कांग्रेस नेता ढुंगेलको निधन



काठमाडौं, (नेस)
नेपाली कांग्रेसका नेता एवं पूर्व कृषि सहायकमन्त्री रामहरि ढुंगेलको निधन भएको छ। बिहीबार बिहान डिल्लीबजारस्थित डेरामा सुतिरहेको अवस्थामा निधन भएको नेपाली कांग्रेसले जनाएको छ।

अघिल्लो दिनसम्म साथीभाइसँग भेटघाटमा व्यस्त रहनुभएको ढुंगेलको निधनप्रति कांग्रेस सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गर्दै नेपालको संविधान कार्यान्वयनको चरणमा भएको बेला उहाँको निधनले नेपाली कांग्रेसलाई अपूरणीय क्षति पुगेको बताउनुभएको छ।

बिहीबार शोक वक्तव्य निकाल्दै सभापति देउवाले भन्नुभएको छ– ‘नेपालमा लोकतन्त्र स्थापना र पुनःस्थापनमा सक्रिय भूमिका निर्वाह गर्नुभएका ढुंगेलको निधनको खबरले मलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको छ।’

स्व. ढुंगेलले पञ्चायती व्यवस्थाविरुद्ध नेपाली कांग्रेसले सञ्चालन गरेको संघर्षहरूमा तथा नेपालमा लोकतन्त्र स्थापना र पुनःस्थापनाका हरेक आन्दोलनहरूमा उहाँले सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो।

नेपाली कांग्रेस रामेछापका महासमिति सदस्य, पूर्वसभापतिसमेत रहनुभएका ढुंगेलले नेपाल विद्यार्थी संघ र नेपाली कांग्रेस रामेछापको सदस्य, सचिव र सभापतिलगायतका विभिन्न पदमा रहेर कार्य गर्नुभएको थियो। २०५६ को आमनिर्वाचनमा स्वर्गीय ढुंगेल नेपाली कांग्रेसको तर्फबाट रामेछापको क्षेत्र नं. २ बाट सांसद पदमा निर्वाचित हुनुभएको थियो। स्व. गिरिजाप्रसाद कोइरालाको प्रधानमन्त्रीत्वमा रहेको मन्त्रिपरिषद्मा उहाँ कृषि सहायकमन्त्री हुनुहुन्थ्यो।

प्रतिक्रिया दिनुहोस्