प्रधानमन्त्रीद्वारा राष्ट्रका नाममा सम्बोधन “मतपत्रबाट असन्तोष जाहेर गर्नुस्”



मधुसूदन रायमाझी, काठमाडौं
धानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड ले मधेस केन्द्रित दलहरूलाई निर्वाचनसँग अलिकति पनि नझस्किन आग्रह गर्नुभएको छ। राष्ट्रका नाममा मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्रीले निर्वाचनले मधेसलाई आफ्नो असन्तोष मतपत्रबाट जाहेर गर्ने अवसर दिएकाले अवसरको सदुपयोग गर्न आग्रह गर्नुभएको हो।

सरकार निर्वाचन सँगसँगै संविधान संशोधनमार्फत् संविधानको स्वीकार्यता फराकिलो पार्न र राष्ट्रिय एकता सुदृढ तुल्याउन प्रतिबद्ध रहेको उहाँले बताउनुभयो। उहाँले सरकार संविधान संशोधन सफल बनाएरै स्थानीय तहको निर्वाचन घोषणा गर्न प्रतिबद्ध रहेको बताउँदै संशोधन प्रस्तावलाई सफल बनाउन धेरै प्रयास गरेको बताउनुभयो।

प्रचण्डले बीस वर्षदेखि हुन नसकेको स्थानीय तहको निर्वाचन आगामी वैशाख ३१ गते देशभर एकैपटक गर्ने घोषणासँगै निर्वाचनमा सहभागी हुन सबै पक्षलाई आग्रह गर्नुभयो।

प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन गरेर मात्र अगाडि बढ्ने सरकारको चाहना भए पनि आगामी माघ ७, २०७४ भित्र तीनै तहको चुनाव गर्नैपर्ने संवैधानिक बाध्यता, स्थानीय र प्रदेश तहको चुनाव नगरी संघीय संसद् गठनै हुन नसक्ने संवैधानिक प्रावधान र वर्षा लागेपछि निर्वाचन गर्न नसकिने परिस्थितिका कारण निर्वाचनको मिति घोषणा गरेको बताउनुभयो।

उहाँले निर्वाचनका लागि संविधानले दिएको समय सीमा र हामीले अपनाएको अन्तर सम्बन्धित चुनाव प्रणाली बिथोलिने डर भएको बताउँदै संविधान र लोकतन्त्र नै गतिरोधमा पर्ने सम्भावना बढेकाले सरकारले संशोधन र निर्वाचनलाई एकसाथ अघि बढाउने निर्णय गरेको बताउनुभयो।

‘२० वर्षदेखि थाँती रहेको र कसैले हिम्मत नगरेको यो निर्वाचन चुनौतीरहित छैन। तर, सरकार सबै चुनौतीको सामना गर्दै स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध छ –प्रचण्डले भन्नुभयो। झन्डै १ करोड ४० लाख मतदाताले ३५ हजारभन्दा बढी प्रतिनिधि चुन्ने यो निर्वाचनलाई आफूले प्रतिनिधि चुनिने सामान्य निर्वाचन नभई जनताको ढोकामै विकास र जनताको ढोकामै सरकारको युगको प्रारम्भ भएको मानेको बताउनुभयो।

निर्वाचन सफल पार्न आफूले अन्तर्राष्ट्रिय समुदायको पनि साथ र समर्थनको अपेक्षा गरेको बताउँदै भन्नुभयो– ‘मधेसलगायत उपेक्षित क्षेत्रमाथिका विभेद र उत्पीडनलाई इतिहासमै पहिलोपटक राष्ट्रिय राजनीतिको केन्द्रीय विषय कसले बनायो?

