जापानी सम्राट् दम्पती भियतानाम र थाइल्यान्ड भ्रमणमा



टोक्यो, (एजेन्सी)
जापानका सम्राट् तथा साम्राज्ञी भियतनाम तथा थाइल्यान्डको एक साताव्यापी औपचारिक विदेश भ्रमणमा निस्केको मंगलबार जापानी राजप्रासादले जनाएको छ।
सम्राट् अकिहितो तथा साम्राज्ञी मिचिको टोक्योको हानेदा विमानस्थलबाट हिजो बिहान उक्त दुवै मुलुकका लागि प्रस्थान गरेको र तिनीहरुको पहिले भियतनामको राजधानी हानोई पुग्ने कार्यक्रम रहेको बताइएको छ ।

हाल जापान र भियतनामबीच दौत्य सम्बन्ध राम्ररी फस्टाउँदै गइरहेको जापानी सम्राट् दम्पतीको भ्रमणले थप सौहार्दता प्रदान गर्ने विश्वास गरिएको छ ।

केही वर्षयता धेरै जापानी कम्पनी र लगानीकर्ताहरुले भियतनाममा उद्योग कल, कारखाना स्थापना गरी सरसामान उत्पादनमा बृहत् लगानी गर्दै आएका छन् । त्यसैगरी जापानमा व्यावसायिक र उच्च शिक्षा हासिल गर्ने विदेशी विद्यार्थीहरुमा भियतनामीहरुले संख्या निकै ठूलो रहेको छ ।

भियतनाम भ्रमणको क्रममा सम्राट् दम्पतीले दोस्रो विश्वयुद्धताका रणभूमिमा ज्यान गुमाएका जापानी सेनाका जीवित बिधवा पत्नी तथा तिनीहरुका अन्य आफन्तसँग भेट्ने कार्यक्रम रहेको छ ।

दोस्रो विश्वयुद्धको समाप्तिपछि जापानी सेनाका यी परिवार भियतनाममै बसोबास गर्दै आइरहेका छन् । दोस्रो विश्वयुद्धको अन्त्य भएको केही वर्षपश्चात् भियतनाममा शुरु भएको आन्तरिक राजनीतिक अस्थिरता र द्वन्दले मुलुकको उत्तरी खण्ड सन् १९५४ मा वामपन्थीहरुको नियन्त्रणमा रहन गएको थियो ।

उत्तर भियतनामलाई नियन्त्रणमा लिने वामपन्थी सरकारले त्यहाँ रहेका जापानी सेना तथा परिवारलाई या त जापान फर्क या त मुलुक छोड भन्ने दबाब दिएको थियो ।

वामपन्थी सरकारको दबाबमा परी सबै जापानी सेना र परिवार दक्षिणतिर बसाइ सरका थिए । त्यहाँ परिवारसहित बस्ने क्रममा भियतनामलाई त्याग्न तिनीहरुको मन मानेन ।

भ्रमणको दोस्रो चरणमा सम्राट् दम्पती थाइल्यान्डको राजधानी बैंकक पुग्ने भएको छ । त्यहाँ तिनीहरुले थाइल्यान्डका स्वर्गीय सम्राट् भूमिबल अदुल्यादेजप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नेछन् । थाइल्यान्डका सम्राट् अदुल्यादेजको गत वर्षको अक्टोबरमा निधन भएको थियो ।

आफू र साम्राज्ञी मिचिकोले थाइल्यान्डका सम्राट् अदुल्यादेजसँग विगतका पचास वर्षभन्दा बढीसम्म सुमधुर र घनिष्ठ सम्बन्धको आनन्द लिएको जापानी सम्राट् आकिहितोले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्