उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षण सफल भएको दाबी



प्योंगयांग(एजेन्सी)
उत्तर कोरियाले आइतबार गरेको ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण सफल भएका दाबी गरेको छ । जमिनबाट जमिनमा प्रहार गर्ने उक्त मध्यम तथा लामो दुरीको ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण सफल भएको जनाइएको छ ।

उत्तरी कोरियाको वरिष्ठ नेता किम जोङग उनको निगरानीमा उक्त परीक्षण भएका उत्तरी कोरियाली समाचार समिति केसीएनएले जनाकारी दिएको छ । सन् २०१७ मा उत्तर कोरियाले गरेको यो पहिलो क्षेप्यास्त्र परीक्षण हो । उत्तर कोरियाको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली मानिएको क्षेप्यास्त्र परीक्षण अमेरिकामा राष्ट्रपति ट्रम्पले पदभार ग्रहण गरेपछिको पहिलो परीक्षणसमेत हो ।
उत्तर कोरियाको लामो समयदेखिको सहयोगी राष्ट्र चीनले क्षेप्यास्त्र परीक्षणको विरोध गरेको छ भने रुसले चिन्ता ब्यक्त गर्दै तनाव घटाउन सबै पक्षले वार्ता गर्नु पर्ने जनाएको छ । उत्तर कोरियाले गत बर्ष आफनो पाँचौं परमाणु परीक्षण गरेका थिए ।

ईयु आलोचना
युरोपियन युनियन (ईयू) ले उत्तर कोरियाले आइतबार गरेको क्षेप्यास्त्र परीक्षणको कडा शब्दमा आलोचना गर्दै यस्ता उत्तेजनात्मक गतिविधि अस्वीकार्य भएको प्रतिक्रिया दिएको छ ।

ईयूले लगातार रुपमा उत्तर कोरियाले गरेका हतियार परीक्षणबाट संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्तावको उल्लङ्घन भएको बताएको छ । ईयूको अन्तराष्ट्रिय कूटनीतिक मामिला हेर्ने (ईईएएस) का प्रवक्ताले हतियार परीक्षणको निन्दा गर्दै उत्तर कोरियाले क्षेप्यास्त्र प्रविधिसम्बन्धी सम्पूर्ण कार्यक्रमलाई पूर्णरुपमा त्याग्न र सुरक्षा परिषद्को पारित प्रस्ताव पालना गरि अघि बढ्न आग्रह गरे ।

ईयूका विदेश नीति प्रमुख फेडेरिका मोगेरिनीले अन्तर्रा्ष्ट्रिय समुदायसँग सहकार्य गर्दै आफ्ना गतिविधिबारे अन्तर्रा्ष्ट्रिय प्रतिक्रिया बुझ्न छलफलमा सहभागी बन्न पनि उत्तर कोरियालाई आग्रह गरे ।

उत्तर कोरियाले उत्तरी प्योङ्गयाङ्गको पश्चिमी प्रान्तमा अवस्थित बाङ्गयोन सैनिक हवाइ अखाडाबाट सुदूरपूर्व जापानी समुद्र (सि अफ जापान)तर्फ प्रहार गरी उक्त क्षेप्यास्त्रको परीक्षण गरेको दक्षिण कोरियाली रक्षा मन्त्रालयले जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्