पवन र वासुदेव सम्झेर अक्षरमार्गमा सुषमा



मोहन दुवाल

सुदेव शर्मा लुइँटेल मेरो मनमा सजिलै थपक्क बस्न पुगेका एकजना वरिष्ठ साहित्यकार। ढाँटछल नभएका तर खरो बोलीवचन बोलेर आत्मीयता साटासाट गर्न सिपालु एक त्यागी साहित्यकार। जब मैले उनलाई देखेँ र चिनेँ, त्यही बेलादेखि मेरो मन–मझेरीमा उनी समेटिन पुगेका हुन्। संगत गर्दै जाँदा मैले उनलाई मनमा राखेजस्तै उनले पनि मलाई मन र कर्ममा साथ दिएका हुन्। यस्तै भावनाका क्रममा उनकै सिफारिसमा उनकी जेठी छोरी सुषमा आचार्य र ज्वाइँ पदमकुमार आचार्य मलाई भेट्न बनेपामा पुगेका हुन्।

१६ वर्षअगाडितिरको घटना–प्रसङ्गलाई मनमा राखेर म सुषमा आचार्यको व्यक्तिवृत्त कोर्न जाँगर चलाइरहेको छु। वासुदेव माड्साहेब बित्नुभएको पनि धेरै वर्ष भइसकेको छ। यसै गरी पदमकुमार आचार्यले पनि सुषमा आचार्यलाई छोडेर गएको धेरै वर्ष भइसकेको छ। तर यिनीहरूको साथ पाएर अक्षरमार्गमा रम्न पाएकै कारणले त्यही बाटोमा सुषमा आचार्य आजपर्यन्तसम्म साहित्यसेवामा समर्पित छिन्।
सुषमा आचार्यको जन्म वि.सं. २००७ फागुन ७ गते ताहाचल, काठमाडौंमा पिता वासुदेव शर्मा लुइँटेल र माता जानकी लुइँटेलको कोखबाट भएको हो। आफ्नै पिताको प्रेरणाबाट साहित्य क्षेत्रमा शवरीको नामले लेख्दै आएकी सुषमाले शिक्षामा विद्यावारिधीसम्म उत्तीर्ण गर्न पाएकी छन्। वि.सं. २०२९ देखि अर्थात् २२ वर्षकै छँदादेखि प्राध्यापन पेसामा संलग्न रहेर यिनले करिब ४२ वर्ष प्राध्यापन सेवामा लागेर आफूलाई प्राध्यापकका रूपमा चिनाउन सफल छिन्। प्राध्यापनपछिको समयमा साहित्यमा मन लगाउन जानेकै कारणले यिनले दर्जनौं पुस्तकहरू प्रकाशित गराइसकेकी छन्। यिनका प्रकाशित पुस्तकहरूमा कविता विधामा १) गजुर ढल्कँदै छ, २) एक पत्र साकुरालाई, ३) शोक–शब्दाञ्जलि।

समालोचनामा १) मुलुकबाहिर एक सर्वेक्षण, २) माइतीघरलाई चिहाएर हेर्दा, ३) केही व्यक्ति र कृतिहरू। अनुसन्धानात्मक कृतिमा १) वीरकालको प्रवेश भक्तिकालतिर, २) लैनसिंह वाङ्देलको औपन्यासिक कृतिको मूल्याङ्कन र शिक्षा लेखसङ्ग्रहमा १) एजुकेसन सिस्टम अफ जापान र २) नेपालको शिक्षाव्यवस्था। उपन्यासमा निर्णय र बालकथामा चन्द्रमामा खरायो आदि छन्। यिनले पाँच वर्षअगाडिदेखि जूनतारा बाल त्रैमासिक प्रकाशन र सम्पादन गर्दै आएकी छिन्। साथै वासुदेव लुइँटेल स्मृतिग्रन्थको ऐतिहासिक पुस्तक पनि यिनले आफ्नै सम्पादनमा प्रकाशन गराएकी हुन्। यिनी हास्यव्यङ्ग्य कविताहरू अंग्रेजीमा अनुवाद गरेर कृति प्रकाशन गराउने दौडधुपमा हाल सक्रिय छिन्।
लैनसिंह वाङ्देलको विशेष अनुसन्धान गरेर मोटो ग्रन्थ प्रकाशन गराई लैनसिंहलाई रचनात्मक धरातलमा राखेर यिनले नियालिन्। जापानमा रहँदा यिनले जापानको शिक्षा व्यवस्थाबारे महत्वपूर्ण ग्रन्थ लेखिन्। नेपाली साहित्यलाई विश्वमा चिनाउने आफ्नो रहर बोकेर यिनी साहित्यमा आफूलाई देखाइरहेकै कारणले गुञ्जन, पेन नेपाल र अन्तर्राष्ट्रिय साहित्य समाजमा पनि सक्रिय छिन्। जीवन अभिशाप होइन वरदान हो भन्न रुचाउने यिनी साहित्य मुटुले खिचेर लेख्ने हो र साहित्य अन्तर्मनकै समवेदना हो भनेर साहित्यको परिभाषा गर्ने गर्छिन्। पारिजात, माया ठकुरी, भूपि शेरचन यिनका सबभन्दा मनपरेका लेखकहरू हुन्। टाल्सटाय, म्याक्सिम गोर्की, अमृता प्रितमलाई यिनले धेरै रुचाएर पढिन्।

