घर बनाउन भुकम्प पीडितलाई काठको अभाव



कोपिला अर्याल, नुवाकोट ।

भुकम्प पीडितहरुका लागि नुवाकोटमा घर पुननिर्माण गर्न काठको अभव बढेको छ । काठकै अभावका कारण पुननिर्माणले खासै गति लिन समेत सकेको छैन । अहिले जिल्लामा १५ प्रतिशतको हाराहारीमा मात्रै भूकम्प पीडितका घर पुननिर्माणको काम भइरहेको पुननिर्माण प्राधिकरण उपक्षेत्रिय कार्यालय नुवाकोटले जनाएको छ ।

नुवाकोटमा भुकम्पले क्षति पुगेका निजी आवास लगायतका भौतिक पूर्वाधारको निर्माण गर्न ४९ लाख २० हजार क्यु फिट काठ अपुग भएको प्रारम्भिक अध्ययनले देखाएको छ । अहिले नुवाकोटमा मात्रै करिब ८० हजार भुकम्पपीडित घर पुननिर्माणको चरणमा छन् ।

भुकम्प पीडितहरुले आवास निर्माण गर्न सुरु गरेपनि काठको अभावले तिव्रता पाउन सकेको छैन । जिल्लामा पुननिर्माणको लागि काठको व्यबस्था मिलाउन गठन भएको ‘भुकम्प पीडितहरुको लागी काठ उत्पादन, आपूर्ति र व्यवस्थापन समितिको अध्ययनमा नुवाकोटका जंगल तथा निजी जग्गामा एक लाख ६४ हजार क्यु फिट मात्र काठ उपलब्ध रहेको देखिएको छ ।

आवास पुननिर्माणमा अपुग काठको व्यवथापन वन विभाग मार्फत सहुलियत दरमा माग गर्ने तयारी गरेको वन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार काठको माग पुरा गर्ने वैकल्पिक स्रोत नहुँदा सामुदायिक स्थानिय वनक्षेत्रको विनास बढ्ने खतरा समेत देखिएको छ ।

वन कार्यलय नुवाकोटका सहायक वन अधिकृत राजकुमार यादवका अनुसार अनुदान रकम पाएसँगै भुकम्प पीडितहरु आवास निर्माणतर्फ केन्द्रित छन् । तर, सरकार तथा पीडितहरुको मुख्य लक्ष्य भूकम्पले क्षति पुगेका आवासहरुको पुननिर्माण समयमै पूरा गर्नु रहेपनि निर्माण सामाग्रीको रुपमा रहेको काठ अभावले नयाँ घर निर्माणको क्रमले तीव्रता पाउन सकेको छैन ।

वन विभागले सामुदायिक वनबाट कार्ययोजना मार्फत काट्न पाउने अधिकार प्रदान र निजी आवधिक जग्गामा रहेका काठहरु कटानको लागी सहज व्यवस्था मिलाएपनि अझै काठ अपुग भएका उपभोक्ताहरुको गुनासो छ ।

पुननिर्माण अभियानलाई समयमै सफल बनाउन निर्माण सामाग्रीको सहज उपलब्ध समेत मुख्य चुनौती बनेकाले अपुग काठ विभागसँग माग्ने र जिल्लामा विकल्पमा जिल्लामा रहेका गुणस्तरहिन काठको रुपमा रहेका उत्तिस, सल्ला, चिलाउने, कटुस लगायतका काठलाई उपचार विधि मार्फत बलियो बनाउने योजना बनाएको छ ।

पुननिर्माणमा काठको अभाव चर्किएपछि वन कार्यालयले सालको काठ कटानमा लगाउदै आएको रोकलाई हटाउदै सहज बनाएको छ । कार्यालयले सामुदायिक बनमा कार्ययोजना अनुसार सालको काठ काट्न छुट दिएको छ भने निजी जग्गामा पनि एक परिवारको लागी एक सय ५० क्युफिटसम्म काट्न अनुमति दिएको छ ।

भुकम्प पीडित लाभग्राहीका लागि काठ कटानमा गरेको सहज व्यवस्था तथा सेवाको लाभ भने वास्तविक पीडित समक्ष नभई माफियाँ र तस्कर हावी हुदाँ भुकम्पबाट थलिएका पीडितहरु अभाव र अन्योलको भूमरीमा रुमल्लिरहेका छन् ।

काठ व्यवसायीले अभावको मौका छोपेर काठको मूल्य दोब्बरसम्म बनाएको कविलास गाविसका भुकम्पपीडित कृष्णप्रसाद बोहराले बताए । ‘यसअघि सामान्य अवस्थामा बिस हजारसम्म मूल्य पर्ने साल बाहेकका काठलाई पनि ४० देखि ५० हजार मूल्य काठ व्यापारीले लगाएका छन् ।, उनले भने, ‘सरकारले दिने अनुदानको पैसा त काठ किन्न नि नपुग्ने भयो ।’

प्रतिक्रिया दिनुहोस्