गौतमको परिवारलाई एमालेको ५ लाख सहयोग



हेमन्त पौडेल, कैलाली
गत बिहीबार भारतीय सुरक्षाकर्मीले गोली हानी हत्या गरेका कञ्चनपुर पुनर्वास नगरपालिका–८ का शहीद गोविन्द गौतमका परिवारलाई राहतस्वरुप एमालेले पाँच लाख रुपियाँ दिएको छ।

एमालेको मेची–महाकाली अभियानका क्रममा बिहीबार कञ्चनपुरको महेन्द्रनगर पुग्नुभएका एमाले अध्यक्ष केपी ओलीले पार्टीका कञ्चनपुर अध्यक्ष तारा लामालाई पाँच लाखको चेक र एक थान ल्यापटप हस्तान्तरण गर्नुभयो।

अध्यक्ष ओलीले शहीद गौतमका परिवारलाई राहतस्वरूप पाँच लाख रुपियाँँको चेक र छोराछोरीका लागि एक थान ल्यापटप हस्तान्तरण गर्नुभएको हो। कञ्चनपुरको पुनर्वास नगरपालिका–८, आनन्दबजार नजिकै निर्माण गरिएको कल्भर्टको विषयलाई लिएर विवाद चर्किएपछि भारतीय सुरक्षाकर्मीले चलाएको गोली लागेर पुर्नवास नगरपालिका–८ का गोविन्द गौतमको गत बिहीबार मृत्यु भएको थियो।

मेची–महाकाली अभियानको अन्तिम कार्यक्रम महेन्द्रनगरको खुल्लामञ्चमा आयोजना गरेको जनसभालाई सम्बोधनका क्रममा एमाले अध्यक्ष ओलीले भारतीय सुरक्षाकर्मीले गौतमको हत्या गरेकोमा आक्रोश पोख्नुभयो।

उहाँले गोविन्द हत्याकाण्डको निन्दा गर्नुभयो। भारतले ठूलो देशको अहंकार छाड्नुपर्छ, नेपाल र नेपालीसँग माफी माग्नुपर्छ, पीडितलाई क्षतिपूर्ति दिनुपर्ने उहाँको भनाइ छ। मैले प्रधानमन्त्रीलाई व्यक्तिगतरूपमा पनि भनेको छु, तपाईंले भारतसँग माफी माग्न भन्नुपर्छ, क्षतिपूर्ति माग्नुपर्छ ओलीले भन्नुभयो। ‘शहीद गोविन्द गौतमको परिवारलाई एमालेले सम्मानस्वरुप ५ लाख रकम उपलब्ध गराएको छ। छोरीहरूको शिक्षादीक्षाका लागि चिन्ता नलिनूस्, अरु कोही छैन भने एमाले छ’ –उहाँले भन्नुभयो।

यस्तै एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले ९० प्रतिशत जनप्रतिनिधिहरूले बनाएको संविधान सफल बनाउन निर्वाचन गर्नैपर्ने बताउनुभयो। उहाँले यदि सरकारले चुनाव गराउन सक्दैन भने अहिले नै कुर्सी छोड्नुपर्ने बताउनुभयो।
उहाँले भन्नुभयो– ‘नेपाली भूमि मिचिँदा कञ्चनपुरमा सीमाका जनताले प्रतिवाद गरे, सप्तरीमा त्यस्तै हुँदा त्यहाँका जनताले विदेशीलाई लखेटिदिए। सीमा मिचिँदा सिमानाकै मान्छेले रक्षा गर्नुपर्छ।’ एमाले महासचिव ईश्वर पोखरेलले एमाले राष्ट्रियताको आन्दोलनको पहरेदारका रूपमा रहँदै आएको बताउनुभयो। हिजो मदन भण्डारीको नेतृत्वमा राष्ट्रियताको आन्दोलन आज केपी ओलीको नेतृत्वमा जारी छ, उहाँले भन्नुभयो। आनन्दबजारमा घाइते भएका टीकाराम चापागाईंको उपचारको जिम्मा एमालेले लिने महासचिव पोखरेलले बताउनुभयो।
कार्यक्रममा उपाध्यक्ष भीम रावल, बैकल्पिक केन्द्रीय सदस्य निरा जैरुलगायतले बोल्नुभएको थियो। पार्टीका केन्द्रीय सदस्य रामकुमार ज्ञवालीको अध्यक्षता र बैकल्पिक केन्द्रीय सदस्य विक्रमबहादुर शाहीको सञ्चालनमा आयोजित सभामा सहभागाीहरूलाई कञ्चनपुर जिल्ला अध्यक्ष तारा लामा तामाङले स्वागत गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्