परिवारमा मन दिएर, प्राध्यापन सेवामा समर्पित भएर, बचेको समयलाई जोहो गरेर साहित्यमा मन दिएकै कारणले यिनले ठूला–ठूला शोकहरूलाई पचाएको देखिन्छ। आफ्नै जीवनसँगी पदमकुमार आचार्यले छोडेर गएपछि र आफ्ना बाबा वासुदेवबाट पनि टाढा रहनुपर्ने बाध्यता सिर्जना भइदिएपछि धेरै दुःखको धक्का यिनले महसुस गरिन्। तर आफ्नो मनलाई विचलित तुल्याइनन्। साहित्य मनमा साँचेर यिनले सबै दुःखलाई बिर्सिन्। आज यिनी छोरा–बुहारीहरू, नाति–नातिनीहरूको रूपरङ्ग, कार्यक्षमता हेरेर दङ्ग पर्दै आफूलाई साहित्य सेवामा समर्पित तुल्याउँदै छिन्।
जापानबाट नै विद्यावारिधी उत्तीर्ण गरेकी यिनले जापानको शिक्षा व्यवस्था र नेपालको शिक्षा व्यवस्थाबारे थुप्रै अध्ययन गर्नुका साथै थुप्रै गहन लेख–रचनाहरू लेखेकी छिन्। समालोचना, अनुसन्धान, कविता, अनुवाद र बालसाहित्यमा पनि सक्रिय यिनले आफ्नो लेखनको प्रारम्भ कविताबाट गरेको देखिन्छ। यिनका कविताका केही हरफहरू उल्लेख गर्नलायकका छन्। गजूर ढल्किँदै छ कवितामा यिनी आफूलाई यसरी प्रस्तुत गर्छिन्–
मानिसका मात्र हैन तिमी

पशुका पनि पति
तिमी पशुपतिनाथ हौ
देख्छु तिमी सबका नाथ भएर पनि
अनाथ छौ
सारा कुरा बुझेर पनि अवाक् छौ
त्रिनेत्र भएर पनि दृष्टिविहीन छौ
सर्वशक्तिमान भएर पनि
तिमी किन लाचार र चुप छौ ?

यसै गरी एक पत्र साकुरालाई कवितासङ्ग्रहमा प्रकाशित हिमाल कवितामा यिनी आफ्नो कवितात्मक अनुभूति यसरी पोख्छिन्–
हामी भन्छौं–
हिमाल भएर बाँच्नुपर्छ
हिमालझैँ हाँस्नुपर्छ
हिमालझैँ एकचित्त भएर अड्नुपर्छ
तर,
खै हामीले सकेको
हिमालझैँ अग्लिन सकेको ?

हो हामी हिमालझैँ अग्लिन नजानेकाले नै नेपाली बफरा भएर विश्वमा चिनिन बाध्य छौं। आफ्ना पिताजी वासुदेव शर्मा लुइँटेलको प्रेरणा, प्रभाव र त्याग, समर्पण देखेकै कारणले सुषमा आचार्य पनि आफ्नो बाबुकै बाटोमा लाग्न पाउँदा गौरव गर्छिन्। सुषमा आचार्य ः एकजना समालोचक। अनुसन्धानकर्ता। कवयित्री। अनुवादक। उपन्यासकार। शिक्षाविद् र शिक्षामा समर्पित प्राध्यापक। बौद्धिक क्षेत्र र जगत्मा आफ्नो नाम र ठाउँ बनाउँदै आएकी यिनी आफ्नै पिता वासुदेव माड्साहेबको मन–तरङ्गमा व्याप्त हुन खोजिरहेकी एकजना सक्रिय स्रष्टा र द्रष्टा हुन्।

नेपाली कविताको विकास वीरकालबाट भक्तिकालतिर नामक ग्रन्थका लेखिका सुषमाले लैनसिंह वाङ्देलको समग्र कृतिको साङ्गोपाङ्गो अध्ययन गरी तयार पारेको ग्रन्थ सङ्ग्रहणीय छ। बालसाहित्यमा जूनताराको प्रकाशन गरेर आफूलाई बालकहरूको साहित्यिक उत्थानको लागि पनि समर्पित तुल्याउँदै आएकी यिनी समग्र आफ्ना जीवनका क्रमहरू साहित्यमा बिताउन र सिर्जनामा रमाउन समर्पित छन्।

साहित्यसेवामा यिनको ऊर्जाशील भूमिका रमणीय बन्दै जाओस्। आफ्नो साहित्यिक स्वरहरूमा रमणीयता थपिँदै जाओस्। सिर्जनामा नथाकीकन आफूलाई क्रियाशील तुल्याइरहन सकोस्। त्यागी, तपस्वी वासुदेव माड्साहेबको पदचापहरू यिनका लागि प्रेरणा बनून्। पदमकुमारका इच्छालाई समाजमुखी बनाउन सकोस्। सुषमा आचार्यका भावनाहरू साहित्यमा मुखरित हुँदै जाऊन्, शुभकामना छ।

प्रतिक्रिया दिनुहोस्