बार्सिलोना किंग्सकपको फाइनलमा



लन्डन, (एजेन्सी)
बार्सिलोना स्पेनमा जारी किंग्स कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एथ्लेटिको मेड्रिडलाई समग्रमा ३–२ गोल अन्तरले हराउँदै बार्सिलोना स्पेनिस किङ्स कप फुटबलको फाइनलमा प्रवेश गरेको हो । मंगलबार राती भएको सेमिफाइनल अन्तर्गत दोस्रो लेगको खेलमा बार्सिलोना र एथ्लेटिको मेड्रिडले १–१ गोलको बराबरी खेलेपनि पहिलो लेग २–१ ले जितेका कारण बार्सिलोनाको फाइनल पक्का भएको हो ।

खेलको ४३औं मिनेटमा लुईस स्वारेजको गोलमार्फत बार्सिलोनाले खेलमा सुरुवाती अग्रता लिएको थियो । तर एथ्लेटिकोका गामिएरोले ८३औं मिनेटमा एक गोल फर्काएपछि खेल १–१ गोलको बराबरीमा सकिएको थियो । दोस्रो हाफमा तनावपूर्ण बनेको उक्त खेलमा बार्सिलोनाका दुई तथा एथ्लेटिको मेड्रिडका एक खेलाडी रातो कार्डका सिकार भएका थिए । खेलको ५७औं मिनेटमा सर्जी रोबर्टो दोस्रो पहेँलो कार्डका सिकार भए ।

यता खेलको ६९औं मिनेटमा कारास्कोले दोहोरो पहेँलो कार्ड देखेपछि एथ्लेटिको पनि दस जनामा खुम्चिए । दुवै टोली १० जनामा सिमित भएपनि रातो कार्डको सिकार हुने क्रम भने रोकिएन । खेलमा थपिएको इंज्यूरी समयको दोस्रो मिनेटमा बार्सिलोनाका गोलकर्ता स्वारेज पनि दोस्रो पहेँलो कार्ड बेहोर्दै मैदानबाट बाहिरिए । बार्सिलोनाले अब फाइनलमा उपाधिको लागि आलाभेज वा सेल्टा भिगोबीच हुने खेलको विजेतासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्