एक वर्षमा सत्र लाख बालबालिकाको मृत्यु



जेनेभा, (एजेन्सी)
विश्वमा पाँच वर्ष नपुग्दै मृत्यु हुनेहरुमध्ये झन्डै एकचौथाइ बालबालिकाको मृत्यु वातावरणीय प्रदूषणका कारण हुने गरेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सोमबार जनाएको छ।

उक्त संगठनले हिजो सार्वजनिक गरेका पछिल्ला दुईवटा प्रतिवेदनअनुसार गत एक वर्षमा ५ वर्षमुनिका १७ लाख बालबालिकाको मृत्युको कारण वातावरणीय प्रदूषण रहेको छ।

वातावरणीय प्रदूषणअन्तर्गत घरभित्र तथा बाहिर हुने धुवाँ, धूलो, असुरक्षित पानी र सरसफाइको कमजोर अवस्थालाई जनाउँछ।

बालबालिका प्रदूषणबाट प्रभावित भएमा श्वासप्रश्वाससम्बन्धी दीर्घ रोगको खतरा हुने, श्वासनली साँघुरिएर श्वास फेर्न गाह्रो हुने, मुटुसम्बन्धी रोग, ह्दयघात र क्यान्सर लाग्नसक्ने चिकित्सकहरूको भनाइ रहेको छ।

डब्लूएचओका प्रमुख मागर्रेट चानले जारी गरेको वक्तव्यमा प्रदूषित वातावरण विशेष गरी साना बालबालिकाका लागि निकै घातक हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्