राइफल बोकाएर सुरक्षाको महसुस



फणीन्द्र फुयाल ज्वाला

दशबर्से जनयुद्ध हाँकेका वर्तमान प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिवसमेत रहेका छोरा प्रकाश दाहालले बिहीबारदेखि २२ बोर राइफल बोक्ने आधिकारिक अनुमति पाएका छन्। दाहालको व्यक्तिगत सुरक्षामा चुनौती र जोखिम रहेको सुरक्षा समितिको निष्कर्षपछि गृह मन्त्रालयको सिफारिसमा उनलाई हतियार बोक्न अनुमति दिइएको हो। काठमाडौं जिल्ला प्रशासन कार्यालयले समेत दाहाललाई इटलीबाट आयात गरिएको २२ बोरको राइफल र दुई सय थान गोली राख्ने इजाजतपत्र दिएको छ। साकार दाहालका नाममा उक्त इजाजतपत्र दिइएको छ।

प्रसंग यसरी थालौँ, युद्धका बेला ‘ब्याटल फिल्ड’मा होमिन आनाकानी गर्नेहरूलाई प्रचण्ड र उनको पार्टीका अन्य नेता तथा कार्यकर्ताहरूले कायरको पगरी भिराउने गर्थे। तर यति बेला प्रचण्ड स्वयम् किन यत्ति सारो कायर बने ? के उनलाई युद्धका बेला गरिएका गल्ती र मारिएका करिब १४ हजार आत्माले सपनामा तर्साउने गरेका छन् ? के नेपालको सुरक्षा संयन्त्र यस्तो कमजोर छ, जसले जति बेला चाहँदैमा प्रधामन्त्रीजस्तो गरिमामय पदमा बसेको व्यक्तिमाथि धावा बोल्न वा उनको व्यक्तिगत शारीरिक सुरक्षामाथि नै प्रहार गर्न सक्छ ? के नेपालको अनुसन्धान विभाग, प्रहरी, सशस्त्र र अन्य सुरक्षा निकायहरू त्यस्ता कमजोर छन्, जसले प्रधानमन्त्रीको सुरक्षा गर्नै सक्दैनन् ?

यहाँ प्रश्न उठ्छ, आज प्रधानमन्त्रीजस्तो गरिमामय पदको लागि सुरक्षा दिन नसक्ने आंकलन गरिएकाहरूले देशका अन्य ‘भीभीआईपी’ हरूको व्यक्तिगत सुरक्षा कसरी दिन सक्लान् ? देशको प्रधानमन्त्रीको रक्षा र सुरक्षा दिन नसक्ने सुरक्षा संयन्त्रले देशको सीमा सुरक्षा कसरी गर्ला ? आमनेपाली जनतालाई शान्ति र सुरक्षाको प्रत्याभूति कसले, कसरी दिन सक्ला र ?

देशको प्रधानमन्त्री भनेको चानचुने पद र व्यक्तित्व होइन। प्रधानमन्त्रीको सुरक्षामा देशको उच्च सुरक्षा संयन्त्र खटिएको हुन्छ अनि त्यसै अनुरुपको सुरक्षाकर्मी, प्रविधि र हतियार। तर के नेपालको शान्ति सुरक्षामा खटिने गरेका सुरक्षाकर्मीहरू के तालिमप्राप्त होइनन् त ? के उनीहरूमा प्रविधि, सीप, अध्ययन, अनुसन्धानको कमी भएकै हो त ? यदि समस्या त्यस्तो हो भने सुरक्षाकर्मीहरूलाई किन समयानुकूल तालिम, हतियार र अन्य प्रविधिहरू उपलब्ध गराउन सकिएन ? प्रचण्डको सुरक्षामा छोरा खटिनु भनेको समस्या टार्न हुोइन समस्या सार्नु मात्र हो। त्यसैले ज्यानको प्रवाह नगरी युद्धमा होमिएका ्र चण्डजस्ता ‘लालयोद्धा’ ‘लालकामरेड’ र जनयुद्धको नायक भएर पनि आफ्नो सुरक्षामा यत्तिसारो डरपोक भएपछि अन्य निकायको के हालत होला ?

आफ्नो व्यक्तिगत सुरक्षाप्रति प्रधानमन्त्री नै सुरक्षा संयन्त्रसँग यत्तिसारो सशंकित भएपछि के अब प्रधानमन्त्रीले आफू सवार गाडीमा पनि आफ्नै नातेदार ड्राइभर भर्ती गर्लान् त ? उसो भए जहाज चढेर कतै सवार हुनुपर्दा के प्रधानमन्त्रीले आफ्नै विश्वासिलो पात्र वा छोरा प्रकाशसरहको व्यक्तिलाई नै पाइलट बनाउन सक्लान् ?

प्रधानमन्त्री प्रचण्ड किन व्यक्तिगत सुरक्षामा यत्ति सारो आत्तिए त ? यसको सहज उत्तर हुन्छ– युद्धका क्रममा आवेग र उत्तेजनामा आएर उनले दिएका कतिपय आदेशहरू पालना हुँदा हजारौँ मानिसहरू मारिए, अझै कैयौँ बेपत्ता, घाइते र अपांगताकै अवस्थामा छन्। यदि उनलाई सुरक्षाको कुनै आशंका र मनोगत चुनौती छ भने उनले नै हिजो युद्धमा जन्माएका ‘क्याडर’हरूसँग छ। हिजो युद्धमा सँगै लागेका सहयोद्धा र सहकर्मीहरू आज फरक–फरक पार्टी खालेर राजनीति गरिरहेका छन्। फेरि स्थानीय तहको निर्वाचनको मितिसमेत तोकिएको वर्तमान सन्दर्भमा मेधसी मोर्चासँग कुरा मिलाउन सक्ने प्रधानमन्त्रीको छाँट देखिएको छैन। संविधान संशोधनको मुद्दा झनै पेचिलो बन्दै गएको छ। मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना निकै अगाडि बढिसकेको छ।

यी र यस्तै समस्याको समाधान निकाल्न र आगामी निर्वाचनमा जनताको घरदैलोमा सुरक्षाका नाममा सुरक्षाकर्मीको जुलुस लिएर जान अलि अशोभनीय हने भएकाले प्रधानमन्त्री दाहालले छोरा प्रकाशलाई सुरक्षामा भर्ती गरेका होलान् भन्ने अनुमान लगाउन सकिन्छ।

प्रतिक्रिया दिनुहोस्