लमजुङलाई लोभ्यायो माझी नाचले



लमजुङ, (नेस)। लमजुङको सुन्दरबजार नगरपालिकामा सञ्चालित सुन्दरबजार महोत्सवमा लोपोन्मुख माझी नृत्य आकर्षणको केन्द्र बनेको छ।

यतिबेला लमजुङमा सातौं सुन्दरबजार महोत्सव चलिरहेको छ। महोत्सवको आकर्षणका रूपमा राष्ट्रिय तथा स्थानीय कलाकारले प्रस्तुति प्रस्तुत गरिहेका छन्। तीमध्ये स्थानीय क्षेत्रमा रहेर लोपोन्मुख अवस्थामा पुगेको माझी नाच निकै आकर्षक रह्यो। त्यो नाच स्थानीय बाल ज्योति माविमा अध्ययन गरिरहेका बालबालिकाले प्रदर्शन गरेका हुन्। दर्शकको अधिक मागका कारण त्यो नृत्यलाई दोहोर्याएर देखाइएको थियो।

कार्यक्रममा बाह्रमासे घाँटुको नृत्यसहितका विभिन्न नृत्य पनि प्रदर्शन गरिएको थियो। यसै गरी राष्ट्रिय कलाकार प्रमोद खरेल, ज्योति मगर, प्रकाश सपुतको प्रस्तुतिलाई पनि दर्शकले मन पराए।

महोत्सवको उद्योगमन्त्री नवीन्द्रराज जोशीले शुभारम्भ गरेका हुन्। महोत्सव आयोजक समितिका संयोजक गालु मियाको अध्यक्षतमा भएको समारोहमा सांसद चन्द्रबहादुर कुँवर, नेपाली कांग्रेसका जिल्ला सभापति भेषबहादुर पौडेल, नेकपा एमालेका जिल्ला उपाध्यक्ष गुमानसिंह अर्याल, माओवादी केन्द्रका जिल्ला सदस्य सुनील सुनार, स्थानीय विकास अधिकारी शेखर पौडेल, सुन्दरबजार नगरपालिकाका कार्यकारी अधिकृत शुकदेव लम्सालसहितले शुभकामना दिएका थिए। १० दिने महोत्सव फागुन ८ गतेसम्म सञ्चालन हुने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस्