविरुद्धको म्याचमा मेसीले रेफ्रीलाई अभद्र भाषा प्रयोग गरेको भन्दै अनुशासन कारबाही गरिएको फिफाले जनाएको छ। उक्त म्याचमा अर्जेन्टिनाविरुद्ध दिइएको ‘फाउल’प्रति असन्तुष्ट हुँदै मेसीले सहायक रेफ्रीलाई अभद्र भाषा प्रयोग गरेको बताइएको छ। यो प्रतिबन्धसँगै विश्वकप छनोट खेलमा मेसीले अर्जेन्टिनाका तर्फबाट उरुग्वे, भेनेजुएला र पेरुविरुद्धको म्याच खेल्न नपाउने भएका छन्। बिहीबार बिहान सम्पन्न बोलिभियाविरुद्धको म्याचमा पनि अर्जेन्टीनी टोलीमा मेसी अटाएका थिएनन्।

मेक्सिको विजयी
विश्वकप फुटबल छनोटअन्तर्गत मध्य तथा उत्तर अमेरिका र क्यारेबियन समूहको खेलमा मेक्सिको विजयी भएको छ। शीर्ष स्थान बलियो बनाउने क्रममा मेक्सिकोले ट्रिनिडाड एन्ड टोबागोलाई १–० ले हराएको हो। यसै क्षेत्रको अन्य खेलहरुमा होन्डुरस र कोस्टारिकाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे। ओसियाना क्षेत्रको छनोट खेलमा भने न्युजिल्यान्डले फिजीलाई २–० ले पराजित गरेको छ। त्यस्तै अमेरिकाले पानामासँग १–१ बराबरी खेलेको थियो।

बलिया एसियाली टिमहरु विजयी
विश्वकप फुटबल छनोटअन्तर्गत एसियाली क्षेत्रको छनोट खेलहरुमा जापान, अस्ट्रेलिया, दक्षिण कोरिया र इरान विजयी भएका छन्।

समूह ‘ए’को खेलमा इरानले चीनलाई १–० ले हराउँदा दक्षिण कोरियाले सिरिया तथा उज्वेकिस्तानले पनि कतारलाई समान १–० ले नै पराजित गरे। यस्तै समूह ‘बी’को खेलमा अस्ट्रेलियाले यूएईलाई २–० ले हराउँदा जापानले थाइल्यान्डमाथि ४–० ले तथा साउदी अरेबियाले इराकमाथि १–० को जित दर्ता गराए।

जितसँगै समूह ‘ए’मा १७ अंकसहित इरान पहिलो स्थानमा रहेर विश्वकपमा छनोट हुने सम्भावनालाई बलियो बनाएको छ। त्यस्तै १३ अंक जोडेको दक्षिण कोरिया दोस्रो तथा १२ अंक जोडेको उज्वेकिस्तान तेस्रो स्थानमा छ। यसै गरी समूह ‘बी’मा समान १६ अंकसहित जोडेका जापान र साउदी अरेबिया शीर्ष दुई स्थानमा रहँदा १३ अंक जोडेको अस्ट्रेलिया तेस्रोमा छ।

प्रतिक्रिया दिनुहोस्