अत्यन्त निम्नस्तरका लाञ्छना, घृणित आरोपहरू र निकृष्ट गालीगलौजको सामना गरेर पनि संसद्मा संविधान संशोधनको प्रस्ताव टेबल गरेको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले अझै प्रस्ताव पारित गराउन हरक्षण प्रयत्नरत रहेको बताउनुभयो।

‘नयाँ संविधान चाहिएकै मधेसलाई हो, जनजाति, दलित, महिला र दमित वर्गलाई हो, उहाँले भन्नुभयो– ‘यो देशको परम्परागत शासक वर्गलाई गणतन्त्र र धर्मनिरपेक्षता मन परेको छैन। अँध्यारा कोठाहरूमा अहिले पनि यी उपलब्धि उल्टइउने षडयन्त्र भइरहेको छ। हिजो मधेसमा सबैभन्दा धेरै उत्पीडन गर्ने त्यही वर्ग अहिले मधेसी जनताकै काँधमा बन्दुक राखेर परिवर्तनलाई उल्टइउने सपना देखिरहेको छ।

संविधान संशोधनलाई सरकारले तार्किक निष्कर्षमा पुर्याउने विश्वास दिलाउँदै प्रधानमन्त्री प्रचण्डले निर्वाचनले मधेसलाई आफ्नो असन्तोष मतपत्रबाट जाहेर गर्ने अवसर दिएकाले अवसरको सदुपयोग गर्न आग्रह गर्नुभयो।

‘मधेसकेन्द्रित दलहरूले पनि अन्ततः आवेग होइन, विवेक र राष्ट्रप्रति जिम्मेवारी देखाउनेछन् भन्नेमा सरकार विश्वस्त छ, उहाँले भन्नुभयो– ‘जनसंख्याका अनुपातमा मधेसमा स्थानीय तहको संख्या बढाउन सरकार गृहकार्यमा छ। मधेसी जनताको विकास र मधेसी जनताको सरकार अब मतपेटिकाका रुपमा मधेसी जनताको दैलोमा छ।

प्रधानमन्त्री प्रचण्डले एकथरि तत्त्व मधेसको आवेगलाई भड्काएर मुलुक विखण्डन गर्ने दुस्वप्न देखिरहेको बताउँदै विखण्डनकारी सर्पका हरेक फणा कुल्चिइने बताउनुभयो। ‘हिमाल होस्, पहाड होस् वा तराई, कुनै पनि अतिवाद सहन गरिनेछैन, शान्ति सुरक्षामा कुनै कमी हुन दिइने छैन, उहाँले भन्नुभयो– ‘निर्वाचनमा एक–एक मतको सुरक्षा गरिनेछ। निर्वाचनको स्वतन्त्रता र निष्पक्षताका लागि सरकार शतप्रतिशत प्रतिबद्ध रहेको छ।

‘मेरा धेरै योजना र परिकल्पनाले साकार रुप लिन पाएनन्, देशबाट लोडसेडिङ लगभग अन्त्य भएको छ र यो अन्त्यलाई मैले मुलुक अब अँध्यारो युगबाट उज्यालो युगमा प्रवेशको बिन्दु मानेको छु। –प्रधानमन्त्रीले भन्नुभयो।
‘आगामी जेठ मसान्तसम्म मुलुकभर लोडसेडिङ अन्त्य गर्ने सरकारको तयारी छ, उहाँले भन्नुभयो– ‘लोडसेडिङ अन्त्यले निकै पछि यो देशका जनताको आफैमाथि भरोसा बढेको छ र यो देशको विकास चामत्कारिकरूपमा सम्भव छ भन्ने स्थापित गरेको छ। राजनीतिक प्रतिबद्धता, व्यवस्थापकीय कुशलता र इमानदारिता भयो भने परिवर्तन हामीबाटै र अहिले नै सम्भव रहेछ भन्ने सन्देश प्रवाह भएको बताउँदै राष्ट्रिय गौरवका आयोजनाहरूमा अब एकपछि अर्का चमत्कार हुँदै जाने बताउनुभयो।

प्रधानमन्त्रीका रुपमा आफू परस्पर विरोधी राजनीतिक मागहरूको दबाबमा रहे पनि विकास निर्माण र तीव्र आर्थिक प्रगतिको संकल्प न धर्मराएको बताउँदै सरकारबाट केही कमजोरी भए पनि गल्ती नगरेको बताउनुभयो।

