चीनमा विदेशीलाई ग्रिनकार्ड वितरण



बेइजिङ, (एजेन्सी)
चीनले सन् २०१६ मा १ हजार ६ सय विदेशीलाई स्थायी बसोबासका लागि अनुमतिपत्र ‘ग्रिनकार्ड’ वितरण गरेको चिनियाँ जन सुरक्षा मन्त्रालयले जनाएको छ।

चीनले सन् २०१५ को सेप्टेम्बरदेखि आप्रवासीसम्बन्धी नीतिमा परिवर्तन गर्दै स्थायी बसोबासका लागि अनुमति दिने प्रक्रियालाई सहज पारेको थियो। सन् २०१६ मा विदेशी नागरिकलाई प्रदान गरिएको स्थायी बसोबासको अनुमति १ सय ६३ प्रतिशतले वृद्धि भएको मन्त्रालयद्वारा हालै जारी विज्ञप्तिमा जनाइएको छ।

ग्रिनकार्ड लिएका विदेशीले चिनियाँ नागरिकले सरह चीनमा लगानी, घर–जग्गा खरिदलगायतका अधिकार उपभोग गर्न पाउनेछन्। ग्रिनकार्डसम्बन्धी नयाँ कानुन आएलगत्तै उक्त सुविधा लिनका लागि निवेदन दिने विदेशीको संख्यामा ६ गुणाले वृद्धि भएको मन्त्रालयले जनाएको छ।

नयाँ आप्रवासीसम्बन्धी कानुनसँगै बेइजिङमा ग्रिनकार्डका लागि निवेदन दिनेको संख्यामा सन् २०१५ को तुलनामा गत वर्ष ४ सय २६ प्रतिशतले वृद्धि भएको छ। सन् २०१६ मा चीनमा ५ करोड ६५ लाख विदेशी पर्यटक पुगेका थिए। यो सन् २०१५ को तुलनामा ८ दशमलव ९ प्रतिशतले बढी हो।

अहिले चीनका १५ शहरले केही मुलुकलाई ७२ घन्टाको ‘भिसा फ्रि’ प्रवेशका लागि अनुमति दिइरहेको छ। सांघाई, जियांसु र झेजियाङले भने केही मुलकका यात्रुलाई ट्रान्जिटका रूपमा १ सय ४४ घन्टा भिसा फ्रि बस्न पाउने व्यवस्था गरेको छ।

प्रतिक्रिया दिनुहोस्