काठमाडौंबाट तराई⁄मधेस जोड्ने फास्ट ट्रइकको डीपीआर, वित्तीय व्यवस्थापन र निर्माण मोडालिटी सम्बन्धमा सिफारिस गर्न सरकारबाट गठित समितिले प्रतिवेदन दिइसकेको छ र त्यो प्रतिवेदन कार्यान्वयनमा गइसकेको उहाँले बताउनुभयो। विभिन्न कारणले रोकिएको तराई मधेस क्षेत्रको आर्थिक समृद्धिको महत्त्वपूर्ण पूर्वाधारका रुपमा रहेको बहुप्रतीक्षित हुलाकी मार्गबारे भारत भ्रमणका क्रममा गम्भीरतापूर्वक विषय उठाएपछि निर्माण कार्य अत्यन्तै तीव्र गतिमा अघि बढेको प्रचण्डले दाबी गर्नुभयो।

भूकम्पपीडितलाई राहतका हकमा प्राधिकरणका कार्यकारी नै परिवर्तन गरेर सरकारले कुनै लापरबाही वा ढिलासुस्ती क्षम्य छैन भन्ने प्रस्ट सन्देश दिएको बताउँदै भूकम्प प्रभावित मुख्य सम्पदाहरूको पुनर्निर्माण कार्य शुरू भइसकेको बताउनुभयो।

‘मेलम्ची खानेपानी आयोजना, माथिल्लो तामाकोशी आयोजना, कुलेखानी तेस्रो आयोजना, चमेलिया जलविद्युत् आयोजनालगायतका महत्त्वपूर्ण आयोजना र अनुगमन गरिएका अन्य आयोजनाहरूका काम द्रूत गतिमा अघि बढेको छ। –उहाँले भन्नुभयो।

देशभरका भूमिहीन, सुकुम्बासी, किसान, मजदुर र श्रमिकहरू जग्गाधनी प्रमाण पुर्जा नभएकै कारण अहिलेसम्म पानी र बिजुलीको लाइन जोड्नेजस्ता आधारभूत सुविधाबाट वञ्चित भए पनि अब सरकारले उनीहरूका लागि नागरिकता र बसोबासकै आधारमा धारा र बत्तीको मिटर जोड्ने व्यवस्था गरेको बताउनुभयो।

शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमै पुर्याउने गरी सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगको म्याद थप गरिएको बताउँदै सम्बन्धित ऐनहरूको संशोधन मस्यौदा तयार भएको बताउनुभयो।

‘संविधान र अझ सिंगो लोकतन्त्रकै कार्यान्वयनमा ऐतिहासिक महत्त्व राख्ने अबको निर्वाचन केबल प्रधानमन्त्री वा सरकारको परीक्षा होइन। बरु, यो सबै राजनीतिक दलको, लोकतन्त्रको र सिंगो राष्ट्रकै परीक्षा हो। –प्रचण्डले भन्नुभयो।
‘स्थानीय तहको निर्वाचन गराइराड्ने घोषणा गर्दा मलाई कुनै अनिश्चय र संशय होइन, मलाई गौरवबोध छ, उहाँले भन्ुनभयो– ‘बीस वर्षसम्म कसैले सोच्नसम्म हिम्मत नगरेको यो निर्वाचन गराइछाड्ने मेरो यो आँट र विश्वासको स्रोत जनता नै हुन्।

निर्वाचनलाई जसरी पनि सफल विश्वास आफूलाई रहेको बताउँदै निर्वाचनसँगै यो देशका राजनीतिक दलहरूबीच गाली र तालीको होइन अब विकासको प्रतिस्पर्धा हुने बताउनुभयो। विकास र सरकार अब मतपेटिकाका रुपमा जनताको दैलोमा छ। निर्वाचन लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव हो। यो महोत्सवमा बिना संशय, बिना धक, बिना डर, मन वचन र कर्मले उत्साहका साथ सहभागी हुन उहाँले आग्रह गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्